राष्ट्रपति प्रधानमन्त्रीको गोटी मात्रै बनेको आरोप

|

काठमाडौं : सत्ताधारी दल नेकपा एमाले विभाजनको डिलमा छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी शासन जमाउन खोजेको आरोप लगाउँदै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बहिर्गमन प्रयासले पार्टी विभाजनको बाटो समात्यो। 

पार्टी अनुशासन विपरित चलेको भन्दै ओलीले खनाल–नेपाल समूहमाथि कारबाहीको डण्डा चलाए। खनाल–नेपाल समूह ओलीविरुद्ध बनेको विपक्षी मोर्चाबन्दीमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा लागेपछि अब एमालेको विभाजन घोषणा गर्न मात्रै बाँकी छ। 

यस्ताे अवस्थामा खनाल-नेपाल समूह नयाँ दल दर्ता गर्ने या एमालेमै रहने भन्ने बिषयमा समेत दुइमत देखिएको छ। पार्टीभित्रको विवाद अब कसरी अगाडि बढ्छ? फेरि पार्टी एक हुने सम्भावना छ कि छैन? राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका लगायतको समसामयिक बिषयमा ओलीविरुद्ध उत्रिएकी एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसँग थाहाकर्मी रमेश पराजुलीले गरेकोे कुराकानी : 

अब एमाले विभाजन हुने अवस्थामा पुगिसकेकै हो ? 

नेकपा एमालेलाई एकजुट र बलियो बनाएर लैजानका लागि हामीले धेरै पहल गरेका हौँ। त्यहाँभित्र देखिएको कमीकमजोरी सच्चाउनका लागि हामी तयार भएकै हौँ। एमालेलाई साँच्चिकै कम्युनिस्ट पार्टीजस्तो बनाऔँ। केपी ओली अध्यक्ष भएर पनि उहाँले पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउन सक्नुभएन। कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तलाई लत्याउनुभयो। पार्टी कम्युनिष्ट विधि र पद्धतिअनुसार चल्नुपर्छ। 

कम्युनिष्ट आचरण र व्यवहार देखाउनुपर्ने हो। त्यो पनि सक्नुभएन। कम्युनिष्ट पार्टीको प्रधानमन्त्री भएर पनि उहाँले देश र जनताको हित विपरित जानुभयो। उहाँ कम्युनिष्ट पार्टीको प्रधानमन्त्री हुनै सक्नुभएन। निःस्वार्थ भावनाले उहाँले काम गर्नुपर्ने हो, तर उहाँले त्यो कहिल्यै गर्नुभएन। 

उहाँले पार्टीभित्र पनि माधव नेपाल, झलनाथ खनाललगायत हामी नेताहरुलाई फटाफट कारवाही गरेको छ,साधारण सदस्यसमेत नरहने गरी। हामीले त्यस्तो नहोस् भन्ने चाहेका हौँ। उहाँले विवाद समाधानका लागि कार्यदल समेत बनाउनुभयो। कार्यदल बनेपछि हामीले गल्ती कमजोरी सच्चिएर समाधानको बाटो खुल्छ भन्ने आशा गरेका थियौँ। तर, त्यो हुन सकेन। उहाँ झन उल्टो दिशामा जान थाल्नुभयो। 

भनेपछि पार्टी एकताको समस्या पार्टी अध्यक्ष नै हुन् त?

उहाँ निरङ्कुश हुँदै सर्वसत्तावाद तिर जान थाल्नुभयो। अब प्रतिनिधि सभा फेरि विघटन गर्नुभयो। संविधान कुल्चिने काम गर्नुभयो। लोकतन्त्र र गणतन्त्रमाथि धावा बोल्यो। उहाँ यतिधेरै नाङ्गो रुपमा प्रस्तुत हुनुभयो। कुनै पनि आचरण र नैतिकता छैन। उहाँले राष्ट्रियताको बिषयलाई पनि चुनौति थपेर कमजोर बनाइ राख्नुभएको छ। यो असह्य कुरा हो।

उहाँको कदमका कारणले हामीलाई एमाले हो भनेर हिँड्न शिर निहुरिने र लाज हुने काम गर्नुभएको छ। यस्तो पार्टीमा बसेर काम गर्ने वातावरण दिनुभएन। उहाँसँग अब आशा गर्ने ठाउँ छैन। ओली सच्चिएर अघि बढ्छन् भनेर आशा र भरोसा अब छैन। 

देश र जनताको हितको पक्षमा राम्रो काम गर्ला। कोरोना महामारी रोकथाम, नियन्त्रण तथा राहतको बिषयमा गम्भिर रुपले लाग्नुहोला भन्ने अपेक्षा गरेका थियौँ। तर, उहाँ सबै कुरामा उल्टो बाटोमा लाग्नुभयो। केपी ओली विचार र व्यवहारबाट सच्चिँदैनन्। लोकतन्त्रलाई आत्मसाथ गरेर बढ्नुहोला भन्ने त्यो हिसाबले पनि सच्चिँदैनन्।

