रेडक्रसमा १६ शय्याको आइसोलेशन

|

डडेल्धुरा : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि स्वास्थ्य सामग्री पठाएका छन्। 

देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन्।

देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेड लकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई सेट ८५ थान र केही आवश्यक औषधिहरू छन्।

आवश्यकताअनुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्नेछ। उक्त सामग्री डडेल्धुरा अस्पताल र जोगबुढा अस्पताललाई दिइने जनाइएको छ। 

पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्रीहरु पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले जानकारी दिए। गत वर्ष लकडाउनमा खाद्यान्न पठाएका देउवाले यसवर्ष स्वास्थ्य सामग्री पठाएको उनले बताए।

संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले बताए।

रेडक्रसमा १६ शय्याको आइसोलेसन

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा आइसोलेसन तयार पारिएको छ। १६ वटा शय्या राखी आइसोलेसन बनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

यस्तै, कांग्रेस पार्टी कार्यालय किसुनजी भवन, रेडक्रस भवनमा आइसोलेसन बनाई सञ्चालनमा ल्याइएको छ। किसुनजी भवनमा १३ शय्याको आइसोलेसन निर्माण गरिएको छ। 

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा भवनमा दुई–तीन दिन भित्रै १० शय्याको आइसोलेसन सञ्चालनमा आउने तयारी तीव्र रूपमा भइरहेको महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.