|

संखुवासभा : संखुवासभाको निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ।शुरूङभित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदुरले आयोजना स्थलका निमार्ण सामग्रीमा तोडफोड गरेका हुन्।

गत बुधबार बिहान साँढे ८ बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भए।

अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सुचारु गर्न सतलज कम्पनी र सरोकारवाला निकाय संग छलफल भइरहेको र चाँडै आयोजनाको काम थालिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए।

विद्युत् गृहस्थल निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदारहरू दिनभर आन्दोलित भएका थिए।

शव व्यवस्थापनको लागि चन्दा संकलन गर्ने भनेपछि कामदारहरूले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए। कामदारहरू आक्रोशित भएपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि ५० लाख रुपैयाँ बिमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाई राम स्वरुप रानाले जानकारी दिए।

उनले भने वीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ गर्‍यो। अन्त्यमा आयोजनाले ३० लाख रुपैयाँ दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइले बताए। 

सुरक्षा ग्यारेन्टी नभएसम्म काम नथाल्ने अडान

चिचिला गाउँपालिकामा निर्माणाधीन अरुण–३ जलविधुत आयोजनाको विद्युतगृहमा गत बुधबार विहान कामदारको मृत्यू पछि विद्युतगृह स्थलमा काम शुरू हुन सकेको छैन।

मृतक परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदुरले काम अवरुद्ध गरी स्थानीय कार्यालय,सवारी साधन र निमार्ण सामग्रीमा तोडफोड गरेका थिए।

काम गर्ने सहज वातावरण नभएकाले शुरू गर्न नसक्ने सतलज जलविद्युत निगम (एसजेभीएन) का सिइओ अरुण धिमानले बताए। नेपाल सरकारले सुरक्षाको प्रत्याभुति गराएमात्र आयोजनाको काम शुरू गर्न सक्ने उनको भनाइ छ।

जुनसुकै घटनामा क्षतिपूर्तिका नामा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोध गर्ने गरेकाले काम गर्न असहज भएको उनले बताए। उनले भने, 'परियोजना विकास सम्झौता (पीडीए) मा उल्लेख भए भन्दा बाहिरको काम गर्न हामी सक्दैनौँ।'

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्। कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरी निर्माण भइरहेको आयोजनाबाट सन्‌ २०२२ मा विद्युत उत्पादन शुरू गर्ने लक्ष राखिएको छ।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माण भारतीय सतलज जलविद्युत निगम (एसजेभीएन) ले गरिरहेको छ। मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्युतगृह निर्माण भइरहेको छ।

विद्युत गृहस्थल पुखुवामा भारतीय पटेल इञ्‍जिनियरिङ कम्पनीले काम गरिरहेको छ। यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीहरूले काम गरिरहेको आयोजनाले जनाएको छ।       

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.