|

दाङ : दोस्रो चरणमा कोरोना महामारी फैलिइरहँदा दाङका युवाहरूले उदाहरणीय सक्रियता देखाएका छन्‌।

बिरामी परेर घरमै बसेका संक्रमितलाई जोगाउन अथक प्रयास गर्नेदेखि संक्रमितको निधन भइहाले अन्तिम संस्कार गर्नेसम्मका काममा यहाँका युवाहरू दिनरात नभनी खटिइरहेका छन्‌।​

कसैले सास फेर्न कठिनाइ भोगिरहेका संक्रमितलाई अत्यावश्यक अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्री व्यवस्थापन निम्ति आर्थिक संकलन गरेका छन् भने केही युवाहरू सडकमा रहेका पशुपक्षीलाई खाना खुवाउने सत्कर्ममा व्यस्त देखिन्छन्‌। कसैले अति विपन्न परिवारका लागि राहत संकलन र वितरण थालेका छन्।

घोराहीका युवाहरूले कोरोना संक्रमितहरूलाई पौष्टिक आहार खुवाउँदै आएका छन्‌। सञ्‍जीव पछाई संयोजक रहेको विपद्‌मा हामी समूह ले अभियान शुरू गरेको हो। जिल्लाका विभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितहरूलाई चना, अण्डा, मिनरल वाटर तथा दुध खुवाउँदै आएको पछाईले बताए।

उनले भने, ‘विपद्का बेला झनै मानवीय सहायता आवश्यक पर्छ, बिरामीहरूलाई रोगविरुद्ध लड्न पौष्टिक आहार आवश्यक पर्छ। त्यसैले हामीले बिरामीलाई पौष्टिक आहार खुवाउने अभियान शुरू गरेका हौँ।’  अभियानमा १७ जना युवाहरूको टीम रहेको र प्रत्येक दिन ४ जना युवाहरू खटिँदै आएको उनले जानकारी दिए।

‘हरेक दिन ४ जनाका दरले खटिँदै आएका छौँ,’ उनले थपे, ‘कोरोना विशेष अस्पताल र लमहीको कोरोना अस्पतालमा खुवाउँदै आएका छौँ। आज खटिएका ४ जनाको पालो फेरि ४ दिनपछि आउँछ। मानवीय सेवामा खटिएकाहरूको पीसीआर परीक्षण गर्छौं र उनीहरू स्वस्थ रहेको पुष्टि भएमात्र पालोमा खटाउने गरेका छौँ।’

पहिलो दिन निकटस्थहरूको सहयोगका आधारमा बेलझुण्डी अस्पतालमा रहेका ७७ जना बिरामीहरूलाई उनीहरूले पौष्टिक आहार खुवाए। अनि, दोस्रो दिनदेखि लमही आइसोलेसनमा रहेका तीन दर्जन बिरामीहरूलाई पनि यो आहार खुवाएका थिए।

उनीहरूले यो अभियान शुरू गरेको आज २ हप्ताभन्दा बढी भएको छ। यो अभियानलाई कोरोना संक्रमण नहट्दासम्म संचालन गरिरहने संयोजक पछाईले बताए। यो अभियान महामारी रहँदासम्म जारी रहने उनीहरूको भनाइ छ।

शुरूमा आफूहरूहरूले नै रकम उठाएर पौष्टिक आहारका लागि सामानहरू किनेको अभियानका अर्थ संयोजक कुलराज पोख्रेलले बताए। अहिले विभिन्न समाजसेवी तथा शुभच्छुकहरूको सहयोग गर्दै आइरहेको उनले जानकारी दिए। तर, स्थानीय सरकार अर्थात घोराही उपमहानगरपालिकाले कोरोना महामारीमा राम्रो काम नगरेको उनले गुनासो गरे।

उनले भने, ‘म प्रदेश र संघीय सरकारका कुरा गर्दिनँ, तर हाम्रो स्थानीय सरकारले कुनै प्रभावकारी भूमिका खेलेकोदेखिँदैन। बिरामीहरूले स्थानीय सरकार भएको अनुभूति गर्न पाएका छैनन्‌। यो महामारीमा सबैले साथ सहयोग गर्नुपर्छ, तर विशेषगरी स्थानीय सरकारले बढी कदम चाल्नुपर्छ।’ आफूहरू अहिलेसम्म एक लाख ३० हजार रुपैयाँभन्दा धेरैको पौष्टिक आहार बिरामीहरूलाई खुवाएको समेत उनले बताए।

पौष्टिक आहार खान पाउँदा बिरामी पनि उत्साहित भएका छन्। उनीहरूलाई संक्रमणलाई जित्न यो पौष्टिक आहारको महत्वपूर्ण भूमिका हुने भएकोले प्रत्येक दिन नास्ताको रूपमा यो पौष्टिक आहार प्रदान गर्ने समूहप्रति अस्पतालका स्वास्थ्यकर्मीहरू पनि खुसी छन्। पौष्टिक आहारले संक्रमितहरूलाई रोगसँग जित्न महत्वपूर्ण भूमिका खेल्ने बेलझुण्डी कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले बताए। युवाहरूले प्रत्येक दिन दिउँसो ३ बजे बिरामीहरूलाई पौष्टिक आहार लिएर आउने गरेको समेत उनले बताए।

