|

धनगढी : कोरोना संक्रमणको उपचारमा खटिएका धनगढीका अहेब भरतनाथ योगी वैशाख २ गते बिरामी परे। धनगढी उपमहानगरपालिका–७ बेलीका अहेब भरतको वैशाख ३१ गते कोरोनाको रिपोर्ट पोजेटिभ पुष्टि भयो। 

वैशाख ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भए। उनलाई प्रादेशिक अस्पतालको कोभिड वार्डमा राखेर उपचार थालिएको थियो। डेढ हप्तादेखि कोरोना भाइरसविरुद्ध लडिरहेका भरतको शनिबार बिहान रिपोर्ट नेगेटिभ आएपछि परिवार तथा आफन्तजन निकै खुसी भए तर उनीहरुको खुसी २४ घण्टा पनि टिक्न सकेन।

४४ वर्षीय भरतको शनिबार राति १२ बजे मृत्यु भयो। शनिबार बिहान कोरोना रिपोर्ट नेगेटिभ आएका भरतको मृत्युको खबरले एकाएक परिवारजनमा रूवाबासी छायो। 

युरेसिया रेयुकाई समाज बिकास केन्द्र शिवुच्चोका अध्यक्ष समेत रहेका योगी कोभिड–१९ को समयमा फ्रन्टलाइनमा खटिएर अरुको ज्यान जोगाउन सक्रिय थिए। दोस्रो लहरको कोरोना फैलिएसँगै भरत निरन्तर उपचारमा खटिएका थिए। धनगढी बजार भन्दा अलि टाढा रहेको बेलीमा उनको मेडिकल छ। त्यहाँ ग्रामिण क्षेत्रका नागरिकहरु उपचार गर्न पुग्थे।

ग्रामीण क्षेत्रमा कोभिड परीक्षण गर्ने सहज पहुँच कहाँ पाउनु ? ज्वरो, रुघा खोकी लागेको धेरै स्थानीयहरु भरतको मेडिकलमा जाँच गराइ औषधी लिएर जाने गर्थे।
‘कोरोना संक्रमण फैलिएकै बेला पटक बाजुरा समेत पुगेका हुन्।’

उनका भाइ लोक नाथले भने, ‘अरुको उपचार गर्दागर्दै आफूमा कोरोना संक्रमण भएको दाइले थाहै पाएनन्। जसले गर्दा आज यो परिस्थित आयो।’ बजार भन्दा अलि बाहिरको क्षेत्र भएकाले स्वास्थ्यका मापदण्डमा व्यक्तिहरुले खासै ख्याल नगर्ने गरेको लोकनाथ बताउँछन्। 

‘मेडिकलमा काम गर्दा ख्याल गर्नु भनिरहेका थियौँ’, लोकनाथले भने ‘एक्कासि दुई दिनसम्म खाना नै नखाएपछि धनगढीको एक निजी मेडिकलमा अक्सिजन लेभल चेक गर्दा ६७ देखाएपछि सेतीमा भर्ना गराएको हो।’

भाइ लोकनाथका अनुसार भरत आफैँ मोटरसाइकल चलाएर अक्सिजन लेभल चेक गर्न धनगढी आएका थिए। उनलाई कडा खालको निमोनियाँले आक्रमण गरिसकेको हुँदा कोरोना रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको उपचारमा संलग्न डाक्टर निराजनदत्त शर्माले बताए। 

‘उहाँमा निमोनिया कडा खालको थियो। कोरोना रिपोर्ट नेगेटिभ–पोजेटिभ सरोकार भएन्। उहाँमा कोरोना थियो भन्ने कुरा बुझ्नु पर्यो’ उनले भने  ‘अहिले पनि कोरोना रिपोर्ट नेगेटिभ भएर आएका ४ जना सेतीको अस्पतालको आइसियुमा जीवन मरणसँग जुधिरहनु भएको छ।’ 

शरीरमा कोरोना भाइरस छिरिसकेपछि निमोनिया भइसकेको व्यक्तिलाई बचाउने भनेको अक्सिजन मात्र रहेको डा.शर्माले बताए। निमोनिया भएका व्यक्तिहरुले एकदम ख्याल गर्नुपर्ने उनको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.