विश्वमा बिफर उन्मूलन हुन दुई शताब्दी लागेको इतिहास छ

|

कोरोनाबाट आम मानिसलाई कसरी बचाउने भन्ने चिन्ता चिन्तन सबैतिरबाट भइरहेको छ। दिनदिनै संक्रमण बढेको छ र दिनको सरदर २०० भन्दा बढीको मृत्यु भइरहेको छ। यसको अर्थ हो तत्कालको अवस्थाको व्याख्या गर्दा हामी अनियन्त्रणीय अवस्थामा छौँ।

मात्र २ करोड ६४ लाख जनसंख्या भएको देशमा दिनमा लगभग साढे नौ हजार जनता संक्रमित भइरहेका छन्। बेलामा अस्पतालको बेड नपाइनु, अक्सिजनको अभाव हुनु, आवश्यकताअनुसार बिमारीलाई भेन्टिलेटरमा राख्न नपाउनु अनियन्त्रणीय अवस्था हो।

यस्तो समयमा सरकारले निषेधाज्ञाको माध्यमबाट संक्रमणको श्रृङ्खला टुटाउने प्रयास गरिरहेको छ। यसैका लागि प्रहरीहरू दिन रात नभनेर सडकमा खटेर अनावश्यक आवागमन नियन्त्रण गरिरहेका छन्। तैपनि संक्रमण करिब-करिब उस्तै स्थितिमा भइरहेको छ। यसरी कोरोना मुक्तिको अवस्थामा पुग्न सकिएला? अहिलेसम्म त्यसको कुनै अनुमान लगाउन सकिने अवस्था छैन। 

विश्वमा पहिलो भ्याक्सिन १८ औँ शताब्दीमा बिफरका लागि नै बनेको थियो। एडवर्ड जेनरले बिफरविरुद्ध सन् १७९६ मा बनाएको भ्याक्सिनले त्यसको २०० वर्षपछि विश्वलाई बिफरमुक्त बनाएको  हो।  योबाहेक कुनै पनि रोग अहिलेसम्म पृथ्वीमा आइसकेपछि  उन्मूलन भएको जानकारी छैन।

कसैको शरीरमा भर्खर कोरोना प्रवेश गर्दै छ। कसैलाई सामान्य संक्रमणको प्रभाव देखिएको छ। कसैलाई ज्वरो आएको छ। कसैलाई सिटामोलले ज्वरो ठिक भए पनि गन्ध हराएको अवस्था छ। कसैलाई गन्ध तथा स्वाद दुवै हराएको अवस्था छ।

बिमार बढ्दै गएपछि, श्वासप्रश्वासमा समस्या आउने, अक्सिजनको मात्रा तोकिएको ९० प्रतिशतबाट तल आउने जस्ता घटना देखिएपछि मात्र मानिस अस्पतालमा जान्छ। तर, पनि सबैले स्थान पाउन सहज अवस्था छैन।

यस्ता महामारीहरू अनेक नामबाट यसभन्दा १००, २०० र ३०० वर्ष अगाडि पनि आएको इतिहास छ। त्यसबेलाको इतिहास खोजेर त्यसको अनुभवका आधारमा त्यसबाट अहिलेको मानवतालाई समस्या छ छैन  भन्ने कुराको गहन पडताल गरेर मात्र कोरोना कहिलेसम्म कुन अवस्थामा रहला भन्ने अनुमान गर्न सकिन्छ।

चीनको वुहान शहरमा सन् २०१९ मा जब पहिलो पटक यो भाइरसले मानिलाई आक्रमण गर्न थाल्यो त्यो अवस्थालाई कोभिड १९ आउटब्रेक नाम दिइएको थियो। जब कुनै रोग पहिलो पटक कुनै शहरमा  देखिन्छ  विश्व स्वास्थ्य संगठनले त्यो अवस्थालाई रोगको प्रकोप तथा  आउटब्रेक क्षेत्र  भन्ने गर्छ ।

