|

म्याग्दी : म्याग्दी सोमबार तीन महिने शिशु र ८९ वर्षीय वृद्धसहित ५३ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका घर भई पर्वत बेनी बस्ने आमासँगै संक्रमित भएका तीन महिने शिशु, म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाका ८९ वर्षीय वृद्धसहित ५३ जनाले कोरोनालाई जितेका छन्।

त्यसैगरी सोमबार नै पिसिआर र एन्टिजिन विधिबाट गरी ८२ जना नयाँ कोरोना संक्रमित थपिएको बेनी अस्पतालले जनाएको छ। उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्पतालमा उपचाररत ८९ वर्षीय केशव सुवेदी कोरोनालाई पराजित गरी घर फर्किएका छन्। सुवेदीको स्वास्थ्यमा सुधार आएर निको भएपछि उनलाई सोमबार साँझ अस्पतालबाट घर पठाइएको हो।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सुवेदीलाई एक साताअघि कोरोनाको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको थियो। रिपोर्ट पोजेटिभ देखिएको र उनमा रुघाखोकीसहित अक्सिजनको मात्रा समेत कम देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। सोमबारसम्म उनको स्वास्थ्यमा सुधार भएर निको भएपछि अन्य शक्तिवर्द्धक र रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिहरुसहित उनलाई घर पठाइएको अस्पतालका डा. सन्तोषप्रसाद बोहराले बताए।

‘अस्पतालमा उपचारमा अत्यन्तै राम्रो सेवा पाएँ, डाक्टर र स्वास्थ्यकर्मी नियमित रुपमा खटिनुभएको छ,’ सुवेदीले भने, ‘कोरोनालाई लुकाएर घरमा नबस्न र बिरामी भएमा उपचार गराउन सुझाब दिन्छु।’ सुवेदीले अस्पतालको सेवाप्रति खुसी व्यक्त गर्दै थप व्यवस्थापनका लागि वडा अध्यक्ष जीवनकुमार मल्ललाई नगद पाँच हजार सहयोग समेत हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.