उहाँको यस्तो कदमले हामीले थोरै पनि आशा गर्ने ठाउँ रहेन। कम्युनिष्ट आन्दोलन र सिद्धान्तलाई धुलोपिठो बनाउन लागिरहे। त्यसो भएपछि अब के गर्ने त? नेताहरूमाथि हामीमाथि धमाधम कारवाही गरिरहेका छन्।

हामीमाथि पनि कारवाही गर्नका लागि स्पष्टिकरण सोधिएका छन्। यस्तो अवस्थामा हामीलाई ठुलो पंक्तिले साथ दिइरहेको छ। ठुलो पंक्तिले कम्युनिष्ट पार्टीलाई बचाउन पर्छ भनेर साथ दिइराख्नु भएको छ। अब केपी ओलीबाट कुनै सम्भावना अहिलेको अवस्थामा देखेका छैनौँ। 

एकताको सम्भावना सकिएकै हो त? 

अझै पनि थोरै आशावादी छौँ। उहाँ सच्चिएर अगाडि बढ्नुहुन्छ कि भनेर। कार्यदललाई पनि हामीले विघटन गरेर कुराकानी नै नगरौँ भन्ने अवस्थामा पुगेको छैनौँ। तर, उहाँकै सर्वसत्तावाद, तानाशाह र निरङ्कुश चरित्र बोकेर अगाडि बढेपछि सच्चाएर अघि बढ्छौँ भन्न धेरै गाह्रो हुन्छ। 

हामीले अलमल गरेर गरेर बस्नुहुँदैन। नयाँ ढंगले अगाडि बढेर आफ्नो शक्तिलाई एकताबद्ध गरेर पार्टीलाई सुदृढ गरेर अगाडि बढाउनुपर्छ। कम्युनिष्ट  पार्टीलाई जोगाउनुपर्छ। उहाँ (ओली) कम्युनिष्ट पार्टीलाई तहसनहस गरेर अगाडि जान खोज्नु भएकाले हामीलाई त्यो कुरा असह्य हुन्छ। 

ठुलो बलिदान र त्याग गरेर ल्याएको कम्युनिष्ट पार्टी हो नी त। त्यसैले हामी कम्युनिष्ट पार्टी तहसनहस बनाउन खोजेको टुलुटुलु हेरेर बस्न सक्दैनौँ। यो मुलुकमा वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ। त्यति मात्रै नभएर लोकतान्त्रिक शक्तिहरु मिलेर यो मुलुकलाई समृद्ध बनाउनुपर्छ भन्ने नै हाम्रो स्पष्ट धारणा हो। 

नयाँ ढंगले जाने भन्नुभयो, त्यो भनेको नयाँ दल दर्ता गर्ने तयारी हो? 

हजुर, हो। हामी अहिले अलमल गरेर बस्ने समय छैन। यस्तो भए भने निराश हुन्छ। शक्ति हीन हुन्छ। अहिले ठूलो साथ र समर्थन नरहेको बेलामा निराश भयो भने शक्ति हीन भइहाल्छ नी! हामीसँग जतिपनि आबद्ध भएका छन् कम्युनिष्ट पार्टी भनेर। 

उहाँहरु लोकतान्त्रिक आन्दोलनमा कुनै समस्या आइपर्यो भने लड्न क्षमता राख्ने शक्ति हो। त्यसैले उहाँहरुको भरोसा दिएर उत्साहित बनाएर भविष्य उज्यालो बनाउँदै अगाडि बढाउनुपर्छ। विचारबाट सुसूचित बनाएर भन्ने हिसाबले नयाँ शक्ति दर्ता गर्नुपर्छ। नयाँ पार्टी बनाउनुपर्छ भनेका हौँ। 

तर, त्यो आजको भोलि नै हुँदैन। त्यसका लागि विचार, सिद्धान्त नीति कार्यक्रम, संरचना तमाम कुराको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल गरेर दस्तावेज तयार गर्नुपर्छ। 

तपाईहरु पनि दुई धारमा देखिनुभयो, केही नेताले तपाईंहरुको पछिल्लो कदमलाई साथ दिएको देखिएन नि ! 

होइन, दुई धारमा देखिएको भने होइन। कहिले गर्ने भन्ने मात्रै हो। तुरुन्तै गर्ने कि पछि गर्ने भन्ने कुरा मात्रै हो। यसरी अलमल गरेर शक्तिहीन भएर लामो समय बस्नु हुँदैन भन्ने नै सबैको धारणा छ। 

उहाँहरुले तपाईहरुलाई छाडेर संस्थापन पक्षमा लागेको होइन? 

