|

काठमाडौं :  अक्सिजन अभावमा काेराेना संक्रमित बिरामीहरुकाे  उपचारमा समस्या उत्पन्न भइरहेका बेला उपत्यकाका केही स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन ल्याएका छन्। 

काठमाडौं महानगरपालिकाको लगानीमा वैशाख १९ गतेबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएकाे छ। नगरपालिकाले यसको लागि करिब दुई करोड ७५ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराएको थियो। 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन्। अक्सिजन उत्पादन भएकाले आपूर्तिमा केही सहज भएकाे अस्पतालले जनाएकाे छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले पनि नेपाल–कोरिया मैत्री अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ। नगरपालिकाका सूचना अधिकारी केशव शिलवालले ६५ लाख लागतमा चार दिन अघिदेखि नै प्लान्ट सञ्चालनमा आएको बताए।

उनका अनुसार अहिले दैनिक करिब ३० वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ। ‘अक्सिजन उत्पादन भएपछि उपचामार धेरै सहजता मिलेको छ,’उनले भने।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले अक्सिजन प्लान्ट सञ्चालनको काम सुरु गरिसकेको बताइन्। उनले एक महिनाभित्रमा अक्सिजन उत्पादन गरिने जानकारी दिइन्। उनले भनिन्,‘अक्सिजन उत्पादनको लागि टेण्डर खाेलिसकेका छौ,अबको एक महिनाभित्रमा सञ्चालनमा आउँछ।’ उनका अनुसार गोकर्ण प्राथमिक र अर्थोपेडिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिने छ।

ललितपुर महानगरपालिका पनि अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारीमा जुटेको छ। पाटन अस्पतालमा उत्पादन गर्नको लागि सामग्री ल्याउन टेन्डर आव्हान गरेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

‘अक्सिजन उत्पादन गर्नका लागि महानगरपालिकाले पाँच महिना अघि नै एक करोड बजेट निकासा गरेको थियो,’उनले भने,‘खरिद ऐन नियमावलीले गर्दा ढिलाई भयो,एक महिनाभित्रमा अक्सिजन प्लान्ट सञ्चालनमा आउँछ।’

टोखा नगरपालिकाले पनि अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी थालेको छ। नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले भनिन्,‘अहिलेको अक्सिजन अभाव छ,त्यसैले नगरपालिकाले सञ्चालन गर्दै आएको टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय भएको छ।’

उनका अनुसार अहिले नगरपालिकाले प्लान्टका लागि आवश्यक सामग्रीहरु संकलन गरेको छ। उनले बढीमा डेढ महिना भित्रमा प्लान्ट सञ्चालनमा ल्याउने बताइन्। नगरपालिकालाई मंगलबार एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.