गण्डकी प्रदेशमै सबैभन्दा बढी संक्रमण

|

म्याग्दी : म्याग्दीमा कोरोना संक्रमण दर निकै उच्च देखिएको छ। चैतको अन्त्यसम्म सामान्य अवस्थामा रहेको कोरोना सङ्क्रमण अवस्था वैशाख लागेपछि भयानक बन्दै गएको छ। 

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार वैशाखमा जिल्लाबाट नमुना संकलन गरी कोरोना परीक्षण गरिएको तथ्यांकअनुसार कोरोना परीक्षण गराएकामध्ये ७० प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ।

वैशाख महिनामा पिसीआर परीक्षणका लागि स्वाब दिएकामध्ये बिहीबार साँझसम्म ३ सय ९६ जनाको रिपोर्ट आएको र त्यसमध्ये २ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। उनका अनुसार, जिल्लामा कुल १ हजार २६२ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी पठाइएकोमा अझै ८ सय ६६ जनाको रिपोर्ट आउन बाँकी छ।

जिल्लामा कुल २९५ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गरिएकोमा ८७ जनामा पोजेटिभ देखिएको छ। वैशाख महिनामा जिल्लामा नमुना संकलन गरिएकामध्ये पिसिआर र एन्टिजेन परीक्षणमार्फत ३ सय ३५ जनामा कोरोना पुष्टि भइसकेको छ।

म्याग्दीमा कोरोना संक्रमण पुष्टि भएर वैशाख महिनामा मात्रै बेनी अस्पतालमा उपचारका लागि आएका र रिफर गरिएका ८ जनाको ज्यान गइसकेको छ भने अहिले जिल्लामा १९४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशमै उच्च

म्याग्दीमा कोरोना सङ्क्रमण भुसको आगोझैं भित्रभित्रै फैलिइरहेको छ। यहाँ कोरोनाको संक्रमण दर गण्डकी प्रदेशमै उच्च देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताए।

‘गण्डकीमा अन्य जिल्लाहरुको तुलनामा म्याग्दीमा संक्रमणदर धेरै देखिएको छ, संक्रमितको संख्या भन्दा पनि संक्रमणको दरले समुदाय स्तरमा यसको संक्रमणको अवस्था गम्भीर रहेको देखाएको छ। ७० प्रतिशत हाराहारीमा पोजेटिभ देखिनु अत्यन्तै जोखिमपूर्ण अवस्था हो’,  लम्सालले भने।

विवाह र धार्मिक पूजाका कारण समुदायस्तरमा फैलियो कोरोना

म्याग्दीमा वैशाख महिनामा परेका विवाह उत्सब र धार्मिक पूजाका कारण  भएको भीडभाडबाट समुदायस्तरमा कोरोना फैलिएको निर्क्योल निकालिएको छ। 

सहरी क्षेत्रसँगै ग्रामीण भेगमा समेत कोरोनाको संक्रमण देखिएपछि बेनी नगरपालिका र ५ वटै गाउँपालिकाले लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्न थालेका छन्।

समुदायस्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ। ‘कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ-ठाउँमा कोरोनाका लक्षण भएका बिरामी देखिन थालेका छन्, थप फैलन नदिनका लागि संक्रमितहरुको पहिचान गर्न तालिका नै बनाएर स्वाब संकलन कार्य अघि बढाएका छौँ, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने।

म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीबार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय गरेको हो।

 जिल्लामा कोरोना संक्रमणको दर बढेको कारण संक्रमणलाई थप फैलन नदिन र नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको समयलाई थप गर्दै कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.