होइन-होईन त्यस्तो हुँदै होइन। हामीभित्र कसैले पनि त्यस्तो व्यवहार गरेको छैन। बाहिर बाहिर धेरै हल्ला गरेका छन्। तर, भित्र त्यस्तो छैन। उहाँहरुले पनि कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउन ठुलो भूमिका खेलेको मान्छेहरु हुनुहुन्छ। 

त्यही पनि केपी ओलीले उहाँहरुलाई चाहिँ बाँकी राखेको छ र भन्या? एकपछि अर्को गर्दै सबैलाई अपमान गरिरहेको छ। यस्तो खालको ओलीको स्वभावले कम्युनिष्ट आन्दोलन त तहसनहस बनायो नै। गणतन्त्रमाथि नै धावा बोल्यो। केपी ओली मात्रै होइन माथिल्लो नेतृत्वमा बसेको राष्ट्रपति पनि खराव भयोे। 

राष्ट्रपतिको भूमिकाको बिषयमा कुरा उठाउनुभयो, पछिल्ला गतिविधिलाई कसरी नियाल्नुभएको छ?

राष्ट्रपति भनेको यत्रो जनताको पद होइन र त्यो? तर, उहाँले यस्तो जनता र देशको लागि कहिल्यै सोच्नुभएन। उहाँ अत्यन्तै हल्का हुनुभयो। उहाँको क्षमताले नै पुगेन। मुलुकको जवाफदेही बन्नुपर्छ भनेर सोच्नुभएन। प्रधानमन्त्रीको गोटी बन्नुभयो। ​

हेर्नुहोस् त दुई जना मिलेर फेरि प्रतिनिधि सभा विघटन गरिदिए। त्यो पनि मध्यरातमा। संविधान र गणतन्त्रमाथि धावा बोलेको छ। उहाँहरुमा के अधिकार छ त्यसमा? उहाँहरु दुई जनाले मात्रै ल्याएको गणतन्त्र हो? उहाँहरुले मात्रै बनाएको संविधान होे? लाखौँ जनताको दु:ख त्याग छैन? यसरी खेल्न मिल्छ? जनताले सम्मानको साथ पद दिएको छ। तर, उहाँहरुले आफ्नो पदको मर्यादा राख्न सक्नुभएन। 

संसद् विघटनविरुद्ध अदालत जानुभएको छ। राजनीतिक लडाई पनि लड्छौँ भनिराख्नु भएको छ। त्यस बिषयमा कसरी अगाडि बढ्नुहुन्छ? 

अहिले अदालतमा गएका छौँ। हामीलाई पूर्ण रुपमा विश्वास छ। अदालतले देश र जनतालाई न्याय दिन्छ। पहिला पनि यसरी नै विघटन गरेको संसद् पुनःस्थापना भएको नजिर छ। न्यायाधीशहरु पनि आफैमा न्यायमूर्ति भएकाले स्थितीको मुल्याङ्कन गरेर न्याय दिनुहुन्छ भन्ने विश्वास लिएका छौँ। त्यसपछि चाहि कसरी अघि बढ्छौँ भन्ने निर्णय हुन्छ। 

भनेपछि सर्वोच्च अदालतबाट संसद् पुनःस्थापनामा हुनेमा विश्वस्त हुनुहुन्छ? 

हजुर हामी ढुक्क छौँ। त्यसको नजिर बनिसक्यो। अझै त्यसमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको विघटन गर्ने जुन तरिका छ। संविधानलाई जसरी कुल्चिएर असंवैधानिक, गैर कानुनी ढंगले गरेको हुनाले न्यायोचित छैन। सर्वसत्तावाद बाट ग्रसित भएर यस्तो कदम चालिएको प्रष्ट हुन्छ।

अहिलेको परिस्थिती सिर्जना हुनुमा बाह्य शक्तिको हात छ भन्ने चर्चा भइरहेको छ नि! 

होइन, हामी कमजोर भएपछि यस्ता गतिविधि बढ्नु स्वभाविक हो। त्यसैले आफूभित्र बलियो हुनु भन्छ के। आफूभित्र अन्तरविरोध छ,कमजोर छ। यस्तो कमजोर नेतृत्व सत्तामा बसेर पद ओगटिरहेको छ। गैह्र कानुनी ढंगले भेट गरेका छन्।

यसअघि पनि रातारात भेटघाट गरेको हो नि त! हाम्रो मुलुक स्वतन्त्र र स्वाधीन मुलुक बनाउनुपर्छ। हाम्रो सार्वभौमसत्तालाई कसैले पनि धावा बोल्न नसक्ने हुनुपर्छ। नेतृत्व भनेको त्यस्तो हुनुपर्छ। राष्ट्रियता भनेको त्यस्तो हुनुपर्छ। 

राष्ट्रप्रमुखहरूको हरेक गतिविधि विदेशी हस्तक्षेप बढ्ने खालका छन्। नागरिकता विद्येयक हेर्नुहोस् त। अहिले कोरोना महामारीको बेलामा अध्यादेश ल्याउन के आवश्यकता थियो त? त्यसैले राष्ट्रपति र प्रधानमन्त्रीलाई देश र जनता प्रति कुनै चासो छैन। यस्ता पनि राष्ट्रप्रमुख हुन्छन् र?    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.