|

मिलन लम्साल 

राजनीतिमा रुचि राख्ने एक मित्र धेरै पढेका र धेरै विषयमा दक्खल राख्थे। तर, हरेक वर्ष दल परिवर्तन गरिरहन्थे।

कुनै स्थायी पेसा नभएका ती मित्रको हरेक वर्ष पत्रिकामा एक दल परिवर्तन गरी अर्को दल प्रवेश गरेको माला र अबिरसहित रङ्‌गिएको फोटो आइरहन्थ्यो।

एकदिन तिनीसँग भेट भयो। दल परिवर्तन गरिरहनुको कारण सोधेँ। उनले 'यसबारेमा बेग्लै कुरो छ, मेरो डायरीमा छ, किताब निकाल्दै छु, त्यसपछि थाहा पाइहाल्नु हुन्छ' भने।

मलाई कौतूहल भयो। अहिले नै थाहा पाउन औडाहा चल्यो।

केही गर्दा पनि मित्र गलेनन्। आफू नपिउने भएपनि मदिराका साथै पुस्तक निकाल्दा सहयोग गर्ने वाचा गरेपछि रहस्य भन्न तयार भए।

नजिकै सेकुवा पसलमा गएर एकान्त टेबलमा बसियो। अब उनले डायरीमा भएको रहस्यको पोको खोल्न थाले :

'हेर्नुस् साथी! कलेजमा अध्ययन गर्दा जानी नजानी विद्यार्थी राजनीतिमा होमिएँ। त्यसपछि नेताहरूसँग सङ्‌गत गर्ने मौकाले डुलिखाने पेसा नै राजनीतिलाई बनाएँ।

एक नेताको लागि म अति नै प्रिय थिएँ। ती नेता खुला राजनीतिमा आउनुभन्दा अघि धेरै संवेदनशील र जनताको समस्यामा चिन्तित थिए। अध्ययन पनि गर्थे होलान्। उनको घरमा पुस्तकहरूको ठेली देख्थेँ।

त्यतिबेला शब्दकोषहरू, चाणक्य नीति, सिद्धान्तका फाइलहरू इत्यादि नभएको नेताको घर नै थिएन। साथै, तिनीहरू सिद्धान्तनिष्ठ र स्वाभिमानी पनि थिए।

जब खुला राजनीतिमा आए-मैले ती नेतासँग झन्‌ नजिक भएर काम गर्ने मौका पाएँ। बिस्तारै उनको स्वभाव र दिनचर्या परिवर्तन हुँदै गएको महसुस गर्न थालेँ।

अब उनका घरमा भएको किताबमा धुलो लाग्न थाल्यो, सिद्धान्तका फाइलहरू दराजमा थन्किन थाले।

'यो के गर्नु भएको?' भनी सोध्ने गर्थेँ।

'कहाँ अब चाणक्य नीतितिर शब्दकोषको राजनीतिको परिभाषा लिएर अघि बढ्न सकिन्छ? सिद्धान्तमा अडिन र साथै लागू गर्न नसकिने रहेछ,' भन्न थाले।

उनको कुरा बुझेँ, अनि यिनले अब लत्तो छोडेछन् भनी अर्को दलमा प्रवेश गरेँ। त्यहाँ पनि उस्तै हविगत देखेँ।'

ती मित्र बोल्दै गए :

'बुझ्नु भो! नेताहरूको बुद्धि, ज्ञान अनि जनताप्रति उनीहरूको लगाव अध्ययन गरी बुझ्नका निम्ति मैले दल परिवर्तन गरिरहने निधो गरेँ।'

जुन दलमा जान्थेँ- त्यहाँ नेताहरू विभिन्न देश अनि विभिन्न समूहसँग नजिक भएको देख्थेँ। दूतावास नछिरेका कुनै नेता भेटिनँ। जुन नेताको घरमा गएपनि नेताजी विदेशीसँग फोनमा झुन्डिएको देख्थे।

शुरू-शुरूमा देखेको इमानदार कार्यकर्ताहरू खुला राजनीतिपछि केही समय नेताज्यूको कोठामा देखिँदै थिए।

जुन दलमा गए इमान्दार कार्यकर्तापछि पर्दै गएको देखेँ। हामी दल बदलेर नेताको कोठामा प्रवेश गर्न थालेपछि इमानदार कार्यकर्ताहरू आँगनमा हुत्तिए।

