|

ओखलढुंगा : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा आवश्यक तयारी नै नभएको पाइएको छ। महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तयारी देखिएको छैन।

काठमाडौं उपत्यकामा निषेधाज्ञा भएसँगै गाउँ फर्किएका सर्वसाधारण अहिले पनि नत क्वारेन्टिनमा छन् नत गाउँमा भेटघाट नै बन्द गरेका छन्। हरेक गाउँहरुमा हजारौँ मानिस भित्रिएका छन्, तर जिल्लामा क्वारेन्टीनको व्यवस्था नभएका कारण बाहिरबाट आएकाहरु क्वारेन्टिनमा बसेको अवस्था छैन। जिल्लामा कोभिड नियन्त्रणका लागि गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन्। गतवर्ष स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेशन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले कतै रहेको पाईन्न।

नाका खुला

संक्रमण बढिरहेको अवस्थामा अहिले पनि जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरु खुला रहेका छन्। जिल्लामा उदयपुरको घुर्मी नाका मुख्य नाकाका रुपमा लिईने गरेको छ। रामेछाप र सिन्धुलीका विभिन्न स्थानमा गरि ए दर्जन बढी जिल्ला प्रवेश गर्ने नाका रहेका छन्। कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेशन, वडावडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए, तर अहिले ती सबै संरचना सञ्चालनमा रहेका छैनन्।

स्थानीय तहले विद्यालयमा बनाएका क्वारेन्टिन र ठाउँठाउँमा राखिएका हेल्थ डेस्कका सामान सुरक्षित नराखेका कारण अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा पहिलेको जत्तिकै पूर्वतयारी अपनाइ हाल्न सक्ने अवस्था नरहेको देखिएको छ।

लाखौँ खर्चेका क्वारेन्टिन अहिले छैनन्

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले गत वर्ष दुई लाख १८ हजार ७३२ खर्च गरेर क्वारेन्टिन निर्माण गरेको थियो। हेल्थ डेस्क सञ्चालनमा समेत नगरपालिकाले लाखौँ रकम खर्च गरेको थियो। अहिले कार्यालय परिसरको हेल्थ डेस्कबाहेक कुनै संरचना पुनः सञ्चालनमा आउन सकेका छैनन्।

महामारीको जोखिम बढ्दै जाँदा हेल्थ डेस्कहरू राख्नेबारे नगरपालिकामा छलफल हुने नगरपालिकाका जनस्वास्थ अधिकृत पवनकुमार लामाले बताए।

मानेभञ्ज्याङ गाउँपालिकाले गत वर्ष दुई लाख ९१ हजार ८५० खर्च गरेर हेल्थ डेस्क र क्वारेन्टिन निर्माण गरेको थियो। हाल कुनै संरचना सञ्चालनमा छैनन्। सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको प्रवेशद्वारमा पर्ने टोक्सेल हर्कपुरमा नवप्रवेशीहरूको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क, होल्डिङ सेन्टर राखिएको भए पनि अहिले बिद्यालयमा अर्को भवन बनाउन थालेका कारण त्यो सञ्चालनमा नरहेको गाउँपालिकाका प्रमुख मोतीराज राईले बताए।

जोखिम बढ्यो भने आवश्यक तयारी अपनाउने योजना रहेको उनको भनाई छ। विश्वमा महामारीका रूपमा फैलिएको सङ्क्रमण रोक्न सरकारको प्रयासले मात्रै नपुग्न से भएकाले सबैले सतर्कतामा जोड दिनुपर्ने देखिएको बताउँदै मानेभञ्ज्याङलाई सङ्क्रमणबाट बचाउन सक्दो प्रयास गरिरहेको उनले बताए।

त्यस्तै, गत वर्ष क्वारेन्टिन निर्माणमा सात लाख ८९ हजार ९१ खर्च गरेको खिजीदेम्बा गाउँपालिकामा पनि कुनै संरचना सञ्चालनमा छैनन्। केही पुराना सामग्री मौज्दात रहेकाले जोखिम बढेको अवस्थामा पुनः सुरक्षा सतर्कताका संरचना निर्माण गरेर सेवा दिन सकिने अवस्था रहेको गाउँपालिका प्रमुख बेदबहादुर रोकाको भनाइ छ।

गत वर्ष नै आफूहरुले दीर्घकालीनरूपमा काम लाग्ने सामग्री खरिद गरेर राखेका कारण  विगतमा जस्तो समस्या नआउने उनको भनाइ छ। कोभिड अस्पताल, ल्याबसहितका अन्य संरचना पनि थप गरेकाले स्थानीयतहमा पूर्वतयारीका अन्य विकल्प अपनाउन समय नलाग्ने प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको भनाइ छ।

नाम मात्रैका कोभिड अस्पताल

जिल्लामा हाल सञ्चालनमा रहेका कोभिड अस्पताल पनि नाम मात्रैका अस्पतालको रूपमा रहेका छन्। केहीमा चिकित्सक अभाव छ भने केहीमा स्रोत र साधनको अभाव रहेको छ।

जिल्लाको मानेभञ्ज्याङमा यही समस्या रहेको छ, गाउँपालिकाले यसअघि स्थापना गरेको कोभिड अस्पतालमा अहिले एक नर्सको मात्रै दरबन्दी रहेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए। सामान्य उपचार मात्र सम्भव रहेको अस्पतालमा जटिल बिरामीका लागि उपचारको प्रबन्ध नरहेको उनको भनाइ छ। सबै कुराको प्रबन्ध मिलाउन अहिले समस्या रहेको र पालिकाले बजेट पनि सबै कार्यक्रमका लागि भन्दै बाँडफाँट गरिसकेको कारण समस्या रहेको राईले बताए।

