|

भक्तपुर : नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्वीकृति नदिँदा मध्यपुर थिमि नगरपालिकाले कृषि विकास तालिम प्रतिष्ठान बोडेमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन व्यवस्था हुनसकेको छैन।

वडा अध्यक्षहरूले यहाँका आइसोलेसनमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन प्रबन्ध गर्ने योजना अघि सारेका थिए। नगरमा कोरोना संक्रमित र गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का इन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरसहित गत बैशाख २७ गते संयुक्त बैठक बसेको थियो।

सो बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो। त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको थियो। 

तर, नगरप्रमुख श्रेष्ठले स्वीकृति नदिँदा सो योजना कार्यान्वयन हुन नसकेको वडा नं. २ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापामगरले जानकारी दिए। 'हामीले कोरोनाका कारण जोखिममा परेका नगरबासीको ज्यान जोगाउन जनमुखी निर्णय गरेका थियौँ, तर नगरप्रमुख श्रेष्ठले अनेक बहाना गरी स्वीकृत गर्नुभएन,' थापामगरले भने। 

नगरप्रमुखसँग बजेट स्वीकृतिका लागि वडाअध्यक्षहरूले जेठ ५ गते संयुक्त निवेदन दिएका थिए। तर पटक पटकको अनुरोध र छलफलपछि पनि नगरप्रमुखले स्वीकृत नगरेपछि उपप्रमुख अञ्जनादेवी मधिकर्मी र ६ जना वडाअध्यक्षहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नगरवासीसँग आफूहरूको पूर्व निर्णय कार्यान्वयन गर्न नसकिएको भन्दै क्षमा मागेको छ।

‘२०७८ बैशाख २७ गते हामी ६ जना वडाध्यक्षहरूले संयुक्त हस्ताक्षर गरी आगामी दिनमा सम्पूर्ण जनप्रतिनिधिहरूको सहमती लिने गरी कृषि विकास बैंक तालिम केन्द्र बोडेमा नगरपालिकाद्धारा सञ्चालित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित नागरिकहरूलाई विज्ञ सहित आवश्यक स्वास्थ्यकर्मीहरू र औषधी साथै अक्सिजनसहितको प्राथमिक उपचार सेवा सञ्चालनका लागि मिति २०७८/०२/०५ गते नगरप्रमुख समक्ष प्रस्ताव पेश गरेका थियौँ। तर, यस्तो विषम परिस्थितिमा नगरप्रमुखले उक्त प्रस्ताव अस्वीकृत गरी असहयोग गरेका कारण सो मानवीय कार्य गर्न नसकेकोमा सम्पूर्ण नगरवासीमा क्षमाप्रार्थी छौँ,’ वडाध्यक्षहरूद्वारा बुधवार जारी विज्ञप्तिमा लेखिएको छ।

 

सो विज्ञप्तिमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का इन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरले हस्ताक्षर गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.