|

झापा : भद्रपुरस्थित मेची कोभिड उपचार केन्द्रमा उपचाररत सङ्क्रमितको मृत्यु हुनु घटना नौलो होइन।  

तर, संक्रमण पुष्टि नभएका बिरामीलाई कोभिड उपचार केन्द्रमा भर्ना गर्नु र बिरामीको उपचारको क्रममा त्यही मृत्यु हुनु एउटा घटनाले तरङ्ग ल्याएको छ। घटना हो, सोमबार बिहानको। 

मेची कोभिड उपचार केन्द्रमा बुद्धशान्ति गाउँपालिका-२ निवासी ७७ वर्षीय वृद्ध तेजबहादुर लिम्बू र पाँचथरको फिदिम निवासी ३१ वर्षीया महिलाको सङ्क्रमणबाट मृत्यु भयो।

मेचीमा एकै दिन दुई सङ्क्रमितको मृत्यु भएको खबर अस्पताल प्रशासनले पुष्टि गरेपछि समाचार सञ्चारमाध्यमबाट बाहिर आयो। त्यसपछि दुवै सङ्क्रमितको शव व्यवस्थापनका लागि श्री नयाँ श्रीनाथ गण चारआलीको शव व्यवस्थापन टिम कोभिड उपचार केन्द्र आइपुग्यो। 

त्यसअघि वडा प्रहरी कार्यालय भद्रपुरको टोली पनि खटिसकेको थियो। सेना दुवै सङ्क्रमितको शव व्यवस्थापनको लागि तयारीमा जुटे। सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको बेला बुद्धशान्ति गाउँपालिकाका-७७ वर्षीय वृद्ध तेजबहादुर लिम्बूको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको खबर बाहिर आयो। 

कोभिड उपचार केन्द्रमा मृत्यु भएका व्यक्तिको संक्रमणको कारणले मृत्यु नभएको खबर सुनेपछि घटनास्थलमा रहेका श्री नयाँ श्रीनाथ गण चाराआली कर्णेल अमर जङ्ग थापा र वडाका प्रहरी निरीक्षक दलकुमार राई अचम्मित हुँदै अस्पतालको प्रशासन पक्ष र गाउँपालिकाका जनप्रतिनिधिसँग घटनाको विषयमा फोनमार्फत बुझ्न थाले।

सम्बन्धित निकायले पनि वृद्ध लिम्बूको पिसिआर रिपोर्ट नेगेटिभ थियो भन्ने खबर उनीहरूलाई गरायो। 

त्यति जानकारी पाइसकेपछि कोभिड उपचार केन्द्रभित्रै वृद्धको मृत्यु भएका कारणले सेनाको शव व्यवस्थापन टिमले दुवै शवलाई उपचार केन्द्रबाट बाहिर निकाले। त्यसपछि वृद्धको शवलाई गाउँपालिकाले पठाएको निजी भ्यानमा राखेर घरतर्फ पठाइदिए। परिवारजनले पनि पिपिई लगाएर वृद्ध बुबाको धार्मिक परम्पराअनुसार सोमबार बेलुका दाहसंस्कार गरेका उनको छोरा दिलीपले थाहाकर्मीलाई जानकारी गराए।  

यस्तो थियो घटना 

बुद्धशान्ति गाउँपालिका-२ निवासी ७७ वर्षीय वृद्ध लिम्बूको स्वास्थ्यमा समस्या देखिएपछि उनका परिवारजनले जेठ ४ गते उपचारका लागि बिर्तामोड लगेका थिए। त्यसपछि लिम्बूलाई बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालको ओपिडीको पुर्जा कटाएर चिकित्सकलाई देखाए। 

‘चिकित्सकले भर्ना गर्नुपर्छ, तर पिसिआर रिपोर्ट चाहिन्छ भनेपछि औषधि खरिद गरेऔँ, त्यहीबाट पिसिआर परीक्षणका लागि कनकाई नगरपालिकास्थित कोटिहोम पिसिआर ल्याब पुग्याैं, त्यहाँ बुबाको स्वाब दिएर घर फर्कियौँ,’ उनका छोरा दिलीपले भने। 

घर पुगेपछि छिमेकी एमालेका नेता चिन्तन पाठकलाई बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको बताउँदै उनले भने, ‘बुबाको पिसिआर रिपोर्ट आउन केही दिन समय लाग्ने भएकोले तपाईँले यसो बुझेर चाँडो रिपोर्ट मगाइदिनुपर्‍यो भनेर आग्रह गर्‍याैं, ‘उहाँले मेरो र हाम्रो परिवारको आग्रहमा ल्याबका मान्छेसँग बुझ्नुभयो, र भोलिपल्ट जेठ ५ गते बिहानै बुबाको रिपोर्ट पोजेटिभ आयो भनेर उहाँले हामीलाई जानकारी गराउनु भयो,’ उनले बिस्तारमा भने।

