|
फाइल तस्बिर

काठमाडौं : काेभिड-१९ का कारण स्थगित भएको कक्षा-१२ र  माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको विकल्पबारे छलफल सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठ प्रसाद अर्यालको अध्यक्षमा गठन भएको कार्यदलले सरोकारवालासँग परीक्षाको विषयमा छलफल थालेको हो।

परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षा कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा गठित कार्यदलले छलफल थालेको जानकारी दिए।

उनले भने, ‘कार्यदलले रोकिएको परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल थालेको छ, हेरौं छलफल र अध्ययनबाट अब कस्तो विकल्प आउँछ।’

उनका अनुसार अहिले कार्यदलले विभिन्न देशमा विपदको अवस्थाको परीक्षा तथा मूल्यांकनका लागि अपनाएका विधिबारे अध्ययन गरिरहेको छ। शिक्षक, अभिभावक, शिक्षाविदलगायत सरोकारवाला पक्षसँगको राय सुझाव पनि संकलनको गरिएको छ। 

परीक्षा बोर्डले कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएपछि गत सोमबार एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। 

‘१५ दिन भित्र प्रतिवेदन बोर्डमा पेस हुन्छ, त्यसपछि निर्णय हुन्छ’ 

परीक्षा नियन्त्रक कार्यालय (कक्षा-१० का) परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार १५ दिन भित्रमा छलफलबाट निस्किएका परीक्षाका मोडलबारे प्रतिवेदन बोर्डमा पेस हुने छ।

‘परीक्षा स्थगित भएलगत्तै १५ दिनभित्रमा ‘कार्यदलले परीक्षा मोडल तयार गरेर बोर्डमा बुझाउनुपर्ने निर्णय भएको थियाे, त्यहीअनुसार प्रतिवेदन बोर्डमा पेस हुन्छ, त्यसपछि परीक्षाबारे निर्णय हुन्छ,’अधिकारीले भने। 

कोरोनाका कारण २०७६ को एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भएको थियो। यसका लागि सरकारले सम्बन्धित विद्यालयलाई जिम्मा दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.