|

म्याग्दी : बेनी नगरपालिका-६, बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालय र बगरफाँटको सरस्वती आधारभूत विद्यालय परिसर अहिले पशुहरूको चरन क्षेत्र बनेको छ। यी दुई विद्यालयहरू मात्र होइन, जिल्लाका ग्रामिण भेगका सवै विद्यालयहरूको अवस्था यस्तै रहेको त्यस क्षेत्रका स्थानीयहरूले बताएका छन्।

कोरोना महामारीको दोस्रो लहरबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरू चरनक्षेत्र बनेको हुन्‌ भने विद्यार्थीहरू गोठाला भई खटिएका छन्‌।

सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरू बन्द भएपछि विद्यार्थीहरूले पढ्ने ठाउँ गाई, भैंसी र बाख्रा र कुखुरा लगायत पशुपक्षीको चरन क्षेत्रमा परिणत भएको हो।

विद्यालयको प्राङ्गणयतिखेर घाँस उम्रिएर हराभरा भएको छ। तारबार नगरिएका विद्यालयहरूमा गाउँका पशु-चौपायाहरू विद्यालय हाताभित्र नै प्रवेश गरेर चरिरहेका देखिन्छन्।

ग्रामिण क्षेत्रका विद्यालयहरूको अवस्था पशु गोठजस्तै बन्न लागेको स्थानीयले बताएका छन्। कोरोना सङ्क्रमण झन तीव्र फैलिँदै गइरहेको अवस्थामा विद्यालयहरू कहिले सञ्‍चालन हुने हो भन्ने कुराको कुनै टुङ्गो छैन। स्थानीय प्रशासन र तहहरूले जारी निषेधाज्ञालाई अझै लम्ब्याउने तयारी गरिरहेका छन्।

विद्यालयहरू पशुका चरन क्षेत्र बनेपछि पशुका हेरालु पनि विद्यार्थीहरू नै बनेका बेनी नगरापालिका-२, बगरफाँटका समबहादुर किसानले बताए। ‘विद्यालय बन्द छन्, घरमा कि टिभी हेर्छ‌, कि मोबाइल खेलाउँछन्,’ उनले भने, ‘बरू, हेरालु बनाएर पठाइदिए पछि पशुहरूले पनि घाँस चर्न पाउँछन्, केटाकेटीहरू पनि भुल्छन्,आनन्दै हुन्छ।’

भकिम्लीका मंगलबहादुर विकको समय दैनिक बिहान–बेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ। स्थानीय जयन्ती मावि भकिम्लीमा अहिले कक्षा ९ मा अध्ययनरत विकले शहरबजारमा अनलाइनबाट पढाइ भइरहेको कुरा थाहा त पाउँछन्, तर आफ्नो घरमा न वाइफाइ छ, न विद्यालयले नै अनलाइन कक्षा सञ्‍चालन गरेको छ।

उनी भन्छन्, ‘पढ्न त मन लाग्छ नि! तर,पढ्ने पो कसरी हो त ? बाख्रा चराउन जङ्गल जान्छौँ, विद्यालय नखेलेसम्म पढ्ने कुरा हरायो अब।’ उनीजस्तै म्याग्दीको ग्रामिण भेगका धेरै विद्यार्थीहरू अहिले गाई भैंसी र भेडा बाख्राका हेरालु बनेका छन्।

सदरमुकाममा विद्युतको केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरूले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि ग्रामिण क्षेत्रमा बस्ने विद्यार्थीहरू भने पशु-चौपायाको हेरालु बनेर दिन बिताइरहेका स्थानीय जनप्रतिनिधिहरूको पनि भनाइरहेको छ। शहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ। अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहरिँदा विद्यार्थी मर्कामा परेको बताउँछन्।

शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार ग्रामीण भेगका विद्यार्थीले सरकारद्वारा गरिएको प्रसारण शिक्षाको सदुपयोग गर्न सकेका छैनन्।

अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहे पनि सबै स्थानका विद्यार्थीसँग प्राविधिको पहुँच नभएकाले समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.