उनका अनुसार बुबालाई कोरोना देखेपछि तत्काल बुद्धशान्ति गाउँपालिकाको आइसोलेसनमा लगेर राखिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले बिरामीलाई श्वासप्रश्वास समस्या देखिएको र यहाँ अक्सिजन सिलिन्डर नभएकोले बिरामीलाई मेची अस्पताल लैजान भनी सल्लाह दिएका थिए।

‘त्यसपछि बुबालाई लिएर म आफैं मेची कोभिड उपचार केन्द्र गएँ,' उनले भने, ‘उपचार केन्द्रमा बुबाको कुरुवा भएर म आफैं बसे, त्यहाँ भर्ना गर्ने बेलामा कसैले पिसिआर रिपोर्ट पनि मागेनन्, खाली भएको बेडमा बुबालाई राखेर उपचार थालियो।’

ठूला बुबाको रिपोर्ट पोजेटिभ कि नेगेटिभ त्यसबारे परिवारजनसँग अस्पतालको आधिकारिकपत्र केही नभएको उनी बताउँछन्। छिमेकी पाठक दाजुले पोजेटिभ भनेपछि सरासर ठूलाबुबालाई अस्पताल भर्ना गराएको नाति टेकेन्द्र लिम्बूले जानकारी दिए।

‘६ दिनपछि ठुलो बुबाको उपचारको क्रममा मृत्यु भयो, मृत्यु भएपछि शव व्यवस्थापनका लागि पिसिआर रिपोर्टको खोजी सुरु भयो,’ उनले भने, ‘त्यसपछि परिवारजनले कनकाई ल्याबको पिसिआर रिपोर्ट हेर्दा त्यसमा रिपोर्ट नेगेटिभ देखियो,’ कनकाई ल्याबको जेठ ७ गतेको रिपोर्टमा। 

‘हचुवाको भरमा ठूलाबुबालाई सङ्क्रमितै संक्रमित भएको उपचार केन्द्रमा राखेर उपचार गराइयो,’ उनले भने, ‘यो अस्पताल प्रशासनको लापरबाही हो, पिसिआर रिपोर्टबिना कसरी अस्पतालले भर्ना गरायो ?’ ‘पिसिआर रिपोर्टबिना मेची अस्पतालले बिरामीलाई भर्ना नगराएको भए उहाँको अन्यत्र उपचार गराउन सकिन्थ्यो र उहाँले अकालमै ज्यान गुमाउनु पर्दैन थियो,’ उनले भने। 

यस्तो लापरबाही र गैरजिम्मेवारी कार्य अस्पताल प्रशासनले तुरुन्त बन्द गर्नुपर्ने उनको माग छ।

यस्तो भन्छ अस्पताल प्रशासन 

मेची अस्पतालका मेसु डा पीताम्बर ठाकुरले बुद्धशान्तिको गाउँपालिकाको आइसोलेसनका चिकित्सकले बिरामीलाई संक्रमित भन्दै रेफर गराएकोले कोभिड उपचार केन्द्रमा भर्ना गराएको बताए।

बिरामीको श्वासप्रश्वासमा समस्या देखिएकोले पालिकाको आइसोलेसनमा त्यहाँ अक्सिजन नहुँदा तत्काल बिरामीलाई मेची कोभिड उपचारमा पठाएको उनले बताए। मेसु ठाकुरले भने, ‘पिसिआर रिपोर्ट नेगेटिभ वा पोजेटिभको प्रतीक्षा अस्पतालले गर्दैन, पहिला बिरामीको ज्यान बचाउनेमा चिकित्सक र अस्पताल प्रशासन लाग्छन्, बिरामीको अवस्था पनि कोरोना शंकास्पद जस्तो देखिएको थियो, संक्रमण पुष्टि भएकै हो भनेर हामीले उपचार गराएको हो, यसमा अस्पताल प्रशासन पक्षको केही दोष छैन,’ उनले भने। 

'बिरामीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि उहाँलाई एक दिनअघि नै हामीले यहाँबाट रेफर गर्न खोजेका थियौँ, तर आफन्तजनले एम्बुलेन्समा हालेको बिरामीलाई फेरि लगेर बेडमा लगेर राखे र बिहान उहाँको मृत्यु भयो,' उनले भने।

रिपोर्ट नेगेटिभ भएको सुरुमै थाहा पाएको भए उहाँलाई अस्पतालको आइसियुमा राखेर उपचार गराउन मिल्ने  ठाकुर बताउँछन्। भने, ‘तर पिसिआर रिपोर्ट सेनाले शव व्यवस्थापनका दिन  खोज्दा मात्र नेगेटिभ भन्ने घटना बाहिरियो।’

यस्ता यस्तै समस्याबाट बिरामीलाई बचाउनु छ भने अस्पतालमा बिरामीलाई भर्ना गर्नु बेलामै पिसिआरको रिपोर्ट पनि सँगै ल्याइदिन सबैलाई उनले अपिलसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.