स्थानीय तहको समन्वयमा ढिलाइ

|

झापा : दोस्रो लहर नयाँ भेरियन्टको कोरोना भाइरसका कारण झापा जिल्लामा पछिल्लो पटक दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। जिल्ला तथा जिल्लाबाहिरका संक्रमितको मृत्यु भएपछि संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाको शव व्यवस्थापन टिम दिनरात खटिरहेका छन्। 

सेनालाई शव व्यवस्थापनमा समस्यासँगै चुनौतीको पनि त्यतिकै सामना गर्नुपरिरहेको छ। शव व्यवस्थापन गर्न जाने सेनाको टिमलाई सहयोग वा खर्च दिनुपर्छ भन्दै झापामा बिचौलियाहरू सक्रिय बनेपछि नेपाली सेनाले त्यसको पनि सामना गर्नु परिरहेको श्री नयाँ श्रीनाथ गण चारआलीका कर्णेल अमर जङ्ग थापाले बताए। 

बिचौलियाका घटना  

श्री नयाँ श्रीनाथ गण चारआलीका कर्णेल थापाका अनुसार महिना दिनअघि बिर्तामोडमा एक संक्रमित व्यक्ति मृत्यु पश्चात् सेनाको टिमले शव व्यवस्थापन गर्यो। सेनाले शव व्यवस्थापन गरेपछि संक्रमितका परिवारजनबाट त्यहाँका केही बिचौलियाले १२ हजार लिएको जानकारी प्राप्त भयो।

‘त्यस घटना जानकारी भएपछि हामीले संक्रमित परिवारसँग रकम लिएको घटनाबारे बुझ्न खोज्यौँ, तर संक्रमितको परिवारले बिचौलियाको नाम भन्न चाहेनन्,’ थापाले भने।

त्यस्तै दमकमा पनि एक संक्रमितको मृत्यु भएपछि तिनका परिवारजन शव व्यवस्थापनका लागि सेनाको सम्पर्कमा आयो। मृतकका परिवारले सेनालाई फोन गर्दै भनेका रहेछन्, ‘तपाईंहरू शव व्यवस्थापन गर्न आउँदा पैसा दिनुपर्छ रे? कति पैसा दिनुपर्छ ? हामीलाई त यहाँका केही मान्छेले सेनालाई पैसा दिएनन् भने शव व्यवस्थापन गर्न आउँदैन भनेको रहेछ’, यी भनाइलाई पुष्टि गर्दै कर्णेल थापाले भने, ‘बिचौलियाहरूले सेनालाई बदनाम गराउन खोजिरहेका छन्, हामीले शव व्यवस्थापन गर्दा पैसा त टाढाको कुरा एक कप चिया पनि पीडित परिवारबाट खाँदैनौँ।’

‘केही दिनअघि कनकाई नगरपालिकामा पनि एक संक्रमित व्यक्तिको मृत्युपश्चात् उनका परिवारजनले पनि तपाईंहरूलाई कति खर्च दिनुपर्छ भन्दै सम्पर्क गरेका रहेछन्,’ कर्णेल थापाले भने, ‘सेनालाई यसरी फोन आउँदो रहेछ, भनेपछि बिचौलियाहरू जिल्लामा कति सक्रिय रहेछन्, हामी पनि यस विषयमा आन्तरिक छानबिनसँगै अनुसन्धान थालेका छौँ।’

सेनाले शव व्यवस्थापनको नाममा कसैसँग आस र अपेक्षा राख्दैन। कसैले सेनाको नाममा पैसा माग्यो भने तत्काल सेना वा प्रहरीलाई सम्पर्क गर्न उनले सबैलाई अनुरोधसमेत गरेका छन्। 

यस्तो छ सेनालाई चुनौती 

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुका पीडा जति आफन्तजनलाई छ, त्यति नै भोगाइ र पीडा सहेर नेपाली सेनाले अहिले संक्रमितको शव व्यवस्थापन कार्यमा जुटेको छ। कोरोनाबाट मृत्यु भएका पुरुष वा महिलालाई सेनाको शव व्यवस्थापन टिमले कानुनी, व्यवाहरीक र धार्मिक रुपमा सम्मानका साथ संक्रमितको शवलाई दाहसंस्कार गर्दै आइरहेको छ। 
संक्रमितको शव व्यवस्थापन सहज र सजिलो कतिपय मानिसलाई लाग्न सक्छ। तर, सेनाले ४० डिग्री घाम होस वा चट्याङ, हावाहुरीसँगै अविरल वर्षा किन नहोस् जस्तो सुकै मौसमको सामनाका बिच जिल्लामा दैनिक शव व्यवस्थापन गर्दै आइरहेको श्री नयाँ श्रीनाथ गण चाराआलीका कर्णेल थापाले बताए। 

