|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।

थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।

शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल  शर्मालाई मन्त्री नियुक्त गरेका हुन्।

नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

नेपाली र शर्मा असअघि सपथ खान नपाउँदै पदमुक्त भएका थिए। मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान बिष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीता नेपालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए।

भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्य्राएर बनेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा नेपालीलाई नियुक्त गरिएको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुनमा र सहरी विकासलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको असन्तुष्टिका कारण शपथग्रहण रोकिएको थियो। कांग्रेसले सरकारमा सहभागी हुनका लागि दुईवटा मन्त्रालय मागेको थियो। तर, शाहीले बुधबार एउटा मन्त्रालय थपे पनि त्यसमा माओवादी केन्द्रकै सांसदलाई मन्त्री बनाउने निर्णय गरे।

मुख्यमन्त्री शाहीले वैशाख ३ गते संसद्बबाट विश्वासको मत लिएपछि पहिलोपटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए। उति बेला संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका एमालेका अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको थियो।

अहिले पनि मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालय र जलस्रोत उर्जा मन्त्रालय आफैले राखेका छन्। कांग्रेसको असन्तुष्टिका बीच मन्त्री नियुक्त गरिएपछि अहिले पनि सपथग्रहण हुनेमा आशंका गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.