'ठूला शक्तिको हात भएकाले गुपचुप राखियो’

|

काठमाडौं : वि.सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप चितवनको दासढुङ्गामा दुर्घटना भयो। तर, मदन–आश्रितको रहस्यमय ढंगले हत्या भएको विभिन्न आयोगहरूले निष्कर्ष निकाल्यो। तर, मदन–आश्रितको २८ औँ स्मृति दिवस मनाउँदै गर्दासमेत घटनाबारे थप छानविन हुन सकेको छैन। 

एमाले पटक पटक सत्तामा पुग्दासमेत मदन-आश्रित हत्याकाण्डबारे छानविन गर्न नचाहेको आरोप लाग्दै आइरहेको छ। यो घटनालाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरेको आरोप लागिरहँदा छानबिन आयोगका अध्यक्ष अर्थात् उनै केपी शर्मा ओली यतिखेर नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत छन्।

मदन भण्डारीकी श्रीमती सोही पार्टीबाट राष्ट्रपति भएकी छन्। तर, यो घटनाबारे छानबिनको लागि पहल भएको छैन। मदन-आश्रितसँग दुर्घटना भएकै दिन सोही जीपमा सँगै गएका अर्को व्यक्ति हुन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल। सोही घटनाबारे उनै कट्टेलसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी: 

मदन-आश्रित स्मृती दिवसलाई कसरी स्मरण गर्नुहुन्छ? 

उहाँहरु (मदन–आश्रित) मेरो सँगै काम गरेका साथीहरु हुनुहुन्थ्यो। पोखराबाट आधा बाटोसम्म सँगै आएका थियौँ। म ओर्लिएपछि बिचमा गएर रहस्यमय ढंगले दुर्घटनापछि मृत्यु भयो। स्मरण त भइ नै रहन्छ। उहाँहरूसँगै आइयो। यात्रामा रहँदा कुराकानी भए। एउटै नेतृत्वमा रहेर काम गरियो। मैले दुःखद घटनाको रुपमा  उहाँहरुलाई सधै सम्झिरहन्छु। 

तपाईं उहाँहरूसँग छुटेलगत्तै गाडी दुर्घटना भयो, उहाँहरूसँग कसरी छुट्टिनुभएको थियो? कस्ता कुराकानी भएका थिए?

हामी पोखराबाट हिँडेका हौँ। हाम्रो गन्तव्य बेग्लाबेग्लै थियो। म गोरखा जानुपर्ने थियो। त्यसलगत्तै तनहुँ पुगेर पोखरा नै फर्किनुपर्ने थियो। किनभने, कास्कीको जिल्ला अधिवेशन भइरहेको थियो। बन्दसत्र सुरु भएपछि उहाँहरूसँगै म पनि त्यहाँबाट निस्केको हो। पार्टीमा वैचारिक कुरा पनि थियो बहुदलीय जनवाद कि नयाँ जनवाद भन्नेमा विवाद भयो। 

बहुदलीय जनवादले जितेको उहाँ त्यसको महासचिव भएकाले आफ्नो संगठन विभागको प्रमुखसँग पुगेर महाधिवेशनको लागि संगठन पुनर्गठन गर्ने योजनामा हिँड्नुभएको थियो। म गोरखाको प्रमुख थिएँ। तर, कास्कीमा रहेर काम गर्दै आइरहेको थिएँ। त्यतिबेला अञ्चलस्तरका कमिटी हुन्थ्यो। त्यही क्रममा कास्कीमा उहाँहरुसँग भेट भयो। म तनहुँ पुग्नुपर्ने फेरि बेलुका पोखरा गएर केही दिनमा काठमाडौँ आउने तयारी थियो। उहाँहरुको चाहिँ चितवन जाने भोलिपल्ट चितवनको कार्यक्रममा भाग लिएर पूर्वतिर जाने तयारी थियो।  

दुर्घटना भएको २८ बर्ष भइसक्यो अझै छानविन हुन सकेको छैन,यसलाई कसरी लिनुहुन्छ? 