एउटा शहरबाट अर्को शहरमा पनि रोग फैलिेने र अर्को देशमा समेत पुग्ने  अवस्थालाई ( महामारी) इपिडेमिक भनिन्छ। एकएक गर्दै अनेक शहर र देशमा यो फैलिने अवस्था आउनु अर्थात रोग विश्वभरका लागि संकट ल्याउनुलाई पेन्डेमिक अर्थात (विश्वव्यापी महामारी)को रूपमा बुझिन्छ। आउटब्रेक, इपिडेमिक र पेन्डेमिक सबैले क्षेत्र अनुसार रोगको अनियन्त्रित अवस्थालाई संकेत गर्छ।

११ मार्च २०२० को दिन कोरोनालाई विश्वव्यापी महामारीको रूपमा विश्व स्वास्थ्य संगठनले घोषणा गर्‍यो। जसबाट अहिलेसम्म १६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन्। ३३ लाख मानिसको यसै रोगबाट मृत्यु भइसकेको छ। नेपालमा ५ लाखको हाराहारीमा संक्रमण देखिएको छ भने साढे पाँचहजार भन्दा बढीको मृत्यु भएको छ।

खोजेको बेलामा बेड, अक्सिजन, वा भेन्टिलेटर आमरूपमा सामान्य व्यक्तिले प्राप्त गर्न नसक्ने अवस्था नै अनियन्त्रित अवस्था हो हामी त्यो अवस्थामा छौँ।

कुनै पनि रोग महामारी बन्नका लागि रोग फैलाउने तत्व (प्याथोजिन) उपस्थिति हुनुपर्छ। जस्तै भाइरस, बेक्टेरिया, फ्लु, फन्जी, रोगाणु आदि। यस्ता रोगकारक तत्व फैलिने किसिमको एक व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने क्रम अति तीव्र हुनुपर्छ। तब त्यो रोगले विश्वव्यापी महामारीको रूपमा व्याख्या गरिन्छ। सोहीअनुरूप त्यसको उपचारका उपायहरू खोजिन्छ।

प्लेग, बिफर, स्पेनिस फ्लु, सार्स, एड्स, टिबी अनेक समयमा महामारीको रुपमा थिए। यी सबैलाई कुनै न कुनै रुपले मानिसले नियन्त्रण गर्ने वा समायोजन गर्दै आएको छ। त्यस्तै, ऐतिहासिक महामारीहरूको पृष्ठभूमि अध्ययनबाट पनि कोरोना समाप्ति वा निरन्तरताको एक अमूर्त चित्र बनाउन सकिन्छ।

टिबी र एड्स अहिले नेपालमा नियन्त्रित अवस्थामा छन्। यी रोग छन् तर यिनबाट संक्रमित बढेर तत्काल अस्पतालको शय्यामा नै नपुग्ने अवस्था आउने छैन भन्ने लगभग निश्चित छ। यो नै रोग नियन्त्रणको  अवस्था हो।

अनियन्त्रित अवस्थामा रोगीको संख्याको ग्राफ दिनदिनै बढ्दै गएको हुन्छ। नियन्त्रण हुनु भनेको त्यो रेखा समतल हुँदै आशातीत रुपमा तलतिर आउनु हो।

कोरोना पनि सधैँका लागि समाप्त भइहाल्छ भन्न सकिँदैन। प्लेग, पोलियो, टिबी, जस्तै यसलाई पनि नियन्त्रण मात्र  गर्ने हो। त्यसैले अनियन्त्रित महामारीलाई नियन्त्रित महामारी, त्यसपछि यसलाई केबल सामान्य इन्डेमिकको दायरामा राख्‍न सक्नु नै विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र हामी जनताको कर्तव्य हो।

केही अघिसम्म नेपालमा इन्डेमिक बनेको कोरोना अहिले पेन्डेमिक भइसकेको छ। तीन महिना अगाडि ७ मार्च २०२१ मा दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले कोरोना अब इन्डेमिक अवस्थामा पुगेको बताएका थिए। तर नेपाल भारतमा यो कसरी महामारीमा परिणत भयो। यो हामी सबैले भोगी रहेका छौ। यसको मुख्य कारण रोगले आफ्नो भेरियन्ट परिवर्तन गर्‍यो।

