कार्यदलको सहमति नेकपाकै जस्ताे हुने आशंका

|

काठमाडौं : आन्तरिक विवादले विभाजनको डिलमा पुगेको नेकपा एमालेभित्र हाललाई अस्थायी युद्धविराम भएको छ। 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिपछि एमालेभित्र चर्किएको विवाद साम्य भएको हो। 
ओली र नेपालबीच विवाद समाधान गर्न कार्यदल बनाउने सहमति बनेको छ।

सोही सहमति अनुसार शुक्रबार साँझ पनि ओली र नेपालसहित दोस्रो तहका नेताहरुबीचको छलफलपछि पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउने सहमति बनेको बैठकमा सहभागी नेता भीम रावलले बताए। 

‘हामीले राख्दै आएको मागअनुसार पार्टी अगाडि बढाउनेबारे सहमति भएको छ। त्यसको लागि कार्यदल बनाएर छलफल हुन्छ’ उनले भने, ‘कार्यदलबारे उहाँहरु (ओली र नेपाल)लाई जिम्मेवारी दिएका छौँ।’कार्यदल बनेपछि विवाद समाधान हुनेमा आफूहरु विश्वस्त भएको बताउँछन्। 

अस्थायी युद्धविराम ! 

सर्वोच्च अदालतले पार्टीलाई साविकको अवस्थामा फर्काएपछि ओलीले एकलौटी रुपमा पार्टीभित्र निर्णय गर्न भ्याए। माधव समूहलाई जानकारी नै नगराइ बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएर एकपछि अर्को निर्णय गरिरहे। 

तर, पार्टी पुरानै अवस्थामा फर्काएपछि आफ्नो पक्षलाई बाइपास गर्दै ओलीले गरेको निर्णय नेपाल खेमाले स्वीकार गरेन। 

ओलीले पार्टी फुटाउन खोजेको भन्दै नेता नेपाल समूहले तल्लो तहसम्म फरक पार्टीको अभ्यास गर्दै समानान्तर कमिटी गठन गर्दै गयो। नेपाल समूहको विद्रोहका कारणले आफ्नो सत्ता नै संकटमा पर्ने देखिएपछि ओली बाध्य भएर वार्तामा बस्न तयार भए। आफ्नो निर्णयबाट टसमस हुन तयार नभएका ओली आफ्नो सत्ता जोगाउन आफ्नो अडानबाट फर्किन चाहे। 

ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ भने ओली सधैं पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमै रहेको बताउँछन्। 

‘उहाँ सधै पार्टीभित्र सहमति गरेर एकताबद्ध गरेर जाने पक्षमा हुनुहुन्थ्यो। तर, उहाँहरु वार्ता बस्ने नचाहेको कारणले समस्या भएको थियो’ उनले भने, ‘अहिले दुवै पक्षबाट सहमतिका लागि वार्ता बसिरहेको अवस्था छ। उहाँ (ओली)ले चाहेजस्तो अब एकताबद्ध पार्टी बन्छ।’   

साविक नेकपा झैं बन्ने आशंका 

साविक नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद समाधानका लागि पनि कार्यदल निर्माण गरिएको थियो। प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहबीचको विवाद उत्कर्षमा पुगेपछि गत भदौ ८ गते ९ सदस्यीय कार्यदल निर्माण गरेको थियो। 

विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले दुई साता लगाएर सहमतिको खाकासहितको प्रतिवेदन भदौ १९ गते अध्यक्षद्वयलाई बुझायो। कार्यदलको प्रस्तावअनुसार भदौ २६ को स्थायी कमिटीले एकखालको सहमति गराएर पार्टीको विवादलाई अहिलेको एमालेझैँ विवाद साम्य त बनायो। तर, त्यो सहमति तोड्न ओली अग्रसर भइरहे। 

त्यस बेलादेखि ओलीको व्यवहारबाट हच्किएको माधव समूह अहिले पनि ओलीबाट सहमति पालना हुनेमा शंका गर्छ। ‘उहाँले यसअघिको सहमति कार्यान्वयन नगरेकै कारणले पार्टीभित्रको विवाद बल्झिएको थियो। अहिले पनि हामीलाई त्यस्तै आशंका छ’ माधव समूहका एक नेताले भने, ‘तर, हामीले त्यस्तो नहोस् भन्ने अपेक्षा गरेका छौँ। अब सहमति कार्यान्वयन नगरेर सँगै अगाडि बढ्न सकिँदैन।’

त्यसअघि पनि विवादास्पद अमेरिकी परियोजना एमसीसीबारे अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा र पार्टी एकता टुंगोमा पुर्याउनका लागि रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनेको थियो।  तर, पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलबाट पार लाग्न सकेको देखिँदैन। 

दोस्रो तहका नेताहरुको दबाव 

फरक पार्टीको अभ्यास गरिरहेका नेता नेपाल समूह सत्ताबाट ओलीको बहिर्गमनको लागि सांसद् पदबाट राजीनामा दिन तयार थिए। तर, दुवै पक्षका नेताहरु पार्टी एकता जोगाउनका लागि सक्रिय भए। 

राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका सांसद् एकता जोगाउनको लागि शिर्ष नेताहरुलाई दबाव दिइरहे। नेपाल पक्षका नेताहरु ठाकुर गैरेको दबावमा योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत नेताले एकताको पहल गरिरहे। संस्थापन पक्षबाट बिष्णु पौडेल, गोकुल बाँस्कोटा, सुवास नेम्वाङ, शंकर पोखरेल लगायतका नेताको दौडधूप पनि उस्तै रह्यो। 

ओली र नेपालबीचको वार्तापछि नेताहरु कार्यदल बनाएर विवाद समाधान गर्ने बाटो खोजिरहेका छन्। शुक्रबार पनि ओली र नेतासहित संस्थापन पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेल  र नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी थिए। विवाद समाधान कार्यदलको नाम टुंगाउनका लागि ओली र नेपाललाई जिम्मा दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.