|

गोरखा : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार अपराह्न ४:५ बजे एक विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा भनिएको छ, ‘अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३५५ पुगेको छ। गण्डकी प्रदेशमा थप मृत्यु भएका १४ जना मृतकहरुको विवरण तपसिल बमोजिम रहेको छ।’

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा कास्कीका ६, पर्वतका ३, स्याङ्जाका २, म्याग्दी, तनहुँ र गोरखाका १/१ जना संक्रमितको मृत्यु भएको जनाइएको छ। विज्ञप्तीको ८ नम्बरमा लेखिएको छ, ‘गोरखा जिल्ला सहिद लखन गाउँपालिका-४ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको २०७८/०१/३१ गते गोरखा अस्पताल गोरखामा उपचारको क्रममा दुःखद् निधन भएको छ। उहाँमा मिति २०७८/०१/३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।’

तर, जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालका अनुसार हालसम्म अस्पतालमा कुनै संक्रमितको उपचारका क्रममा मृत्यु भएको छैन। ‘निर्देशनालयबाट गलत रिपोर्ट सार्वजनिक भएको रहेछ। तर, कोरोनाको दोस्रो लहर आएपछि गोरखा अस्पतालमा एकजना संक्रमितको पनि पनि मृत्यु भएको छैन‚’ उनले भने, ‘तर, निर्देशनालयले मृत्यु भएको भनेर प्रेस रिलिज गरिसकेछ। गलत रिपोर्ट सार्वजनिक गरेपछि त मानिसहरु तर्सिन्छन् नि। मैले निर्देशनालयमा यो कुरा जानकारी गराएको छु।’

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले कोरोनाबाट मृत्यु हुनेहरूको तथ्यांक निर्देशनालयमा जानकारी गराएपछि मात्रै प्रदेशले विज्ञप्ति जारी गर्नुपर्छ। ‘हामीले जिल्लामा संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक निर्देशनालयमा जानकारी गराउँछौँ। हामीले दिएको जानकारीअनुसार नै प्रदेशले विज्ञप्ति जारी गर्छ’ उनी भन्छन्, ‘मैले गोरखा अस्पतालमा संक्रमितको मृत्यु भएको भन्ने तथ्यांक निर्देशनालयमा जानकारी गराएको छैन। यस विषयमा मलाई केही पनि थाहा छैन।’

यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्मा आफूहरुलाई जानकारीअनुसार नै प्रेस विज्ञप्ति जारी गरिएको बताउँछन्। उनले भने‚ ‘हामीलाई जानकारी भएको रिपोर्ट मैले डिटेल्स हेरेँ। उहाँ आइसोलेसनमा बस्नुभएको, ३१ गते त्यहाँबाट गोरखा जिल्ला हस्पिटल ल्याएको, अस्पतालमा अक्सिजनको समस्या के भएपछि काठमाडौं रिफर गरिएको र काठमाडौं लैजाँदै गर्दा एम्बुलेन्समा नै बाटोमै मृत्यु भएको भन्ने छ।’

उनले निर्देशनालयले अस्पताल नेपाल प्रहरी नेपाली सेना र स्वास्थ्य कार्यालयबाट सूचना लिने गरेको बताए। गोरखाको सूचना प्रहरीबाट लिएको संयोजक शर्माले बताए।

तर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले भने आफूहरुले स्वास्थ्य निर्देशनालयमा रिपोर्टिङ नगर्ने बताए। उनी भन्छन्, ‘हामीले स्वास्थ्य निर्देशनालयमा रिपोर्टिङ गर्दैनौँ। हामीले हाम्रो तालुक कार्यालयमा मात्रै रिपोर्टिङ गर्ने गर्छौं।’

सच्चाइएको सूचना पनि गलत

तथ्यांक गलत भएको बताएपछि निर्देशनालयले सच्याएको छ। तर‚ त्यो पनि गलत नै रहेको छ। निर्देशनालयले फेसबुक पेजमा लेखेको छ, ‘क्रम संख्या नं ८ का ब्यक्तिको मृत्यु जिल्ला अस्पताल, गोरखामा नभई होम आइसोलेसनबाट काठमाडौं जाँदै गर्दा एम्बुलेन्समा नै मृत्यु भएको ब्यहोरा अनुरोध छ ।’

निर्देशनालयले यसो भने पनि मृतकको पारिवारिक स्रोतका अनुसार गत वैशाख २८ गते परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वाब दिएका उनको स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २९ मा उपचारका लागि काठमाडौं लगिएको थियो। उनको शुक्रबार दिउँसो उपचारको क्रममा काठमाडौंको टेकु अस्पतालमा मृत्यु भएको हो। तर‚ मृत्यु भएको ३० घण्टासम्म तथ्यांक अध्यावधी गरिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.