एकातिर कोरोनाले भेरियन्ट अर्थात् स्वरूप परिवर्तन गर्‍यो। अर्कोतिर  नेपाली जनताको आर्थिक अवस्थाले पनि स्वरूप परिवर्तन भएको अवस्था  छ। कतिपय परिवारका सबै सदस्यहरू संक्रमित भएर पल्टिएका छन्। आम्दानीको स्रोत पूर्णरूपमा बन्द भएको छ। 

आम्दानी बन्द हुनु एउटा समस्या छ त्यसमा पनि बचत पटक्कै नभएका र बचत भएका बीचमा पनि अवस्थाको विविधता छ।

आगामी बजेटले यो रोग पीडितलाई कुनै न कुनै रुपमा सम्बोधन गरिदिएमा पक्कै पनि गरिबवर्ग जो कोरोनापीडित छ उसले गाँस र कपासको केही जोहो गर्न सक्नेछ। अन्यथा कोरोनाले गरिबीमा थप आक्रमण गर्नेछ। सरकारले यसबारेमा पक्कै सोच्नेछ भन्ने आशा मरेको छैन।

अब जनताका बढ्दो रोग घट्दो आम्दानीको बीचमा रोगका अन्य अवस्थाका बारेमा सोचौँ। जसरी अहिले कोरोना नियन्त्रणबाहिर छ विस्तारै यो नियन्त्रणमा आउनेछ।

लगभग ९ हजार संक्रमित थपिँदा ५ हजार जति निको भएर घर गएको अवस्था पनि छ। केही समयपछि संक्रमित र निको हुनेको संख्या लगभग बराबर हुन थालेमा महामारी अलिकति नियन्त्रणको अवस्थामा आउनेछ। विस्तारै आशा गरौँ इन्डेमिकको अवस्थामा पुग्नेछ। यो अवस्था भनेको अहिलेको डेंगु, कुष्ठरोग, रेबिज जस्ता रोगहरु झै यसको प्रभाव रहनेछ।

किनकि अब मानिसको शरीरमा यो कोरोनाविरुद्धको एन्टीबडी बन्दै गएपछि मानिस कोरोनासँग समायोजन भएर बाँच्न सक्ने अवस्थामा पुग्नेछ।

तत्काल कोरोना इलिमिनेसन (उन्मूलन)तथा इराडिकेसन – दुनियाँबाट नै खतम हुने अवस्था आउन लगभग असम्भव छ। किनकि आजसम्म विश्वबाट एउटा मात्र रोग समाप्त भएको छ। त्यो हो बिफर।

विश्वमा पहिलो भ्याक्सिन १८ औँ शताब्दीमा बिफरका लागि नै बनेको थियो। एडवर्ड जेनरले बिफरविरुद्ध सन् १७९६ मा बनाएको भ्याक्सिनले त्यसको २०० वर्षपछि विश्वलाई बिफरमुक्त बनाएको  हो।  योबाहेक कुनै पनि रोग अहिलेसम्म पृथ्वीमा आइसकेपछि  उन्मूलन भएको जानकारी छैन।

यसका आधारमा भन्ने हो भने कोरोना पनि सधैँका लागि समाप्त भइहाल्छ भन्न सकिँदैन। प्लेग, पोलियो, टिबी, जस्तै यसलाई पनि नियन्त्रण मात्र  गर्ने हो। त्यसैले अनियन्त्रित महामारीलाई नियन्त्रित महामारी, त्यसपछि यसलाई केबल सामान्य इन्डेमिकको दायरामा राख्‍न सक्नु नै विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र हामी जनताको कर्तव्य हो।

बढी सम्भव के छ भने एकपटक सबैलाई कोरोना संक्रमण भए पनि खोपले हामी मध्ये ९९.९ प्रतिशतलाई बचाउनेछ। खोपलाई एक सहारा मानिन्छ यसको कारण छन् भन्ने बुझौं  र यसलाई बेवास्ता नगरौँ। मौका मिल्दा लगाऊँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.