|

सुर्खेत : कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले कर्णाली प्रदेश सरकारलाई तत्काल कोभिड–१९ हटलाईन सेवा सुरु गर्न निर्देशन दिएको छ।

शनिबार बसेको बैठकले कोभिड–१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिन मनोविमर्शकर्ताको व्यवस्था गरी निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्न निर्देशन दिएको छ।

समितिका सदस्य पदमा खड्काका अनुसार बैठकले प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको सूचनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश सरकारलाई महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्न समितिले निर्देशन दिएको छ। समितिका अध्यक्ष देवि ओलीले कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नु निर्देशन दिएको जानकारी दिइन्।

‘प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छौं’ उनले भनिन्,‘प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्न भनेका छौ।’

यस्तै बैठकले प्रदेश भित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।

संघ, प्रदेश र स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरु पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैर सरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड–१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ बैठकले अपिल गर्ने निर्णय गरेको समितिका सदस्य सुशिल थापाले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.