|

दैलेख : कर्णाली प्रदेशमा नयाँ नियुक्त भएका नेकपा माओवादी केन्द्रका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन्।

मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नै नखाएर शुक्रबार बर्खास्तमा परेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै प्रदेश प्रमुखले शुक्रबार तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री नियुक्त गर्दै बुधबार नै सपथग्रहण गराउन खोजेका थिए। मन्त्री पदमा सांसद एवं नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलियो।

मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने निर्णय गरे। उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए। मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फुटाए। त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानुन मन्त्रालय बनाउने निर्णय गरे।

ती दुवै निर्णय गरेपछि ती सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने थियो। राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै बिहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र ११ बजे तीनै जना मन्त्रीलाई सपथग्रहण गराउने कार्यक्रम तय भए पनि सांसद ठम्मर विष्टलगायतका अन्य सांसदको विरोधका कारण सपथग्रहण हुन सकेन।

आफूलाई जानकारी नै नदिएर मन्त्रालय फुटाएको भन्दै  नेपाली कांग्रेसले पनि बिरोध जनाएपछि सपथग्रहण रोकिएको हो। मन्त्री नियुक्त नभएका सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.