|

भक्तपुर : काठमाडौं महानगरपालिकाले थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीनवटा भेन्टिलेटर सहयोग गरेको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आइतबार अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। 

योसँगै नगरपालिका अस्पतालमा भेन्टिलेटरको संख्या १० पुगेको छ। यसअघि सातवटा भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार गरिरहेको नगरपालिका अस्पतालले अब थप तीन संक्रमितलाई भेन्टिलेटर सेवा दिन सकिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले बताए। उनले महानगरको सहयोग महत्वपूर्ण रहेको बताउँदैं महानगरको सहयोगले कोरोना संक्रमितको उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएसँगै कोभिड १९ का गम्भीर बिरामीको संख्या पनि बढेको र अस्पतालहरुमा भेन्टिलेटर अपुग भएर संक्रमितले उपचार पाउन नसक्ने अवस्था आएपछि नगरप्रमुख श्रेष्ठको पहलमा काठमाडौं महानगरले उक्त भेन्टिलेटर सहयोग गरेको हो। ‘अस्पताललाई केही समय अगाडि रोटरी क्लवबाट सहयोग स्वरुप प्राप्त दुईवटा पोर्टेबल भेन्टिलेर पनि प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘बिरामीलाई अक्सिजनको लेभल १० भन्दा कम हुनासाथ भेन्टिलेटरमा हाल्छौं।’

उपत्यकामा बढ्दो कोरोना संक्रमितको संख्यालाई मध्यनजर गर्दै अस्पतालका संक्रमितको उपचारमा सहज होस् भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरिएको काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

‘नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत हिजोका दिनमा सम्पदा र पर्यावरण जोगाउन साझेदारी गर्दै आएकोमा अहिलेको विपतमा यो अदृश्य शक्तिसँग लड्न पनि साझेदारी गर्नुपर्छ भनेर यो सहयोग गरेका हौं,’ उनले भने। अहिलेको अवस्थामा नयाँ सेवा बिस्तारभन्दा पनि भएका संरचनाको पूर्वाधार विकास गर्नुपर्ने र जसले राम्रो सेवा गरिरहेको छ त्यहाँको स्तरबृद्धिमा सहयोग गर्न पाए भएका दक्ष जनशक्तिले थप स्तरिय सेवा दिन सक्छ भन्ने अपेक्षा गरेर यो सहयोग गरेका महानगर प्रमुख शाक्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.