सिंहदरबारमा हस्ताक्षर सुरु

|

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय केही घण्टा मात्रै बाँकी रहँदा विपक्षी दलले कसरत तीव्र बनाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको छलफल कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा चलिरहेको छ।

आज बिहानैदेखि छलफलमा जुटेका विपक्षी दलहरुले अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएरै भएपनि ओलीलाई पदमुक्त बनाउने गरी कसरत थालेको बुझिएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पनि कांग्रेसले नेता नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिने बिषयमा छलफल गरेको थियो। कांग्रेस स्रोतका अनुसार अहिले बूढानीलकण्ठमा सबै कोणबाट छलफल चलिरहेको र नेपाललाई प्रधानमन्त्री बनाउने बिषयमा पनि परामर्श भइरहेको हो।

यसअघि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको भएपनि आवश्यक संख्या नपुगेपछि अन्य विकल्पमा छलफल गरिरहेको हो।

विहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै विकल्पमा अरु दलहरुसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

ओलीलाई पदमुक्त गरेर अन्य दलको नेतृत्वमा सरकार गठनका लागि नेकपा माओवादी केन्द्र पनि तयार रहेको अवस्थामा अब विपक्षी दलहरुले नेपाललाई प्रधानमन्त्री बनाएरै जान तयार हुने देखिएको छ।

नयाँ सरकार गठनका लागि दिएको समय बेलुकी ५ बजे सकिदैछ। यता नेपाल पक्षले पनि अहिले छलफल गरिरहेको छ। सिंहदरबारमा जारी छलफलमा नेता नेपालसहित उनको समूहका २० बढी सांसद उपस्थित रहेको एक नेताले थाहाखबरलाई बताए।

बेलुकी ५ बजे अगाडि नै नयाँ सरकारका लागि दाबी लिएर राष्ट्रपति समक्ष जाने तयारी भइरहेको ति नेताले बताए। नेपाल समूहले आफ्नो पक्षमा ३५ सांसद रहेको दाबी गरिरहेको छ।

यता संविधानविद् भीमार्जुन आचार्यले पनि प्रधानमन्त्री ओली बाहेक अन्य व्यक्तिले समर्थन लिएर सरकारको नेतृत्वमा दाबी गर्न पाउने बताए। उनले माधव नेपाललाई प्रधानमन्त्री बन्न संविधानले नरोक्ने पनि बताए।

सरकार बनाउन १३६ सांसद आवश्यक पर्छन्। नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ सांसद छन्। नेपाल समूह मात्र मिले पनि सरकार गठन गर्न सक्ने अवस्था छ।

हस्ताक्षर सुरु

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादब पक्ष र एमालेको नेपाल समूहले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रकृया अगाडि बढाएका छन्। उनीहरुले त्यसका लागि सांसदहरुको हस्ताक्षर फाइल कार्य अगाडि बढाएका हुन्।

कांग्रेस नेता लेखकले नयाँ सरकारका लागि आधार प्रस्तुत गर्ने कार्य अगाडि बढेको थाहाखबरलाई जानकारी दिए। उनका अनुसार कांग्रेस नेता पूर्णबहादुर खड्का, पुष्पा भुषाल माओवादीका देव गुरुङ र वर्षमान पुनले हस्ताक्षर संकलनको कार्य थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.