त्यो दुर्घटना हो भन्ने नै मलाई लागेको छैन। मैले दुर्घटना मान्दिनँ पनि। मैले यसलाई हत्या नै मानेको छु। पछि आएर हेर्दा सबै कुराले प्रष्ट हुन्छ। तर, खोजी नहुनुको कारण के होला त भन्दा त्यसभित्र ठुला शक्ति होलान्। जुन शक्तिले दुर्घटना गराए, त्यो ठुलो शक्ति होला। अहिले सत्तासीनहरुले खोजी गर्दा आफू पनि सुरक्षित भइँदैन भन्ने लागेर नै खोजी नभएजस्तो लाग्छ। 

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म एमाले नै छन्, यस्ताे बेला पनि सो घटनामाथि छानविन प्रक्रिया अघि बढाउन चासो नदिनुलाई के भन्ने त ?

पहिले पनि उहाँहरुले नगर्नुभएको बिषय हो। अहिले पनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उहाँकै पार्टीको व्यक्तिहरु पुग्दा समेत हत्याबारे खोजी भएको छैन। केपी ओलीको नेतृत्वमा छानबिन आयोग गठन भएको थियो। तर, ओलीले आफ्नो छानबिनपछिको रिपोर्ट नै गायव बनाए। अहिलेसम्म त्यो रिपोर्ट बाहिर आएको छैन। पार्टीमा पनि त्यो रिपोर्ट बुझाएको भनिएको थियो। तर, त्यो त्यहाँ पनि लुकाइयो। पछि राणा आयोग गठन भयो।  त्यो बेलामा मलाई पनि बयान लिएको थियो। त्योबेलामा पनि मैले हत्या नै भएको बताएको थिएँ। उनीहरुले कसरी हत्या? भनि सोधेको प्रश्नमा मैले विभिन्न कुराहरूको प्रमाणसहित जवाफ दिएको थिएँ। 

हत्या नै भनेर दाबी गर्ने कस्ता प्रमाण?

पहिलो कुरा त गाडी नै पोखरा जाँदै थिएन। गाडी वर्कशपमा थियो। वर्कशपको गाडी छाडेर मदन भण्डारीजी प्लेनबाट पोखरा जाने, गाडी चाहिँ अमर लामाले लिएर सोझै भरतपुर जाने योजना थियो। पहिलो कुरा गाडी किन पोखरा गयो? त्यसमै शंका भयो। पहिला त मैले पनि याद गरिन। तर, पछि मात्रै पो याद गरेँ।

दोस्रो कुरा त्यो दिनमा एउटा कार्यक्रममा जानुभयो। म बिहानै बसमा जान लागेको थिएँ। तर, मदनजीले तनहुँसम्म सँगै जाउँ भन्न थाल्नुभयो। म पनि बसेँ। बसेर उहाँहरु भेटघाट गर्दा गर्दै ढिला भयो। म कार्यक्रमको बन्द सत्रबाट बाहिर निस्किसकेको थिएँ।

गाडी आइहाल्छ गइहाल्ने भनेर बाहिरै बसेँ। करिब एक घण्टा जतिको बिचमा रहस्यमय रुपमा एकजना मान्छे आइरहे। तर, त्यो कुरा मलाई पछि मात्रै लाग्यो। मलाई अनुहार पनि राम्रोसँग याद छ। पछि दुई चार पटक नै पोखरातिर खोज्न गएँ। तर, कतै भेटिएन। त्यहाँ आएर त्यसले कुन बेला हो टाइम कुन बेला हो टाइम भनेर सोधिरहेका थिए। 

तेस्रो कुरा अमर लामा ड्राइभर हँसिलो, फुर्तिलो मान्छे थिए। पहिला त याद गरिएन। गाडी आएपछि पनि फेरि आधि घण्टा जति हरायो। पछि अँध्यारो मुख लगाउँदै आयो। पेट दुखेको छ मात्रै भन्यो। बाटो भरी कसैसँग बोलेन। झण्डा नहाल भनेको पनि मानेन। बेल्ट पनि सबैलाई आफैंले लगाइदियो। उसको पनि विचित्रको स्वभाव थियो। अमर लामाको स्वभाव पनि त्यस्तो हुँदै होइन। पछि पो विचार गरियो! 