त्यस्तै, मोलुङमा पनि समस्या उस्तै रहेको मोलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेदहरि दाहालले बताए। गाउँपालिकाले वडा नं २ रामपुरमा रहेको रामपुर स्वास्थ्यचौकीबाटै कोरोनाको बिरामीको उपचार गर्ने गरेको भए पनि हाल कोरोना अस्पतालमा बिरामी नरहेको बताए।

गाउँपालिकामा हाल २४ जना कोरोना संक्रमित रहेको भए पनि एक जनाबाहेक अरु सबै होम आइसोलेसनमा रहेको उनले बताए। सङ्क्रमण फेरि फैलिएर अवस्था जटिल सिर्जना भएमा हुने अवस्था आएमा थप व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मणिराज राईको भनाइ छ।

चम्पादेवी गाउँपालिकामा पाँच शय्याको अस्पतालमा एकजना एमबिबीएस चिकित्सकसहित दुई दरबन्दीमा छन्, तर पनि कोभिडका सामान्य बिरामीको मात्र उपचार सम्भव रहेको छ। जटिल समस्या भएका कोरोनाका सङ्क्रमित भएमा अक्सिजन दिने व्यवस्था यहाँ पनि रहेको गाउँपालिकाका अध्यक्ष नवराज केसीको भनाइ छ।

त्यस्तै, चिसङ्खुगडी गाउँपालिकामा मानेभञ्ज्याङ गाउँपालिकाकै जस्तो हविगत रहेको छ तयहा पनि कोरोना अस्पतालमा चिकित्सक छैनन्। चिसङ्खुगडीमा अस्पताल र उपकरण सबै तयारी अवस्थामा रहे पनि चिकित्सकको दरबन्दी नै नभएका कारण झन नै समस्या रहेको छ। अस्पतालमा हाल दुई स्टाफ नर्स दरबन्दीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए।

जिल्लाका केही स्थानीय तह भने तयारीलाई चुस्त बनाउनतर्फ जुटेका छन्। जिल्लाको लिखु गाउँपालिका र सुनकोशी गाउँपालिकाले अस्पताल, औषधि, उपकरण र स्वास्थ्य सामग्री महामारीका सुरुवाती अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको जनाएका छन्। यद्यपि सङ्क्रमण फैलँदै गएमा नियन्त्रणका लागि आफूहरूको स्रोत साधनले नभ्याउने गाउँपालिकाले जानएका छन्।

कोरोनाबाट बच्ने बारे नागरिकमा हालका लागि सचेतना फैलाउने काम जारी रहेको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए।

खिजिदेम्बा गाउँपालिकाले कोरोना सङ्क्रमण फैलिएको खण्डमा उतिबेलै तयारी गर्न समस्या हुने भएकाले सुरुवाती अवस्थालाई नियन्त्रणका लागि अस्पताल, चिकित्सक, औषधि, उपकरणलगायतका कुरा चुस्त राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल बताउँछन्।

सिद्धिचरण नगरपालिकामा पनि तयारी देखिएको छैन। हाल नगरपालिकामा सबैभन्दा बढी संक्रमण भई रहेको अवस्थामा अधिकाँश संक्रमितहरु होम आइसुलेसनमा रहेका छन्।

नगरपालिकामा क्वारेन्टिन, आइसोलेशन निर्माणका सामग्री, औषधि, उपकरण, स्वास्थ सामग्री र स्वास्थ सुरक्षाका सामग्री अघिल्लो वर्षकै केही मौज्दात रहेकाले महामारी फैलिएको खण्डमा नियन्त्रणमा समस्या नहुने नगरपालिकाले आकलन गरेको जनाएको छ। महामारी नियन्त्रणबारे हालसम्म कुनै ठोस रूपले निर्णय नभएको नगरपालिका उपप्रमुख ईच्छाकुमारी गुरुङले बताइन्।

जिल्लाको सिद्धिचरण नगरपालिकामा जिल्ल अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल रहेका र सबै तहमा एक–एकवटा अस्पताल सञ्चालनमा रहेका भए पनि कतिपय सथानीय तहले डाक्टर नै नभेटेका कारण अस्पताल नाम मात्रका अस्पताल भएका छन्।

स्थानीय तह आइसोलेसन बनाउँदै

कतिपय स्थानीय तह आइसोलेसन तयार गर्न लागेका छन्। ओखलढुङ्गामा शुक्रबार सम्म कोरोनाका सक्रिय सङ्क्रमित २१२ बढी रहेका छन्। कोरोना परीक्षण गर्ने क्रममा हाल दैनिक नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। कोरोना परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी स्थानीय तहमा सरेकाले सङ्क्रमण नियन्त्रण, सङ्क्रमितको स्वाब सङ्कलन, परीक्षण र उपचारमा पालिकाको मुख्य जिम्मेवारी रहने उनको भनाइ छ।

एकैपटक धेरैको सङ्ख्यामा सङ्क्रमित भएमा व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताए ।

यस्तो अवस्थामा स्थानीयतहले पनि कोरोना नियन्त्रण र रोकथामका लागि तयारी हुनुपर्ने सरोकारवाला बताउँछन्। पालिकाले भने स्रोतसाधनको अभावमा तयारी थाल्न समस्या हुने गरेको बताउँदै आएका छन्।

हाल जिल्लामा लिखु गाउँपालिका केन्द्र  यसममा १० बेडको क्वारेन्टिन र ५ बेडको आइसोलेसन अक्सिजनसहित, सुनकोशीले गाउँपालिकाको च्यानममा रहेको स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटरको समेत व्यवस्थापन गरेर सुविधायुक्त आइसोलेसन तयार गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.