|

वैशाख : यतिबेला देशभर कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ। सरकारले ७७ वटै जिल्लामा निषेधाज्ञा गरेको छ। अत्यावश्यक कामबाहेक कोही कसैलाई घरबाट ननिस्कन निर्देशन दिएको छ।

कोरोनाबाट बच्न अनावश्यक भिडभाड नगर्न तथा एक व्यक्तिबाट अर्कोसँग दूरी कायम गर्न भनेको छ।

तर, शुक्रबार भीमसेन थापा गाउँपालिका-४ धावा स्वास्थ्य चौकीलाई काठमाडाैंबाट आएका एक टोलीले मापदण्ड उल्लंघन गर्दै स्वास्थ्य सामग्री वितरण गरे। 

'सिमपानी न्यूज डटकम' नामक एक समाचार संस्थाका अध्यक्ष विमल भट्ट, कांग्रेस नेता तारा पुडासैनी, नेपाली कांग्रेस धावा-काठमाडाैं सम्पर्क समितिका अध्यक्ष नवराज लामिछाने, शेरबहादुर लामिछाने, दीपेन्द्र तामाङ, यदुकुमार भट्टसहित सात जनाको टोलीले धावा पुगेर स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन्।

सामाग्री हस्तान्तरण गर्ने क्रममा वडाध्यक्ष मदन शाक्य, धावा स्वास्थ्य प्रमुख गुणराज लामिछाने लगायत दुई दर्जनभन्दा बढीको भीडभाड थियो। सामग्री हस्तान्तरण गर्नुअघिसम्म भीडभाड भए पनि केही हदसम्म सामाजिक दूरी कायम गरिएको थियो। तर, सामग्री हस्तान्तरण गरिसकेपछि सबैले स्वास्थ्य मापदण्ड बिर्सिए। ठेलमठाल गर्दे फोटो खिच्न थाले।

वडाअध्यक्ष भन्छन्, ‘सहयोगी दाताहरूले स्वास्थ्य सामाग्री ल्याएर हस्तान्तरण गर्नुभयो। यो अवस्थामा सहयोग भएको सामग्रीलाई सहर्ष स्वीकार गर्‍यौँ। उहाँहरू आठ जनाको टोली आउनुभाथ्यो। हामी यहाँ दुई/चार जना थियौँ, सबै गरेर १०/१२ जना थियौँ। स्वास्थ्य मापदण्ड पालना गर्दागर्दै सहयोगी दाताहरूले फोटो खिचौँ, पव्लिसिटी गर्नुपर्छ भन्नुभयो। जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सहयोगीको मन राख्न भए पनि भो भन्न सकिनँ। कमजोरी भयो, अब यस्तो गर्दैनौँ। कसैले पनि गर्नुहुन्न।’

गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सवारी पास दिएपछि आफूहरू गोरखा आएको नेपाली कांग्रेसका नेता पुडासैनी बताउँछन्।

पुडासैनी भन्छन्, ‘काठमाडाैंबाट आउने हाम्रो टोली कसैको पनि कोरोना परीक्षण भने भएको छैन। हामी कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन। संक्रमणको जोखिम हुने भए गाउँपालिकाले किन सिफारिस दियो ? पालिकाकै सिफारिसपछि आएको सवारी पास लिएर हामी त्यहाँ गएका हौँ।’

फोटो खिच्ने क्रममा आफूहरूलाई वडाध्यक्ष र स्वास्थ्य कार्यालयका प्रमुखले स्वास्थ्य मापदण्ड पालना गर्ने विषयमा केही नभनेको उनी बताउँछन्। ‘स्वास्थ्य मापदण्डको विषयमा हामीलाई भन्दा बढी स्वास्थ्य कार्यालयका प्रमुखलाई थाहा थियो होला नि ? हाम्लाई केही भनेनन्। फोटो खिच्दा वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखहरू पनि सँगै थिए, उनीहरूको कोरोना परीक्षण भएको छ र? हामीबाट संक्रमणको जोखिम कसरी बढ्यो ? हामीले स्वास्थ्य मापदण्ड पालना गरेकै थियौँ, फोटो खिच्ने बेला झुक्किएछौँ।’

यस वडामा हालसम्म २६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ६५ जनाको स्वाब संकलन भएको छ, पिसिआर रिपोर्ट आउन बाँकी नै छ। संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर भएको वडाध्यक्ष शाक्य नै बताउँछन्। 

संक्रमणको हिसाबले उच्च जोखिम रहेको ठाउँमा सहयोग गर्दा पब्लिसिटीका लागि स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने घटना बढ्दो छ। यस समयमा स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेहरूलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने अधिकार प्रशासनसँग छ।

जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख सिडिओ शालिग्राम शर्मा पौडेल भन्छन्, ‘स्वास्थ्य सामग्री हस्तान्तरण गर्दा त्यसले झनै संक्रमण जोखिम नबढाओस् भनेर सीमित मानिस, स्वास्थ्य मापदण्ड पालना गरेर गर्न हामीले अनुरोध गरिरहेका छौँ। सवारी पास दिँदा हामीले कामको प्रकृति हेरी अत्यावश्यक कामका लागि तीन जनाभन्दा बढीलाई अनुमति दिँदैनौँ। हामी हरेक ठाउँमा पुग्न सक्दैनौँ, त्यसैले त्यहाँ स्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने स्वयं व्यक्ति र स्थानीय सरकारहरूको जिम्मेवारी हो। तर, उहाँहरूले त्यसलाई वास्ता नगर्ने/नगराउने गर्नुभयो भने हामी कारवाही पनि गर्न तयार  हुन्छौँ।’

कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सम्पूर्ण नागरिकहरू जिम्मेवार भएर लाग्नुपर्ने उनी बताउँछन्।

‘यो समयमा आम नागरिकको रक्षाका लागि प्रशासन निरन्तर फ्रन्टलाइनमा खटिरहेका छौँ, खटिरहन्छौँ। हामीले समय सान्दर्भिक विविध निर्णयहरू गरिरहेका छौँ, त्यसको कार्यान्वयन गरिरहेका छौँ। तर, हामीले मात्रै चाहेर हुुँदैन, नागरिक स्वयं जिम्मेवार हुनुपर्छ। उहाँहरूले ख्याल राखेर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, सचेत हुनुपर्छ। एक जनाले स्वास्थ्य मापदण्डको वास्ता नगर्दा ऊ मात्रै हैन, उसको परिवार, समाज र देश नै संक्रमणको उच्च जोखिममा हुन्छ। हामी यो अवस्थामा लापरवाही  गर्नेलाई कारवाही गर्न पनि पछाडि हट्दैनौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.