सेनाले जिल्लाको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मका १५ वटै स्थानीय तहहरूमा पुगेर शव व्यवस्थापन गर्दै आइरहेको कर्णेल थापाको भनाइ छ। शव व्यवस्थापन कार्यमा पालिकासँग सेनाको समन्वय नहुने, शव वाहन ढिला गरी उपलब्ध हुने जस्ता कारणले मृतक परिवार र आफन्तजनहरूको गुनासाहरू सेनाले खेप्नु परेको उनले सुनाए। सेनाले शव व्यवस्थापनमा दक्ष जनशक्ति खटाउने गरेको छ। 

‘सेनालाई स्वास्थ्यसम्बन्धी सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउँछ, शवलाई गाड्ने वा जलाउनेदेखि शवलाई कहाँ पुर्‍याउने, त्यसका लागि शववाहन, एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित पालिकाहरूले गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘साथै मृतकको पिसिआर रिपोर्ट, अस्पतालको मृत्यु परिचयपत्र, आफन्तको मन्जुरीनामा लगायतको काम गर्नुपर्ने हुन्छ।’

त्यसका लागि सेनाले गणमा चार जनाको छुट्टै टिम नै गठन गरी सहकार्य गर्दै आइरहेको बताउँदै उनले भने, ‘कहिले काहीँ सेनाको टिमसँग सहकार्य नहुने, पालिकाहरूले समन्वय नगर्ने, जस कारण सेनाको टिम तयारी अवस्थामा रहे पनि समयमा शव व्यवस्थापन गर्न नसक्ने चुनौती देखिएको छ।’ 

सेनाद्वारा १६१ शव व्यवस्थापन

झापाको चाराआलीस्थित श्री नयाँ श्रीनाथ गणका शव व्यवस्थापन टिमले यो जिम्मा पाएदेखि मंगलबारसम्म जिल्लामा १ सय ६१ जना संक्रमितको शव व्यवस्थापन गरिसकेको छ।

पहिलो लहरमा सेनाले जिल्लामा २२ महिला र ७० पुरुषको शव व्यवस्थापन गरेको थियो। त्यसमा २० जनालाई जमिनमा गाडेको र ७२ जनालाई जलाएको थियो। आफन्तद्वारा ३७ जनाको शव व्यवस्थापन गरिएको कर्णेल थापाले बताए।

अहिले दोस्रो लहरमा सेनाले २१ महिला र ४५ पुरुषको शव व्यवस्थापन गरिसकेको छ। त्यसमा ३ जनालाई जमिनमा गाडेको र ६३ जनालाई जलाएको छ। आफन्तद्वारा १३ शव व्यवस्थापन गरिएको छ। सेनाले गरेको शव व्यवस्थापनमा जिल्लाभित्रका नभई बाहिर जिल्लाबाट उपचार गराउन आएका संक्रमतिको शव पनि व्यवस्थापन गर्दै आइरहेको उनले बताए। 

अस्पतालमा काम गर्ने चिकित्सक, नर्स वा अन्य स्वास्थ्यकर्मी नै किन नहोस् जोकोही पनि कोरोनाबाट जोगिन सकेका छैनन्। ‘तर नेपाली सेनाले गरेको सुरक्षित शव व्यवस्थापनमा हालसम्म कोही पनि सेना संक्रमित हुनुपरेको छैन,’ उनले भने।

सेनाले जिल्लामा शव व्यवस्थापनका लागि ६ वटा डेड बडी म्यानेजमेन्ट टिम गठन गरेको छ। एउटा टिममा तीन जना सेना खटिने गरी दुई सिफ्टमा काम गरिरहेको छ। जिल्लामा पहिलो चरणमा १२९ र हाल दोस्रो चरणमा ९१ गरी जम्मा २२० जना संक्रमितको बुधबारसम्म मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.