महामारी नियन्त्रणमा लिनै कठिन

|

म्याग्दी : कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरू गरेका कारण कोरोनाको संक्रमण जिल्लाका बस्ती-बस्तीमा फैलिएको छ।

सदरमुकाम बेनी हुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाले म्याग्देली जनतालाई त्रसित बनाइरहेको छ।

वैशाखको दोस्रो सातासम्म 'पर्ख र हेर'को अवस्थामा रहेका यहाँका स्थानीय तहले तेस्रो सातादेखि कोरोना संक्रमणको नियन्त्रणका लागि काम शुरू गर्दा धेरै ढिला भैसकेको थियो। त्यति बेलासम्म नयाँ भेरियन्टयुक्त कोरोनाको दोस्रो लहर सदरमुकाम बेनीबजारलाई छिचोल्दै ग्रामिण भेगसम्म फैलिइसकेको थियो।

शहरबाट गाउँ फर्कने व्यक्ति, विवाह, धार्मिक कार्य र मृत्यु संस्कार आदिलाई माध्यम बनाएर कोरोना गाउँ बस्तीमा प्रवेश गरिसकेपछि बल्ल यहाँका जनप्रतिनिधि र सरोकारवालाहरू जुर्मुराएका थिए।

जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब संकलन, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमतिको भेटघाट र औषधी वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा थाले।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा ब्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन्। बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलन गरिरहेको छ भने बिरामीको उपचारमा मेयरले दिएको दुई निजी सवारीसाधन, भाडा र नगरपालिकाको स्वामित्वमा रहेको गाडी समेत प्रयोग गरेको छ। 

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। कोरोनाको सबैभन्दा बढी संक्रमति नगरपालिका भित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाई छ।

होम आइसोलेसनमा बसेका संक्रमतिलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मी सहितको टोली समेत परिचालन गरिएको थियो। नगरपालिकाले बेनी अस्पतालमा आइसोलेसन कक्ष बनाउन समेत ७ लाखको हाराहारीमा सहयोग गरेकाले समेत होम आइसोलेसनमा सिकिस्त भएका संक्रमतिलाई अस्पतलामा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले वडास्तरमा स्वाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निशुल्क एम्बुलेन्स, संक्रमतिको अवस्था बुझ्न स्वास्थ्यकर्मी सहितको टोली घरघरमा समेत पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए। 

उता, मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब संकलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरू गरिरहेको छ। हरेक वडाका संक्रमतिको अवस्था बुझ्न र  जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाले जनाएको छ। 

कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट समेत सहयोग जुटेको छ भने जनप्रतिनिधि समेत निरन्तर खटेका छन्। 

त्यस्तै, धवलागिरि गाउँपालिकाले समेत संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ। सबैभन्दा जोखिम रहेको वडा नम्बर २, लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सक सहित जनप्रतिनिधिको टोली पुगेको छ। अन्य वडामा समेत लक्षण देखिनासाथ स्वाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ। 

रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षण सहित संक्रमतिलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेर उपचार गरिरहेको छ। त्यहाँ संक्रमतिको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगंगा जलविद्युत आयोजनामार्फत  व्यवस्थापन गरी ४० सिलिन्डर तयारी अवस्थामा राखेको छ। त्यस्तै गाउँपालिका भित्रका सबै वडामा पुगेर संक्रमतिको अवस्था बुझ्ने, निशुल्क औषधी वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

‘हरेक संक्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ, ‘समुदायस्तरमै पुगेर धेरै काम समेत भएका छन्, समुदायले संक्रमतिलाई निशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ’ सुवेदीले भने। 

उता, उत्तरी म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले समेत अस्थायी कोरोना अस्पतालाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने संक्रमतिको पहिचान, उपचार तथा मृत्यु भएमा शब व्यवस्थापनमा गाउँपालिकाले व्यवस्थित बनाएको छ।

कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समेत समन्वय गर्ने तथा संकास्पद बिरामीलाई तत्कालै स्वाब संकलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन्। कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भएपनि यस वर्ष कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले समेत संक्रमण फैलिन नदिन र संक्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो।

यसवर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्वाब संकलन, सङक्रमितलाई आइसोलेशन तथा अस्पतालमै पुर्‍याउने, कन्ट्याक्ट ट्रेसिङमा गरेकालाई समेत होम आइसोलेसनमा राख्नका लागि टोलबासीसँग समन्वय कार्य भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

यसपटक स्थानीय तहको तयारी लोभलाग्दो रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रजिअ गणेशबहादुर अधिकारीले बताए। प्रजिअ अधिकारीले संक्रमतिको ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टमा स्थानीय तहको सक्रियताबाट उत्साहित रहेको बताए। ’कतै कमीकमजोरी भए तत्काल सुधारका लागि अनुरोध गर्ने गरेका छौ, ‘जनप्रतिनिधि कोभिड नियन्त्रणमै होमिनुभएको छ,’ प्रजिअ अधिकारीले भने।

विभिन्न जिल्लाबाट सदरमुकाम बेनी प्रवेश गर्नेलाई लक्षित गरी तयार गरिएको होल्डिङ सेन्टरबाट स्थानीय तहमा पुगेकालाई समेत निगरानीमा यसपटक धेरै चासो दिइएको छ। म्याग्दीका स्थानीय तहले स्वाब संकलनलाई तिब्रता दिएकाले समेत गण्डकी प्रदेशमा धेरै स्वाब संकलन हुने जिल्लाभित्र समेत म्याग्दी पर्ने गरेको छ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या १४ सय जना पुगेको छ। ४०९ जना सक्रिय संक्रमित रहेका छन। अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.