|

सुर्खेत : कोरोना महामारीको दोस्रो लहरमा परेका अधिकांश बिरामीलाई अक्सिजन अनिवार्य भइसकेको छ।

कर्णालीमा प्रतिदिन कोरोनाको नयाँ भेरियन्टका संक्रमित भेटिन थालेका छन्। संक्रमित भेटिने मात्रै नभई उनीहरूको अवस्था पनि गम्भीर बन्दै गएको छ। तर अक्सिजनको चरम अभाव हुन थालेको छ। हाल कर्णालीमा धेरैजसो संक्रमितलाई अक्सिजन दिइरहेको अस्पतालहरूले जनाएका छन्।

तर कर्णालीका १० वटै जिल्लामध्ये हाल दुई वटा जिल्लामा मात्र अक्सिजन उत्पादन भइरहेको छ। हालसम्म सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र अक्सिजन उत्पादन हुन्छ। यी जिल्लामा उत्पादन भएको अक्सिजनले अन्य जिल्लामा पनि पठाउनुपर्ने बाध्यता छ। तर अक्सिजन भने जति पुगेको छैन।

अक्सिजन अभावकै कारण अन्य जिल्ला अस्पतालले जटिल संक्रमितलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरेका छन्। तर प्रदेश अस्पतालमा रहेको प्लान्टले पनि बिरामीको चापलाई पुग्ने अक्सिजन उत्पादन गर्न सकेको छैन। हाल अस्पताललाई दैनिक तीन सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ। तर अस्पतालमा एक सय सिलिण्डर मात्र उत्पादन हुन्छ। उत्पादन क्षमता कम हुनु र अधिकांशलाई हाईफ्लो अक्सिजन दिनुपर्ने भएपछि अस्पतालले थप संक्रमितलाई उपचार लिन नसक्ने अवस्थामा पुगेको अस्पतालहरूले जनाएका छन्। 

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार हालसम्म कोरोनाका बिरामी जति अस्पताल भर्ना भएका छन् सबै संक्रमितलाई अक्सिजन दिनैपर्ने अवस्था छ। तर उक्त मागअनुसार अक्सिजन पुर्‍याउन गाह्रो भइसकेको बताए।

निर्देशक डाक्टर खड्काले भने, ‘अक्सिजन अभावकै कारण थप संक्रमितलाई भर्ना लिन नसक्ने अवस्था छ।’ जटिल प्रकृतिका कोरोना संक्रमितका लागि अक्सिजन अत्यावश्यक मानिन्छ। संक्रमित बढ्दै जाँदा कर्णालीमा अक्सिजनको चरम अभाव हुन थालेको छ।’

त्यस्तै कर्णालीका अन्य जिल्लामा अक्सिजन प्लान्टका लागि मेसिन पुगेको भएता पनि दक्ष जनशक्ति अभावले जडान भएका छैनन्। दैलेख र जाजरकोटमा हालसम्म अक्सिजन उत्पादन गर्ने मेसिनसमेत पुग्न सकेका छैनन्।  हालसम्म कर्णालीमा सक्रिय संक्रमित संख्या चार हजार नौ सय ३५ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.