चौथो कुरा दुर्घटनास्थल। गाडी जहाँ पनि दुर्घटना हुनसक्छ नहुने भन्ने होइन। तर, त्यस्तो ठाउँमा लगेर दुर्घटना गरेको छ त्यो रहस्यमय नै छ। सिधा बाटो छ, कतै दायाबायाँ हुने ठाउँ छैन। सडकमा कुनै गाडी छैन। फेरि, सडकबाट छेउमा पनि छैन। छेउमा बाँकी जग्गा पनि छ। त्यस्तो ठाउँमा ड्राइभर ढोकाबाट हाम फालेको छ। त्यस्तो ठाउँमा गाडी रोक्न नसक्ने स्थिती छैन। त्यो दुर्घटनाको स्थल हेर्दा पनि त्यस्तो छैन। अलि तल चाहिँ घुम्ती थियो। त्यहाँ भएको भए पो ब्रेक लागेन कि भन्न हुन्थ्यो। 

पाँचौ कुरा गाडी केही पनि भएको छैन। नदीबाट जीवराज झिक्दा उनी चाहिँ गाडीभित्र छन्। मदन चाहिँ छैनन्। अगाडीको सिसा अलिकति फुटेको छ त्यहाँबाट मान्छे निस्कन सक्दैन। मदनपट्टीको ढोका लक छ। बाहिर निकाल्दा पनि ढोका खुलेको छैन। अब ड्राइभरपट्टीको ढोकाबाट निस्कने सम्भावना छैन। भनेपछि मदनको शव चाहिँ गाडीभित्र छैन। त्यसले गर्दा पनि गाडीको प्रकृति पहिले नै मदनको शव झिकिसकेको प्रष्ट देखिन्छ। 

छैटौँ कुरा त्यहाँबाट गाजाँपुर भन्ने ठाउँ ३२ किलोमिटर टाढा छ। ३२ किलोमिटरसम्म पानीले पल्टाउदै लाँदा जिउमा छियाछिया घाउ हुनुपर्ने हो। तर, कहीँ कतै केही भएको छैन। म आफै पहिचान गर्न गएको हुँ। खोजीको क्रममा पनि म त्यहिँ थिएँ। एउटा सानो डामबाहेक अरु केही छैन।

पेटीले बाँधेको पाइन्ट चाहिँ छैन। तर, इलास्टिकको भरमा रहेको कट्टु चाहिँ छ। त्यो रहस्यमय छ। अझै बिचमा गोही प्रजनन केन्द्र नारायणीभन्दा तल छ। त्यहाँ तारबार सबै छ। त्यहाँबाट उम्केर जानसक्ने स्थिती छैन। त्यत्रो नदीले बगाएको कतै घाउ चोट छैन, तीन दिनपछि लास भेट्दा जस्ताको तस्तै छ। 

यी सबै कुराहरुलाई हेर्दा मदनजीहरुलाई बीचमै हत्या गरेर गरेर गाडी फालिदिएको भन्ने प्रष्ट हुन्छ। त्यसलाई कसैले अनुसन्धान गरेन। अमर लामालाई पनि झापझुप पारेर लगेर केही समय थुनेर राखे झैं गरे। आयोग र पार्टीबाट पनि त्यसबारेमा छानविनको लागि चासो देखाएनन्। सबैले आआफ्नो पद पाए,चुपचाप बसे। मदन भण्डारी नमरेको भए माधवकुमार नेपाल महासचिव बन्न पाउँदैनथे। पार्टीको महासचिव बने। 

श्रीमती (विद्या भण्डारी) पनि कृष्णप्रसाद भट्टराईलाई हराएर सांसद् बनिन्। ओलीलाई पनि उत्तराधिकारी बन्ने ठुलो अवसर प्राप्त भयो। त्यत्रो ठुलो घटना गराउने ठूलै शक्ति होलान्। उनीहरुले त घटनाबारे पत्ता लगाए पनि होलान्। तर, त्यसबारेमा चासो देखाएनन्। 

अमर लामाको पनि रहस्यमय ढंगबाट हत्या भयो होइन र?

