|

बर्दिया : कोरोना नियन्त्रण गर्न भन्दै यतिखेर बर्दिया जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ। सडकमा अनावश्यक निस्किएका स्थानीयलाई प्रहरीले कारबाही गर्छ।

शहर-बजार अनि गाउँ-घर सबैतिर सुनसान लाग्छ। तर, कोभिड अस्पतालमा संक्रमित र उनीहरूका आफन्तको भिड लाग्ने गरेको छ। गाउँको बीचमा रहेका एक-दुई  तलाको घरलाई नै कोभिड अस्पताल बनाइएको छ।

संक्रमित र उनीहरूका कुरुवा/आफन्त त छँदैछन्, उनीहरूका लागि घरबाट खाना लिएर अन्य सदस्य दिनको २ भन्दा धेरैपटक कोभिड अस्पताल पुग्थे। यो दैनिकजसो चलिरहन्थ्यो।

दैनन्दिन संक्रमितकहाँ नै पुग्ने गर्दा संक्रमण घरसम्म पुग्ने र त्यसले समुदायस्तरमा पनि संक्रमण जोखिम बढाउने जोखिम हुने महसुस गरेपछि गाउँका केही युवाहरूले पालिकाका प्रमुखहरूलाई प्रश्न गरे, 'नगरप्रमुख ज्यु! संक्रमितको परिवारका सदस्य दैनिकजसो यसरी कोभिड अस्पतालमा ओहोरदोहोर गर्दा महामारी समुदायस्तरमै व्यापक रूपमा फैलिने त होइन?'

पालिकाका प्रमुखले यो विषयलाई मनन गरे। अर्को दिन नगरपालिकाको बैठकमा यो विषयमा छलफल गर्‍यो। युवाहरू आफू स्वतस्फूर्त रूपमा खाना पकाएर खुवाउन तयार भएको बताएपछि पालिकाले खाद्यान्नको जोहो गरिदियो। युवाहरूले कोरोनाका बिरामीहरूलाई खाना पकाएर खुवाउन थाले। अहिले केही समाजसेवीहरूले खाद्यान्न पनि सहयोग गरिरहेका छन्।

बिरामीका आफन्त अब दैनिकजसो खाना लिएर अस्पताल पुग्नुपर्दैन। समाजसेवी युवाहरूले नै त्यो सबैको जिम्मा लिएका छन्। अहिले यो अभियानमा पालिकाका एक दर्जन जति युवाहरू जोडिएका छन्।

जोखिम मोलेरै भएपनि उनीहरूले बिरामीको सेवा गरिरहेका छन्। ठाकुरबाबा नगरपालिका-२ को रानीपुर अस्थायी कोभिड अस्पतालमा कोभिडका बिरामी तथा बिरामीका कुरुवालाई नगरका युवाहरूले निःशुल्क खाना खुवाइरहेका छन्।

गएको हप्ताबाटै युवाहरूले नि:शुल्क खाना खुवाउने अभियान शुरू गरेका हुन। अहिले ठाकुरबाबाका समाजसेवी युवाहरू शुभम् भण्डारी, कुमार खड्का, आर्जन रिजाल, दिलीप लम्साल, जेनिस थापा, दिनेश शर्मा, जिवन रिजाल, महेन्द्र पंगेनी, लक्ष्मीकान्त शर्मा लगायत समाजसेवी युवाहरूले बिरामी तथा तिनका कुरुवालाई आफैले खाना पकाएर खुवाइरहेका छन्। 

कोही भान्छामा खाना पकाउन खटिएका छन् भने कोही खाद्यान्न जोहो गर्न लागिपरेका छन्। समाजसेवी लक्ष्मीकान्त शर्माले भने आफ्नै गाडी प्रयोग गरेर निको भएका बिरामीहरूलाई घरसम्म छोड्न सहयोग गरिरहेका छन्। यस्तै, बिरामी भएकाहरूलाई उनी अस्पतालसम्म पनि पुर्‍याइदिन्छन्।

अस्पतालमा बिरामी तथा कुरुवाहरूलाई खाना पुर्‍याउन घरका अन्य सदस्यहरू अस्पताल पुग्ने त्यसले उनीहरू घरसम्म संक्रमण लिएर जाने जोखिम बढेपछि जोखिम घटाउन यो अभियानमा जुटेको अभियानका युवा कुमार खड्काले जानकारी दिए। 

बिरामीका अन्य सदस्यहरूलाई अस्पताल पुग्नबाट रोकेर अहिले आफूहरूले नै खानाको सबै व्यवस्था गरिरहेको अभियानका युवा दिलीप लम्सालले बताए।

अहिले कोरोनाको लक्षण सहितका बिरामीहरू अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने कतिपय बिरामीहरू अस्पतालमा बेड र अक्सिजन नपाएर बाहिर छट्पटाइरहेका छन् भने कतिपय ज्यान गुमाउन बाध्य छन। यो विषम परिस्थितिमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। यो अवस्थामा होटल व्यवसायहरू बन्द अवस्थामा रहेका छन।

उता, मधुवनको कोभिड अस्थायी कोभिड अस्पतालमा विकास प्रेमी युवा समूह मधुवन नगर कमिटीले कोरोना संक्रमित बिरामी र कुरुवालाई निःशुल्क खाना खुवाउन शुरू गरेको छ। बिरामी कुरुवालाई संक्रमित बिरामीलाई खाना खुवाउन असहज भएपछि कोरोना संक्रमित बिरामी र कुरुवालाई कमिटीले नि:शुल्क खाना खुवाउने प्रबन्ध मिलाएको हो।

कोरोना महामारीका कारण निम्तिएको जटिलतामा कोरोना संक्रमित बिरामी र कुरुवालाई नि:शुल्क खाना खुवाउन शुरूगरिएको विकास प्रेमी युवा समूह जिल्ला समन्वय समिती संयोजक समीप लम्सालले जानकारी दिए। कोरोना भाइरसको महामारीमा जीवन रक्षाका लागी प्रत्येक दिन बिहान र बेलुका संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका नि:शुल्क खाना खुवाउने कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए।

यो अभियान अहिले जिल्लाभरी नै शुरू भएको छ। हरेक पालिकाका युवाहरूले कारोना संक्रमित र तिनका कुरुवाहरूलाई खानाको जोहो गर्ने गरेका छन्। यसमा पालिकाहरूले पनि सहजीकरण गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.