|

जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिका ४ बाट ६ वर्षीय बालक घरबाटै बेपत्ता भएका छन्। घटना भएको दुई दिन बित्न लाग्दा पनि उनको अवस्था पता लागेको छैन।

परिवारजनले बालक अपहरण भएको आशंका व्यक्त गरेका छन्। तर, फिरौती वा धाकधम्की अहिलेसम्म नआएको कारण घटना के हो भन्ने खुल्न सकेको छैन।

बेपत्ता हुनेमा सत्रुधन महतो का ६ वर्षीय छोरा युवराज महतो रहेको प्रहरीले जनाएको छ। आफ्नै घरकै आँगनमा खेल्दै गरेका युवराजलाई एक अपरिचित व्यक्तिले डुलाउन भनेर लगेको परिवारजनको भनाइ छ। यो घटना मंगलबार बिहानको हो।

पहिले निकै बेर सम्म परिवारका व्यक्तिहरुले आफैँ खोजबिन गर्दा नभेटेपछि खेसरहा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गौशाला मा जानकारी गराए।

मंगलबार ती बालककी आमा संगिता देवी महतो घरमै कामकाज गर्दै थिइन्। हजुरआमा चम्पा देवी पनि आँगनकै गोठमा थिइन्। अपरिचित व्यक्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डुलाउन लगेको भनेर केही सोधिनन्। तर बच्चा अबेरसम्म घर नफर्किएपछि खोजबिन सुरु भएको थियो।

बालक फेला नपरेपछि घरमा रुवाबासी चलेको छ। बालकका बुबा र आमा घरमा रुँदै कराउँदै मुर्छा पर्ने गरेका छिमेकी बताउँछन्। महोत्तरीको खेसरहाबाट बच्चा अपहरणको यो पहिलो घटना हो। भूमिगत समूह सक्रिय रहेका बेलामा व्यक्ति अपहरणका घटनाहरु देखिए पनि कलिला बालबालिका अपहरणमा परेका थिएनन्।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक बिष्णु प्रदीप बस्यालले बच्चा हराएको सूचना आएकोले प्रहरीले खोजबिन थालेको बताए। बच्चा खोज्न सीमा क्षेत्रका गाउँसँगै सीमापारिका भारतीय सुरक्षा निकायसँग समन्वय गरी खोजबिन गरिरहेको प्रहरी निरीक्षक बस्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.