|

काठमाडौं : उपत्यकाको चन्द्रागिरि नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ।

आज जेठ १ गतेदेखि लागू हुने गरी ७ गते सम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सर्वसधारणलाई हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल  तथा तरकारी पसल, निर्माण व्यवसायीलगायतका पसलहरु, नगरपालिका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थहरु निजी सम्पूर्ण कार्यालयका सेवा पूर्णरूपमा बन्द गरी नगरपालिकालाई नै सिल गरेको हो।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ।

त्यसैगरी, पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहोरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ। अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ। नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनुपर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ। एम्बुलेन्स, अत्यावश्यक सवारीसाधन मात्रै सञ्चालन भएका छन्। सर्वसाधरण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ। राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिँड्ने सर्वसाधरणहरु देखिएका छैनन्।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने वैशाख २८ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशबमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ।

नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ। सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.