रहस्यमय कसरी भयो भने ड्राइभर अमर लामालाई केही बर्ष जेलमा राखेर छाडे। निस्केपछि नेपाली कांग्रेसमा काम गर्न थाल्यो। उनलाई मार्नुपर्ने कारण थिएन। उसलाई माओवादीले मार्नुपर्ने कुनै कारण छैन। दिउँसै कीर्तिपुरतिर लखेटि लखेटि मारे भन्ने सुनियो। किनभने माओवादीले पनि जनयुद्धमा आफ्नो मुद्दा बनाएको थियो। मदन भण्डारीको हत्यारा पत्ता लगाउँछौ भनेर। उनीहरु प्रक्रियामा आएपछि खोज्छन् कि भन्छन् भनेर मारेका हुन्। माओवादीको नाममा त्यही शक्तिले उनको पनि हत्या गराएपछि सबै प्रमाण नष्ट गरेर ढुक्कसँग बसेका छन्।  

अहिलेको कम्युनिस्ट पार्टी उहाँहरुको मार्गनिर्देशनमा चलेको छ त? 

मैले मदन भण्डारीलाई दुुई वटा नजरले हेर्छु। एउटा वैचारिक रुपमा, अर्को सँगै काम गरेको नेताका रुपमा। अब वैचारिक रुपमा भण्डारी क्रान्तिकारी मान्छे होइनन्। जबज भन्ने बहुदलीय जनवादको नेपालका प्रवर्द्धक हुन्। यो भनेको नेपालको कम्युनिष्ट आन्दोलनका लागि बिसर्जनवादी हो। जबजले पुजीवादसँग आत्मसमर्पण गरेको विचार हो। मैले त्यही बेलामा पनि मदनजीलाई भनेको थिए। यो मैले पहिल्यै अस्वीकार गरेको विचार हो। 

वैचारिक रुपमा मदनसँग असाध्यै असहमत। उनले रोपेको विषवृक्ष अहिले झांगिएर कम्युनिष्ट भनेर हिँड्नै लाजमर्दो हुने अवस्था आयो। त्यसो भएकाले मदन भण्डारी दक्षिणपन्थी, बिसर्जनवादी नै हुन्। अर्को कुरा टनकपुर प्रकरणमा खेलेको भूमिका राष्ट्रवादी नै देखियो। पार्टीभित्र पनि अलि सिर्जनशील थिए। पद आफूमात्र लिउँ भन्ने चरित्रको थिएनन्। ओली, प्रचण्ड, माधवहरूजस्तो थिएनन्। 

०४८ को चुनावमा ६९ सिट ल्याएर पार्टी ठुलो भयो। संसदीय दलका नेता मदन भण्डारी नै हुनुपर्छ भनेर पुराना माले पक्षधर नेताहरुले भने। हामी त मार्क्सवादी पक्षधरका हौँ। मनमोहनजीलाई नेता मानेर बसेको हामी चाहिँ। पहिला त हाम्रो नेता होइनन्। एकता भएपनि मात्रै महासचिव भएका हुन्। उनीहरुको पक्षले मदनजीलाई नै संसदीय दलको नेता बन्नुपर्छ भनेर लाग्दा समेत मनमोहनजीलाई नै उनले संसदीय दलको नेता बनाए। 

माधव नेपालहरुले ०५१ मा मनमोहनलाई फाल्ने कोसिस गरे। नसकेपछि वामदेवलाई विधानमै नभएको उपमहासचिव पद सिर्जना गराएर आफू चाहिँ सरकार चलाउने जिम्मा भनेर निर्णय गराए। त्यस्ता निर्णयसम्म गर्ने गरेका थिए। तर, मदनजीले कहिल्यै पदको लागि त्यस्तो गरेको देखिएन। उनी साथीहरुको कुरा सुनेर काम गर्थे। आर्थिक र पदको लोभका थिएनन्। टनकपुर प्रकरणमा पनि राष्ट्रियताको पक्षमा दह्रो अडान लिएका व्यक्ति हुन्।  

टुट-फुटको अहिलेको कम्युनिस्ट आन्दोलनलाई कसरी चित्रण गर्नुहुन्छ? 