त्यस्तै, तुलसीपुर क्षेत्रका युवाहरूले विभिन्न व्यक्तिसँग आर्थिक संकलन गर्दै विपन्न परिवारको घर घरमा राहत बाँड्न अभियान थालेका छन्‌। तुलसीपुर उपमहानगरपालिका-६, निवासी नेपाल विद्यार्थी संघका दाङ जिल्ला कोषाध्यक्ष अरूण लहरेको नेतृत्वमा यो अभियान शुरू भएको छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिब एक महिनादेखि लकडाउन भएका कारण दैनिक ज्याला मजदुरी गरेर साँझ-बिहानको छाक टार्दै आएका श्रमिक वर्ग समस्यामा परेकाले आफूहरूले राहत वितरण अभियान शुरू गरेको लहरेले बताए। अभियानमा जेठ ७ गतेदेखि तुलसीपुर-७ गणेशपुरका विपन्न परिवार र सल्यान घर भइ तुलसीपुरमा कोठा भाडामा बसेर अध्ययन गर्दै आएका विद्यार्थीबाट शुरू भएको हो।

तुलसीपुर-७, गणेशपुरमा एक परिवारको आर्थिक स्थिति निकै कमजोर रहेको तथा हालसालै कोरोनाका कारण परिवारका एक सदस्यको मृत्यु भएको खबर पाएपछि आफूहरू त्यहाँ राहत सामग्री लगेर पुगेको उनले बताए। दाल, चामल, नुन र तेल लगायतका सामग्री उनीहरू वितरण गर्दै आएका छन्। अहिले पनि वडाका विभिन्न स्थानमा रहेका अतिविपन्न परिवारहरूलाई राहत दिँदै आइरहेको उनले बताए। 

उता, बबई गाउँपालिकाका युवाहरू पनि कोरोना महामारीविरुद्ध खटिएका छन्‌। अक्सिजनयुक्त उपचार गर्ने ठाउँ अभाव भएपछि यी युवाहरूले दाङको हापुरेमा 'हाम्रो अस्पताल, हाम्रो लागि, हामी निर्माण गछौँ’ भन्ने अभियान शुरू गरेका हुन्‌।

​हाल आइसोलेसनका रूपमा संचालित प्रस्तावित हापुरे प्राथमिक अस्पतालमा थप सेवा-सुविधा थप्न अभियान शुरू गरिएको अभियन्ता प्रेमबहादुर राम्जाले बताए। साथीहरू र स्थानीय बुद्धिजीवीसँग परामर्श गरेपछि यो हौसला मिलेको र आफूहरूले यो अभियान चलाएको उनले जानकारी दिए। अहिले यो अभियानका लागि विभिन्न व्यक्तिहरू आर्थिक सहयोग भइरहेको समेत उनले बताए ।

पत्रकार देवीराम कुसारीले तुलसीपुरको शीतलपुर घाटमा काठ बैंक अभियान शुरू गरेका छन्। उनले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शवदाह क्रममा दाउरा अभाव हुँदा घाटमा निम्तिएको समस्या हेर्दै मूकदर्शक भई बस्न नसक्ने भन्दै उनले बैशाख २० गतेदेखि काठ बैंक अभियान शुरू गरेका थिए। अहिले धेरै व्यक्तिहरूले काठ सहयोग गर्दै आइरहेको उनले जानकारी दिए।

कुसारीकै अध्यक्षतामा समिति नै गठन गरिएको छ। समिति उपाध्यक्षमा जीवन गिरी, कोषाध्यक्षमा युवा व्यवसायी हरिप्रसाद बुढाथोकी, सचिवमा सञ्चारकर्मी हेमराज डाँगी, सहसचिवमा सुशील गिरी रहेका छन्। यो अभियान निरन्तर चलिरहने कुसारीले बताए।

उनले भने, ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कार गर्न मलामी कम हुने र काठको समस्या निम्तिएको छ। सुरक्षाकर्मीले आगो लगाएर जाने, आफन्ती पनि अन्तिमसम्म नबस्ने र शवका अवशेष बगरमै देखिइन थालेपछि स्थानीय त्रसित हुन्थे। यो समस्या समाधान गर्न काठ बैंक अभियान शुरू गरेँ। काठ प्रशस्त भएमा शव पूर्ण रूपमा जलाउन सकिन्छ।’

यी युवाहरूले शुरूमा काठका ठेकदारसँग काठ मगाएर बगरमा जम्मा गर्न थालेका थिए। पछि अभियानबारे प्रचार हुन थालेपछि अहिले निरन्तर सहयोग हुन थालेको छ।

त्यस्तै, आफूहरूले दाहसंस्कार गर्नको लागि शीतलपुर घाटमा कोरोना संक्रमणबाट मृत्यु भएका र अरू कारणले मृत्यु भएकालाई जलाउन फरक-फरक स्थान बनाएको समेत उनले बताए।

त्यस्तै, दारी ग्याङ दाङले लकडाउनमा कोही पनि भोका नहुन् भन्ने उद्देश्यले खाद्य बैंक सञ्‍चालन गरेको छ। दैनिक ज्याला मजदुरी गरेर खाने अति विपन्न परिवारलाई घरमै पुगेर राहत प्रदान गर्दै आएको ग्याङका जिल्ला संयोजक सन्तोष भण्डारीले बताए।

त्यस्तै, उनीहरूले मानिसहरूलाई मात्र नभइ तुलसीपुर र घोराही बजार क्षेत्रभित्र रहेका कुकुर र छाडा चौपायाहरूलाई खाना तथा घाँस खुवाउन शुरू गरेका छन्।

लकडाउन भएपछि बजारमा व्यवसाय नै बन्दा हुँदा बजारका छाडा पशुचौपायाहरू भोकै रहेकाले आफूहरूले खाना र घाँस खुवाउने अभियान चलाइरहेको भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.