|

काठमाडौं : पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन्‌।

​आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको खनालले बताएका हुन्‌।

‘उहाँ गद्दार हुनुहुँदो रहेछ, हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन, हामी नयाँ पार्टी खोल्छौँ, प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने, 'अब नयाँ ढंगले नयाँ पार्टी निर्माणमा लाग्नेछौँ।'  

वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले आफूहरूलाई धकेलेर बाहिर निकाल्न खोजेको आरोप लगाएका छन्।

'उहाँले खोजेको भनेकै विदेशीहरूको इसारामा कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो, विभाजन गर्ने हो। उहाँ विदेशीहरूको कठपुतली बन्नुभएको छ। त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ। विदेशीको प्रिय बन्नका लागि कम्युनिष्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ,' उनले भने, 'त्यसो हुनाले क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छँदैछ। कम्युनिष्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा हामी छलफल चलाउँछौँ।'

नेता नेपालले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने  सोच रहेकाे भन्दै कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताए।

यसैगरी, नेता भीम रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन्। समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाएको भन्नु फुटवादको निरन्तरता भएको उनले लेखेका छन्‌।

एमालेका पूर्व प्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहनेगरी संस्थापन (ओली पक्षले) निष्कासन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (सोमबार) बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जिकिर गरेका छन्‌।

​ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्ता अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताएका हुन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.