विभाग भन्छ : अहिले अक्सिजनको दबाब छैन, सहज रुपमा आपूर्ति भइरहेको छ

|

काठमाडौं : पछिल्लो समय दोस्रो चरणको कोभिड संक्रमण र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

यससँगै,अक्सिजन सिलिन्डरको माग पनि घटेको छ। पहिला बिरामीको चाप बढेकाले अक्सिजन उद्योगमै बिरामी आफन्त लुछाचुँडी गर्थे। तर, यी समस्या हटेको सरकारको दाबी छ।

नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार अहिले व्यक्तिगत रुपमा हुने ८० प्रतिशत अक्सिजन सिलिन्डर माग घटेको छ। ‘पहिला बिरामी आफन्त हाम्रै उद्योगमा आएर लाइनमा बसेर अक्सिजन लाने गर्थे,’ उनले भने, ‘तानातान हुन्थ्यो,अहिले लिन आउँदैनन्, व्यक्तिगत रुपमा आउने ८० प्रतिशत माग घट्यो, २० प्रतिशतचाहिँ अस्पतालमा आपूर्ति भइरहेको छ।’

उनले अहिले अक्सिजन सिलिन्डरको माग सामान्य रहेको बताए। उनका अनुसार अहिले संघबाट दैनिक ८ हजार उत्पादन हुन्छ, यसैले राम्रोसँग माग धानिरहेको छ। भने, ‘सरकारले लिक्विड अक्सिजनको व्यवस्था गरेपछि अहिले सहज बन्दै गएको छ, अहिलेसम्म चाहिँ अक्सिजन नपाएर अकालमा बिरामी ज्यान जाने समस्या हटेको छ।’

उनका अनुसार करिब एक साता अघिसम्म दैनिक १८ देखि २२ हजार अक्सिजन सिलिन्डर माग थियो। जसमा दैनिक ८ देखि ९ हजार सिलिन्डर मात्र उत्पादन हुने गरेको थियो।

सरकारले कमसल अक्सिजन सिलिन्डर ल्याएको बताउँदै यी सिलिन्डर भने पड्किने जोखिम रहेको यसमा सरकारले ध्यान दिनुपर्ने तिम्सिनाकाे माग छ। उनकाे आफ्नौ सीता अक्सिजन उद्योग छ। यसबाट दैनिक माग १२ सय रहेकोमा अहिले सात सय उत्पादन भइरहेको उनले बताए।

‘आवश्यकताअनुसार राम्रोसँग आपूर्ति भइरहेको छ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक जीवलाल भूषालले पनि अहिले अक्सिजनको समस्या हटेको बताए। भने, ‘पहिला अक्सिजन सिलिन्डर आपूर्ति गर्न हम्मेहम्मे परेको थियो, अहिले त त्यस्ताे प्रेसर छैन।’

उनले अहिले आवश्यकताअनुसार राम्रोसँग अक्सिजन सिलिन्डरकाे आपूर्ति भएको जानकारी दिए। ‘सरकारले लिक्विड अक्सिजनको पनि व्यवस्था गरेको छ, अहिले कति माग छभन्दा पनि बिरामी संख्याअनुसार आपूर्ति भइरहेको छ,’भूषालले भने। उनका अनुसार अनुसार देशभर २७ वटा अक्सिजन उद्योग छन्। तीमध्ये उपत्यकाभित्र ९ वटा छन् भने बाहिर १८ वटा छन्। 

अक्सिजन सिलिन्डर सम्बन्धित ठाउँमा बुझाउन मन्त्रालयको आग्रह

मन्त्रालयले केही दिनदेखि अक्सिजन सिलिन्डर अन्यन्त्र लगेपछि फिर्ता नगर्दा समस्या भएको भन्दै तत्काल सम्बन्धित निकायमा ती सिलिन्डर बुझाउन आग्रह गरेको छ।

‘विभिन्न व्यक्ति तथा संघ संस्थाले, आइसोलेसन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिन्डर समयमै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिन्डर हुन् तिनै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालहरुमा पुग्नेगरी आवश्यक व्यवस्था मिलाउन कार्य गर्नुहुन सबैमा अनुरोध छ,’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार अहिले ३२ वटा अक्सिजन प्लान्ट सञ्चालन रहेकोमा १९ वटा थप गर्ने चरणमा छन्। लिक्विड अक्सिजन ट्यांक ३ वटा रहेकोमा २७ वटा थप्ने प्रक्रियामा छ। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयसँग हाल अक्सिजन भर्न मिल्ने करिब १५ हजार अक्सिजन सिलिन्डर रहेकाे जानकारी दिए। यसमा निजी अक्सिजन उद्योग​का पनि सिलिन्डरहरू छन्। चीनलगायत बाहिरी देशबाट खाली सिलिन्डर ल्याउने प्रक्रिया रहेको पनि सह प्रवक्ता डा.अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.