|

पर्वत : जिल्लाभर निषेधाज्ञा कायम रहँदासमेत वित्तीय संस्थाहरूले पालोअनुसार गरे पनि कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै पर्वतका सम्पूर्ण वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द हुने भएका छन्।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको बैठकबाट जेठ तीन गतेबाट निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेर प्रशासनले थप कडाइ गरेको हो।

केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार वित्तीय संस्थाहरूलाई आलोपालो प्रणालीमा सेवा प्रभाव गर्न दिइएको भए पनि त्यही बेलामा सर्वधारणहरुको भिडभाड बढी हुँदा सङ्क्रमणको जोखिम उच्च रहेकाले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको हो। 

सम्पूर्ण व्यावसायिक प्रतिष्ठा तथा पसलहरू बन्द रहेको बेलामा पालोअनुसार वित्तीय संस्थाहरू सञ्चालनमा आउँदा पनि ग्रामीण क्षेत्रबाट बजारमा आउजाउ गर्ने क्रम रोकिएको थिएन। पालो अनुसार बैङ्कहरू खुल्दा पालो परेको दिनमा झनै भिडभाड हुने गरेका कारण की त दैनिक रूपमा घण्टा छुट्टाएर वित्तीय संस्थाहरू सञ्चालनमा ल्याउनुपर्ने कि त पूर्ण रूपमा बन्द गरिनुपर्ने सुझाव सर्वसाधारणबाट उठेको थियो।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यान्न तथा फलफूलका पसलहरू पनि दिनको तीन घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ। दैनिक रूपमा बिहान सात बजेदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरू खुल्न पउनेछन्।

निषेधाज्ञाको अवधिमा विभिन्न ठाउँमा भौतिक संरचना निर्माणार्थ कामदार तथा सम्बन्धित पक्षका प्रतिनिधिको उपस्थितिले भिडभाड भएका कारण व्यक्तिगत रूपमा भइरहेका निर्माणका कामलाई पनि बन्द गर्ने निर्णय गरेको छ। यो निर्णयअनुसार निजी घरहरू निर्माण गरिरहेका घरधनीहरूले घर निर्माण कार्य बन्द गर्नुपर्नेछ। तर राष्ट्रिय गौरवका आयोजना तथा सङ्घ र प्रदेशबाट सञ्चालित आयोजनाहरूमा भने स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पर्वत सदरमुकाम समेत रहेको कुस्मा नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा वैशाख १८ गते रातीदेखि निषेधाज्ञा लागू गरिएको थियो। तर सङ्क्रमणको अवस्था बढ्दै गएपछि वैशाख २८ गते राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर नै निषेधाज्ञा लागू गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.