|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको छ। अस्पताल हातामा निर्माण गरिएको एअर बेस प्लान्टबाट शुक्रबार साँझदेखि अक्सिजन उत्पादन सुरु भएको हो। 

करिब ६५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट प्रतिघण्टा आठ हजार लिटर अक्सिजन उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए। प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ। यहाँबाट उत्पादन भएको अक्सिजनले हाल अस्पतालको कोभिड वार्डको आइसियु, हाइकेयर युनिट र भेन्टिलेटरमा रहेका २४ जना बिरामीलाई पुग्ने नगरप्रमुख श्रेष्ठले बताए।

अस्पतालले हाल ४२ वटा शय्यामा कोभिडका बिरामीको उपचार गरिरहेको छ। अस्पतालबाट उत्पादित अक्सिजन आकस्मिक कक्ष र जनरल वार्डका बिरामीलाई अपुग हुने र त्यहाँका लागि दैनिक ३० सिलिण्डर अक्सिजन खरिद गरे पुग्ने उनले बताए। विगतमा अस्पतालले दैनिक ९० वटा सिलिण्डरसम्म अक्सिजन खपत गर्दथ्यो। अक्सिजनको अभावले उपचाररत बिरामीको मृत्यु समेत हुन सक्ने अवस्था आएपछि अक्सिजनका लागि सिसिएमसि र स्वास्थ्य मन्त्रालयसम्म धाउनु परेको नगरप्रमुख श्रेष्ठले बताए।

प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियु, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का बिरामीलाई पाइपलाइन प्रणालीबाटै दिन थालिएको छ। उनले हावाबाट अक्सिजन उत्पादन गर्ने एअर बेस प्लान्ट नेपालमै पहिलो पटक जडान गरिएको दावी समेत गरे। हाल चीन र अष्ट्रेलियामा मात्रै सञ्चालनमा रहेको यो प्रविधि चीनबाट दुई महिना लगाएर ल्याउन सफल भएको उनले बताए।

प्लान्ट करिब दुई साताको समयमा तयार भएको उनले जानकारी दिए। ‘प्लान्टको लागि १० दिन लगाएर टहरा निर्माण ग¥यौं। त्यसपछि १५ जना प्राविधिक जनशक्ति चारदिनसम्म रात दिन खटाएर यो प्लान्ट तयार ग¥यौं,’ उनले भने। यसको लागि नेपाल विद्युत प्राधिकरण थिमि शाखाका प्रमुख र प्राविधिकहरुको समेत सहयोग रहेको उनले बताए। 

यसैगरी अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पदान गर्न थालेपछि कोरोना संक्रमितको उपचारका लागि थप शय्या बिस्तार गर्ने भएको छ। अक्सिजनको अभावकै कारण शैया थपेर नयाँ कोरोना संक्रमित बिरामी लिन नसक्ने अवस्थाको अन्त्य भएको भन्दै अस्पतालले केही दिनमा थप २० शय्याको सेवा बिस्तार गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए। अस्पतालको पुरानो क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइँतलामा थप २० शय्या सञ्चालनमा ल्याउन लागेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.