लमजुङ : जिल्ला सदरमुकाम वेसीशहरमा रहेको जिल्ला अस्पतालले पाँचमुनिका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।
मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)को सहयोगमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए। अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, आकस्मिक सेवा, ल्याब सेवा, एक्स–रेलगायतका सेवा निःशुल्क गरेको प्रशासन प्रमुख श्रेष्ठले बताए।
उक्त स्वास्थ्य सेवाका लागि बालवालिकाकाको अभिभावकले जन्मदर्ताको प्रतिलिपि पेस गर्नुपर्नेछ। अस्पतालमा करिव एक सातादेखि यो कार्यक्रम भएको जनाएको छ। उक्त कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुने जनाइएको छ।
यस्तै, लमजुङमा क्रियाशील पत्रकारहरूका लागि बहिरङ्ग सेवामा ५० प्रतिशत छुट दिँदै आएको छ। गरिब, विपन्न व्यक्तिका साथै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई पनि अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रशासन प्रमुख श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।