|

पर्सा : दरिलो आत्मविश्वास र आँट भए कोरोनाले जित्न सक्दैन भन्ने उदाहरण वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की बनेकी छन्। उनले ९१ वर्षको उमेरमा कोरोनालाई जितेकी हुन्। 

उपप्रमुख कार्कीको वैशाख २२ गते रिपोर्ट पोजेटिभ आएको थियो। सोही दिनबाट उनी दुई दिन संक्रमित बस्न बनाइएको स्थानीय विजय ज्योति होटल र त्यसपछि वीरगन्ज महानगरपालिकाको आफ्नै अस्थायी कोभिड अस्पतालमा बसेर कोरोना जित्दै बिहीबार बिहान डिस्चार्ज भएकी छन्।

उपप्रमुख कार्कीलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले अस्थायी कोभिड अस्पतालमा पुगी स्वागत गरे।

​श्वास फेर्न अलि अप्ठ्यारो भएपछि गएको वैशाख १७ गते अक्सिजनको सपोर्टमा दुई दिन घरमा नै बसिन्। अवस्था अलि ठिक भएपछि स्वाब परीक्षण गर्न दिँदा २२ गते संक्रमण पुष्टि भएको थियो। त्यसको ठिक १३ औं दिनका दिन दोस्रो पटक दिएको स्वाबको बुधबार साँझ रिपोर्ट नेगेटिभ आई बिहीबार डिस्‍चार्ज हुनुभएको उपप्रमुख कार्कीका स्वकीय सचिव विजय पौडेलले विस्तृत रुपमा बताए। 

उपप्रमुख कार्कीको आत्मबल नै धेरै

पञ्चायती शासकविरुद्ध लड्दा प्रहरीको बन्दुकको कुँजाले हिर्काएर ढाड बँग्याउँदा, जेलमा कोच्दा त मरिएन भने जाबो कोरोनाले मार्न सक्दैन भन्ने उनमा असाध्यै आत्मबल थियो।

‘संक्रमण पुष्टि हुनु पूर्व उमेरको ख्याल नगरी अविवाहित कार्कीले जनताको सेवामा अन्य समयमा जस्तै निरन्तर लागिरहनुभयो। संयोगवश आफू संक्रमित पनि हुनुभयो’ स्वकीय सचिव पौडेलले भने। उपप्रमुख कार्कीमा आत्मबल नै धेरै छ। ‘अहिले पनि गाडीमाभन्दा पैदल नै धेरै ठाउँमा हिँडिरहने उनको बानीले शरीरको इम्युनिटी पावर नघटेको हुन सक्छ।‘ उहाँमा सौखिन मानिसको जस्तो चाला थिएन पौडेलले तर्क गरे।

सबैले कोरोनालाई जितिन्छ भन्ने छैन : उपप्रमुख कार्की 

अस्थायी कोभिड अस्पतालबाट डिस्चार्ज भएकी उपप्रमुख कार्कीले छोटो कुरा गर्दै सरकारबाट जारी स्वास्थ्य सुरक्षा मापदण्ड सबैले पालन गर्नुपर्ने सुझाव दिइन्। निषेधाज्ञाको पूर्णरूपले पालन गर्दै सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्न पनि उनले आग्रह गरिन्।

‘सबैले कोरोनालाई जितिन्छ भन्ने हुँदैन।‘ त्योभन्दा पहिले नै सबै सचेत भई सबै मापदण्ड पालना गर्नु पर्नेमा उनको जोड छ। 

महानगरको अस्थायी कोभिड अस्पतालको पहिलो बिरामी डिस्चार्ज

महानगर आफैँले सञ्‍चालनमा ल्याएको २ सय ३० बेडको अस्थायी कोभिड अस्पतालको ‘पहिलो संक्रमित बिरामी आफ्नै उपप्रमुख शान्ति दिदी डिस्चार्ज हुनुभयो’ महानगरका नगरप्रमुख विजय कुमार सरावगीले भने। ‘उहाँले १४ दिनपछि कोरोनालाई पछार्न सक्नुभयो’ नगरप्रमुख सरावगीले बताए।

वीरगन्जका अस्पतालहरुले कोरोनाका संक्रमितहरुको चाप थेग्न नसकेपछि महानगरले गएको वैशाख २४ गते स्थानीय गोपाल मण्डली धर्मशालामा आफैँ अस्थायी कोभिड अस्पताल सञ्‍चालनमा ल्याएपछि उपप्रमुख कार्कीको त्यहीँ उपचार भइरहेको थियो। जेठ ३ गते दोस्रोपटक स्वाब संकलन गरियो।

लामो राजनीति पहिलो सार्वजनिक पद

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला लगायतले पनि नजिकबाट चिन्ने कांग्रेस पार्टीकी नेतृ उपप्रमुख कार्कीलाई पार्टीले पहिलो पटक सार्वजनिक पदमा पठाएको थियो। निष्ठाको राजनीति गर्ने भएको कारण मधेश आन्दोलनको प्रभाव रहेको वीरगन्जमा उपप्रमुखमा उनको नाम पार्टीले निर्विकल्प रुपमा अगाडि सारेको थियो। कार्कीले त्यो अवसरलाई सदुपयोग गर्दै विजयी भएकी थिइन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.