|

पर्सा :  अवैध कारोबारमा रमाउनेहरुको लागि कोरोना महामारीबाट बच्ने बचाउनेभन्दा तस्करी धन्दा नै प्राथमिकतामा पर्ने गरेको पाइएको छ। सीमावर्ती जिल्ला पर्सामा निषेधाज्ञा जारी रहेकै समयमा पटक–पटक अवैध तरिकाले भन्सार छली चोरी पैठारी (तस्करी) गरी नेपाल भित्र्याएका सामान बरामद हुनुले यस्तो पुष्टि गरेको हो।

स्थानीय प्रशासनले गएको वैशाख १६ गतेबाट कोरोना संक्रमणबाट सर्वसाधारणलाई जोगाउन जिल्लामा निशेधाज्ञा जारी गरेको छ। यही समयमा सोमबार पनि पर्सा प्रहरीले भारतबाट चोरी पैठारी गरी अवैध तरिकाले नेपाल भित्र्याएका १ लाख २२ हजार ९० रुपैयाँका सामान बरामद गरेको छ। निषेधाज्ञा सुरु भएयता योभन्दा अगाडि पनि पर्सा प्रहरीले अवैध तरिकाले भारतबाट नेपाल भित्र्याएका ३४ लाख ७ हजार ९ सय ७० रुपैयाँको अवैध सामान बरामद गरिसकेको जनाएको छ।

निषेधाज्ञाकै समयमा चोरीको स्कार्पियोसमेत बरामद

भन्सार छली तस्करी गरिएका सामान मात्र नभई निशेधाकै समयमा पर्सा प्रहरीले चोरीको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले थाहाखबरसँग बताए।

सोमबार बरामद भएका अवैध सामान पनि तस्करी गर्नेहरुले नै ल्याएका सामान भएको उनको भनाइ छ। चोरीको स्कार्पियो गाडी चाहिँ गएको वैशाख २० गते नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। सोही दिन प्रहरीले ६ लाख ९४ हजार ३ सय ५० रुपैयाँको भन्सार छली तस्करी गरी नेपाल भित्र्याएका अवैध सामान पनि बरामद गरेको थियो। ती सबै सामानहरु प्रहरीले नियन्त्रणमा लिएको निशेधाज्ञाकै समयमा हो।

त्यसयता पनि दुई तिन दिनको अन्तरालमा डेड २ लाखका सामान बरामद हुने क्रम खासै रोकिएको छैन पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक खनालले भने। 

महामारीका समयमा पनि गलत क्रियाकलाप गर्नेले आफ्नो गतिविधि गर्न सक्ने प्रहरीले आँकलन गरी चनाखो रहँदा उक्त परिणामको सामान बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

आश्चर्य कुरा त निषेधाज्ञा जारी भएको गत वैशाख महिनामा निषेधाज्ञा जारी नभएको चैत महिनामाभन्दा बढी अवैध सामान पर्सा प्रहरीले बरामद गरेको तथ्यांकले देखाएको छ। गएको चैत महिनामा कुल ६१ लाख ७१ हजार ८ सय ६० रुपैयाँको अवैध सामान प्रहरीले बरामद गरेको थियो।

वैशाख महिनामा झन ६६ लाख ८६ हजार ८ सय ५० रुपैयाँको अवैध ढंगले सीमा कटाइएका सामान बरामद भएको पर्साका प्रहरी प्रहरी नायव उपरीक्षक खनालले बताए। प्रहरीलाई देखेपछि सामान छाडेर कारोबारी भाग्ने हुँदा सबै मानिस भने प्रहरी नियन्त्रणमा पर्न नसकेको प्रहरीले दाबी गरेको छ।

महामारीमा पनि कारोबारीले सिकेनन् सक 

विश्वलाई थचक्क बनाउने महामारीको समयमा पनि अवैध कारोबार गर्नेले अझै सबक नसिकेको प्रहरी नायव उपरीक्षक खनालले तर्क गरे। प्रतिबन्धित लागुऔषध, त्यसका कारोबारी र ढुवानीकर्तासमेत प्रहरीले यो निषेधाज्ञाको समयमा पनि नियन्त्रणमा लिएको छ। यस्ता कार्यले पनि गलत कार्यको निरन्तरता दिने व्यक्तिले जीउज्यान भन्दा आफ्नो गलत कार्यलाई नै प्रश्रय दिने गरेको खुलेको उनको भनाइ छ। 

निषेधाज्ञामा सर्वसाधारण घरमा नै हुन्छन्, सुरक्षाकर्मी पनि कोरोनातर्फ अल्मलिएका छन् भन्ने तस्करहरुले ठान्दा रहेछन्। तर उनीहरुको भूल हो प्रहरी यस्तै समयमा पनि चनाखो भएर आफ्नो कर्तव्यमा लागिराखेको छ। अवैध गतिविधिमा लाग्ने कोही उम्किन नसक्ने पर्सा प्रहरीले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.