|

पर्वत : कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले समय नदिएको तथा आफैँ सङ्क्रमित हुन सक्ने जोखिमका कारण बिरामी नजिक नपर्ने गरेका समाचार यदाकदा सुनिने गरेका छन्।

कतिपय सरकारी अस्पतालहरूको सेवा प्रवाह कमजोर रहँदा सङ्क्रमितहरूले राम्रोसँग उपचार नपाएको तथा उनीहरूको उपचारमा ध्यान नदिएको गुनासो पनि आउने गरेका छन्।

यही बीचमा आफू सङ्क्रमित भएर अस्पतालमा रहँदा अस्पतालको सेवाबाट प्रसन्न भई पर्वतको कुस्मा नगरपालिकाकी एक महिलाको परिवारले पर्वत अस्पताललाई आर्थिक सहयोग गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार कुस्मा नगरपालिका–५ की जमुना श्रेष्ठलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो। सात दिनसम्म भएको उपचारपछि उनले सङ्क्रमणलाई जितेपछि उनका श्रीमान् रामु श्रेष्ठ र छोरा प्रेम श्रेष्ठले २५ हजार पाँच सय ५५ रुपैयाँ अन्य सङ्क्रमितको उपचारमा सघाउनको लागि सहयोग गरेका हुन्।

स्वास्थ्य सुधार भएपछि डाक्टरको सल्लाहबमोजिम डिस्चार्ज भएर घर फर्किन पाएको, अस्पतालले निःशुल्क उपचार गरेको, स्वास्थ्यकर्मीहरुले विशेष ख्याल गरेको तथा अन्य व्यवस्थापनबाट प्रभावित भएर आइसोलेसनमा आउने आफ्नी आमाजस्तै अरू सङ्क्रमितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताललाई सहयोग गरेको छोरा प्रेमले बताए।

‘कतिपयले सरकारी अस्पतालमा अरूको त राम्रो उपचार हुँदैन झन् कोरोनाको कसरी होला? भनेर मलाई सुनाएका थिए। तर पर्वत अस्पतालले मेरी आमासहित सबै सङ्क्रमितको उपचारमा निकै ध्यान दिएका पाएँ। सङ्क्रमितहरूमा हौसला मिलेको छ।’ उनले भने, ‘उपचारमा संलग्न स्वास्थ्यकर्मी, बिरामीप्रति उनीहरूको हेरचाह र व्यवहारले म प्रभावित भएँ। थोरै भए पनि गरेको सहयोगले समस्यामा परेका बिरामीहरूको उपचारमा अलिकति भए पनि बल पुग्छ।’

जिल्लामा रहेको अस्पतालमा रहेको अस्पतालमा उपचार सम्भव नभएको भए पोखरा लैजानुपर्ने र त्यहाँ सङ्क्रमितको उपचारको लागि लाखौँ खर्च हुन सक्ने अवस्थामा आमालाई जिल्लामा नै निको भएकाले आफूले गरेको अलिकति सहयोगले अन्य कसैको ज्यान बाँच्न सक्ने भएकाले पनि सहयोग गरेको प्रेम बताउँछन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले सङ्क्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना हुन आएका बिरामीहरूलाई निको पार्नका लागि अस्पतालले हरतरहबाट प्रयास गरिरहेको र स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेको बताए।

सबैको बल मिलेका कारण नै पर्वत अस्पतालमा सङ्क्रमितहरूलाई राम्रोसँग उपचार गर्न सकिएको र अहिलेसम्म खासै समस्या नआएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.