|

म्याग्दी : कोरोना कहर र निषेधाज्ञा झेल्दै म्याग्दीमा विकास निर्माणका काम अघि बढाइएको छ। जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामीण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माणका काम धमाधम भैरहेका छन्।

कोरोना संक्रमणको जोखिम उच्च रहेकै समय भएपनि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे शुरू भएको छ। 

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा न. १ बेगखोला जोड्ने सडक आइतबारदेखि कालोपत्रे गर्न थालिएको हो।

यो सडक गत वर्ष नै कालोपत्रे गर्ने लक्ष्य भएपनि कोरोना र बन्दाबन्दीका कारण काम रोकिएको थियो। सडकका धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्रे गर्न प्राइम (बिटुमिन) बिछ्याउन शुरू गरेको हो।

कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटोदेखि गलेश्वरतर्फ प्राइम कोड हालेर कालोपत्रेको काम शुरू गरेको बताए। मौसमले साथ दिएमा गलेश्वरदेखि बेगखोला सम्मको ८ किलोमिटरमध्ये ६ किलोमिटर जेठ महिनाभित्र कालोपत्रे गरिसक्ने उनको भनाई छ। 

त्यसैगरी पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण कार्य पनि धमाधम भैरहेको छ। लुम्बिनी प्राकृतिक जेभीले ११ करोड रुपैयाँमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पुरा गर्ने लक्ष्य रहेको सब इन्जिनियर सविनकुमार शाक्यले बताए।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको बताइएको छ। सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ।

त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, निलगिरि, घारखोला, मङ्गले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन्।

विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ। पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग मिलेको छ।

यता म्याग्दीको बेनी नगरपालिका-२, बगरफाँटका युवाहरू भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन्। खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ बराबरको कामको ठेक्का लिएर गाउँका ८ जना युवाहरू सडक मर्मतमा जुटेका हुन्।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल,विकास कुवँर, कृष्ण पोख्रेल लगायत युवाहरूले अहिले धमाधम खहरे खोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका-२ का वडासदस्य चन्द्रबहादुर कुँवरले जानकारी दिए।

वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बेनी नगरपालिकाको ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पुर्‍याएपछि सोही सडकको मर्मत कार्यमा युवाहरू जुटेका हुन्।

बन्दावन्दीको समयमा घरमा विना काम बस्नुभन्दा युवाहरूले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकोले सडक मर्मतको जिम्मा स्थानीय युवाहरूलाई नै दिइएको उनले बताए।

बाहिरबाट मजदुर ल्याएर काममा लगाउँदा कोरोना संक्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवाहरू पनि बेरोजगार बस्नु पर्ने भएकाले गाउँकै युवाहरूलाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताए।

अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याबिन जाली भर्नुका साथै स्काभेटर प्रयोग गरी खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडक मर्मत तथा सरसफाइ गरिनेछ। 

स्थानीय तहले पनि गत वर्ष कोरोनाले रोकिएका काम यस वर्ष शुरू गरेका छन्। गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन्। तर, जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ।

म्याग्दीको पूर्वाधार विकास आयोजनालाई कोरोना महामारी र निषेधाज्ञाको असर पर्न दिइएको छैन। निषेधाज्ञा भएका क्षेत्रमा पनि विकास आयोजना निर्माणको काम धमाधम भइरहेका छन्।

निर्माण सामग्री, उपकरणको व्यवस्थापन गरी सतर्कता अपनाएर विकास आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण व्यवसायीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.