​नयाँ प्रवेशीहरू हामी जस्ता र केही स्वार्थी कार्यकर्ताहरूको झुण्डभित्र हुन्थ्यो, अनि इमानदार कार्यकर्ताहरू गेटभन्दा बाहिर नै हुन थाले।

पार्टी अदलबदल गर्दै गएपछि नेताहरूको वास्तविकता बुझ्दै गएँ। जब म दल हेरफेर गरी नेता भेटन पुग्थेँ-त्यहाँ उनको बैठक कोठामा माफियाहरू, स्वार्थी समूहको आधिपत्य हुन थालेको देखेँ। अब इमानदार कार्यकर्ताहरू ती नेताहरूको घर वरिपरि देखा पर्नै छोडे।

ती इमानदार कार्यकर्ता दलको प्रशिक्षणमा पनि सबैभन्दा पछि बस्थे। त्यो पनि भाग्यले प्रशिक्षण लिन पाउँथे। झन्‌, आमसभामा उनीहरूको कुनै स्थान हुँदैनथ्यो। यसैगरी दल परिवर्तन गर्दै बुझ्दै गएँ। सबैमा एउटै वस्तुस्थिति अनि एकै समस्या देखेँ।

भोका नाङ्गा जनताका कुरा, समाजवाद, आधारभूत आवश्यकताका कुरा नेताको गोजीमा थन्किन थाले। नेताहरू भाषणमा सिद्धान्तनिष्ठ कुरा गर्ने, कार्यकर्तालाई प्रशिक्षण दिँदा जुरुक्क उचाल्थे, अनि आमसभामा भाषण गर्दा तालीको गड्गडाहट पाइरहन्थे।

म छक्क पर्थेँ। एक दिन एक नेतालाई 'तपाईंहरूको भनाइ र गराइमा किन अन्तर?' भनी सोधेँ।

उनी केही बोलेनन्। मैले नै जिद्दी गरेँ। आज थाहा नपाइ जान्नँ भनेँ।

अनि ती नेता जुरुक्क उठेर चाणक्य नीति र शब्दकोष लिएर आए। अनि भन्न थाले, 'सिद्धान्तको फाइल दराजमा थन्क्याइसकेको छु, त्यो निकाल्दिनँ, बुझ्नुभयो।'

उनले चाणक्य नीतिको राजनीतिबारे लेखेको कुरा र शब्दकोषको राजनीतिबारे दिएको परिभाषा देखाउँदै 'लु पढ्नु' भनी मलाई किताब हुत्याइदिए । मैले फरर पढेँ, अनि व्याख्या पनि गरिदिएँ ।

ती नेताले झर्किएजस्तो गरी भने' 'यो मैले केही बुझिनँ, बुझेर काम गर्न थाल्यो भने कार्यकर्ताले कहाँ टेर्छन् र!'

अनि उनले मोबाइल खोले। सिनेमाका राजनीतिसम्बन्धी विभिन्न भिडियोहरू राखेका रहेछन्। कसरी सत्ता हासिल गर्ने, कसरी कार्यकर्तालाई अन्धभक्त बनाउने, कसरी जनतालाई भुलाउने र झुलाउने, सतरन्जको चाल कसरी चाल्ने, बेइमान नेताहरूका कुटिल चालको सम्वादहरूले ती नेताको मेमोरी कार्ड भरिएको रहेछ।

'यहाँ हर्नुहोस्!' राजनीतिको परिभाषा एक भिडियो देखाउँदै भने।

यसो हेरेँ। एक बेइमान नेताले राक्षसी राजनीति तिकडम गर्ने संवाद बोलेका रहेछन्‌।

'अब चाणक्य नीति र शब्दकोषको राजनीतिको परिभाषा, अनि सिद्धान्तको के काम छ? न कार्यकर्तालाई भक्त बनाउन सकिन्छ, न जनतालाई मूर्ख, बुझ्नु भो!' भनी नेता कड्किए।

म चुप भएर केही नबोली त्यहाँ बाट बाहिर निस्किएँ।'

यति भनेपछि ती मित्रलाई रक्सीको मात धेरै लागेछ कि क्या हो! अब मेरो डायरीको रहस्य यही हो भनेर जुरुक्क उठे।

यसरी ती दल बदली रहने नेता मित्रको डायरीको रहस्यको पोको खुलेको बिल तिरी म चाहिँ आफ्नो बाटो लागेँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.