हामी दुवै पत्रकार। म अनलाइनको रिपोर्टर। उनी त्यहीँको यूट्यूबकी समाचार वाचिका।
म काठमाडौँ उपत्यकाकै एउटा नगरपालिकाको बासिन्दा। उनी अर्को नगरपालिकाकी।
०००
करिब ६ महिनाअघि अन्तरवार्ता लिन फोन गरेको थिएँ मेरो स्थानीय तहका नगर प्रमुखलाई। एक पटक होइन, पटक–पटक गरेँ। उठाएनन्।
म्यासेज गरेँ। ‘रिप्लाई’ गर्न आवश्यक ठानेनन्, मेयर सा’बले।
आफ्नो वडामा आइपरेको समस्याको समाधान खोज्न अस्ति भर्खर पनि फोन गरेँ। ढुङ्गो बोल्ला मान्छे बोल्दैनन्।
उनलाई चिन्नेहरू भन्दा रहेछन्, ‘हाम्रा मेयर यस्तै हुन्। सितिमिति मान्छेलाई कहाँ ‘रेस्पोन्स’ गर्छन् र!’
०००
यू–ट्यूबमा जाने समाचार पढेर मित्र सुस्ताउँदै हुन्छिन्। वाचिका मित्रको मोबाइलमा एक दिन दुई दिन बिराएर अक्सर साँझ साढे ७ बजेको हाराहारीमा फोन आउँछ।
पहिले त वास्ता गर्दैनथेँ। तर उनी बसेकी नगरको प्रमुखको फोन भन्ने थाहा पाएपछि चासो बढ्न थाल्यो। काम गर्दै मित्रको कुरा सुनिरहेको हुन्छु।
उनको जवाफबाट नगरप्रमुखको सोधाइ र बोलाइ अनुमान गर्न सकिन्छ, ‘के गर्दै हुनुहुन्छ?’ ‘आजको समाचार हेरेँ।’ ‘गज्जब छ’ ‘कति राम्री देखिएको!’, ‘गाडी नपाउने भए लिन पो आउनुपर्छ कि?’ ‘केही समस्या भए अप्ठ्यारो नमानी भन्नु है’ इत्यादि।
म मित्र र उनका नगरप्रमुखबीचको वार्तालाप र मेरा मेयर सा’बले गरेको व्यवहारबीचको भेद केलाउन थाल्छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।