|

झापा : दमक नगरपालिकाले नगरभित्रका सुकुम्वासीमाथि दमन गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रतिरोध गर्ने चेतावनी दिएको छ। पार्टीका झापा सचिव प्रशान्तले बुधबार एक विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका छन्। 

यही जेठ १० दमक नगरपालिका ७ स्थित पन्चमुखी टोलको सुकुम्वासी बस्तीमा बसोबास गर्ने असहाय तथा गरिब जनतामाथि नगरपालिका मेयर रोमनाथ ओली र ७ नम्बर वडाध्यक्ष भीम पौडेलको आदेशमा जिल्ला प्रशासन कार्यालय दमकको निर्देशनमा प्रहरी लगाएर दमन गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ।  यतिबेला कोरोनाको दोस्रो चरणले देशभरि निषेधाज्ञा जारी रहेको अवस्थामा श्रमजीवी जनताले दैनिक गुजाराका लागि सङ्कट झेलिरहेको परिस्थिति छ।

दलाल राज्य सत्ता यसको निकासको सट्टा उल्टो पालटांगी टहरामुनि कष्ट साथ बसिरहेका सुकुम्वासीहरू माथि स्थानीय सरकारले आफ्नो शक्ति दुरुपयोग गर्दै बस्ती उठाउने काममा लाग्नुले आफूले बनाएको कानुनको पनि धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,  ‘यस्तो संवेदनशील अवस्थामा राज्यको निकृष्ट रवैया प्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ। दलाल सरकारका प्रतिनिधि राज्यका विभिन्न निकायमा रही जनतालाई दमन गर्ने र भ्रष्ट, दलालहरूलाई संरक्षण गर्ने खेलमा व्यस्त रहेका छन्। यसैको निरन्तरता दमकका सुकुम्वासीहरू माथि पटक पटक भएको अमानवीय आक्रमणको शृङ्खलाले पुष्टि गरेको छ।’

नगरपालिकाको सुकुम्वासीहरू माथि भएको दमनको पटक पटक हाम्रो पार्टीले चेतावनीसँगै सङ्घर्षसमेत गरिरहेको सर्वविदितै छ। जनस्तरबाट हुने गरेको सङ्घर्षको दमक नगरपालिकाले बेवास्ता गर्दै विभिन्न समयमा चाल्ने कदम आगामी दिनहरूमा बन्द नगरे हाम्रो पार्टी थप सङ्घर्षमा उत्रिन बाध्य हुनेछ। सङ्घर्ष बाट पैदा हुने विषम परिस्थितिको जिम्मेवार दमक नगरपालिका नै हुने कुरा हाम्रो पार्टी यसै विज्ञप्ति मार्फत सूचित गर्दछ। 

गत फागुन २७ गते नगरपालिकाले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी डोजर चलाएर सुकुम्वासी बस्ती भत्काएका थिए। बस्तीका घर भत्किएपछि दमक– ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुम्वासी त्रिपालमुनि टहरामा बस्न बाध्य भएका थिए।

टहरामा बसेका सुकुम्वासीमाथि नगरपालिकाले फेरि प्रहरी लगाएर बल प्रयोग गरेका छन्। जेठ १० गते नगरपालिकाले टहरामा बसेका सुकुम्वासीलाई त्यहाँबाट लखेट्ने खोजेका थिए। सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी खटाएर सुकुम्वासीमाथि हातपात गर्दै त्यहाँबाट पनि हटाउन खोजेको हो। त्यो क्रममा सुकुम्वासीले प्रतिकार गर्दा प्रहरीले उनीहरूमाथि उल्टै हातपात गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.