|

दाङ : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले मंगलबार दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुन्। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनले केही समयअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरका थिए। यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार हुन्। माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनी एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो। माओवादीको कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार बनाएको हो। 

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुँदैछ। निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो। लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेसका ६४, नेकपा माओवादी केन्द्रका ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्रका ४ जना रहेका छन्। 

प्रदेशसभामा नेकपा एमाले ४२ जना सांसदमध्ये बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। त्यसैगरी एमालेबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले राजीनामा दिएका छन्। अहिले एमालेका ३९ जना सांसद छन्। नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.