टुट-फुटको कारण मूलतः वैचारिक नै छ। एउटा बिर्सजनवादीहरु प्रचण्ड र एमालेहरू दक्षिणपन्थी बिसर्जनवादीहरु हुन्। यिनीहरु सत्ता स्वार्थको कारणले फुटेका हुन्। अहिले बाहिर रहेका अरु कम्युनिस्टहरु वैचारिक रुपमा असहमत भएर फुटेका छन्।

मार्क्सवाद, लेनिनवाद, क्रान्तिकारी धाराको रक्षा र विकासको लागि फुटेका छन्। फुटाईमा पनि दुई थरी छ। यीनीहरुको फुटाई खान पाउने र सत्ता प्राप्तिको लडाईँ देखिन्छ। हामीहरू चाहिँ विचारमा असहमत भएर फुटेका छौँ। फुटलाई पनि वर्गीकृत रुपमा हेर्नुपर्छ। 
 
दुई ठुला कम्युनिस्ट पार्टी आजकै दिन एक भएका थिए। तर, अहिले फेरि आ-आफ्नो बाटोमा लागिरहेका छन्। कम्युनिष्टहरुले एक हुन नसक्नुको कारण के देख्नुहुन्छ? 

नाम राखेको छ कम्युनिस्ट पार्टी तपाईहरु पनि त्यहि भन्नुहुन्छ। तर, त्यो कुरा विगत हो। विगतलाई लिएर वर्तमानको निर्णय हुनुपर्छ। वर्तमानलाई अहिले उनीहरुको कामलाई लिएर मुल्याङ्कन हुनुपर्छ। विगतको इतिहासको समीक्षा गर्नुपर्छ।

वर्तमानमा दुवै कम्युनिस्ट पार्टी होइनन्। नाम कम्युनिस्ट राखेका प्रतिक्रियावादमा पतन भएका शक्ति हुन्। यिनीहरुलाई कम्युनिस्ट पार्टीको एकता भन्नुको अर्थ नै छैन। त्यसकारण सत्ता स्वार्थका लागि मिलेका थिए, विदेशीले पनि आफ्नो केही स्वार्थको लागि मिलाएका थिए। उनीहरुको योजना पूरा नभएपछि यहाँ पनि सत्ता स्वार्थको कुरा नमिलेपछि फेरि विभाजन भए। 
  
विभाजित बनेको कम्युनिस्ट पार्टीहरू फेरि एकै ठाउँमा उभिन सक्ने आधार देख्नुहुन्छ? 

यीनीहरुको केहि भर छैन। ओली र माधव नेपाललाई हेर्नुहोस् न। अस्तिसम्म एकअर्काको विरोधी भएर हिँडेका थिए। तर, अहिले मिल्ने बाटोमा लागिसकेका छन्। अब प्रचण्ड पनि नमिल्लान् भन्ने के छ र? माधव मिल्दा प्रचण्ड नमिल्ने भन्ने हुँदैन। प्रचण्डलाई कांग्रेस या एमालेसँग तत्काल मिल्नुको विकल्प छैन। क्रान्तिकारी धार हामीसँग मिल्ने सम्भावना प्रचण्डको करिब छैन। मद्येशी पार्टीसँग भएपनि प्रचण्ड जोडिन्छन्। 

देशका सबै कम्युनिस्ट पार्टीहरू एकैठाउँमा उभिने अवस्था छ कि छैन त? 

छैन छैन, एमाले होस् या प्रचण्ड हामीसँग जोडिने सम्भावना छैन। हामीहरुले सम्भावना गर्न खोजेको वैद्यजी, विप्लवजी र हामी ३ वटा जोडिन खोजिरहेका छौँ। यो व्यवस्थाको विकल्पमा त्यसको विकल्प हुनसक्छ। प्रचण्डहरूले आत्मसमीक्षा गरेर हाम्रो बाटोमा फर्किन्छु भनेर आए भने सोच्न सकिन्छ। तर, उनी हाम्रो बाटोमा फर्किनेवाला छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.