महन्थ-राजेन्द्रको सत्ता मोहले विभाजनको डिलमा !

|

काठमाडौं : संसद्मा चौथो दलको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा छ। पार्टी एकता प्रक्रियाले पूर्णता पाउनुअघि नै जसपा फुट्ने तरखरमा छ। 
 

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन गरेर अघि बढ्ने भन्ने विवादले अन्ततः विभाजनको चरणमा पुगेको होे। 

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (साविक राष्ट्रिय जनता पार्टी, राजपा) खेमाले ओली सरकार निरन्तरताको पक्षमा उभिरह्यो। तर, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ओलीलाई तत्काल सत्ताच्युत गराउनुपर्ने अडानमा रहिरहे। 

प्रधानमन्त्री ओलीकै कारणले २०७७ वैशाख १० गते रातारात पार्टी एकता गरेका मधेसी दल अहिले ओलीकै कारणले विभाजनको बाटो पहिल्याइरहेको छ। 

आआफ्नै दाबी 

दुवै पक्षले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने बेलामा अध्यक्ष यादवसँग १२ जना मात्रै सांसद देखिए। वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने बेला बराबरी रहेका सांसद् पछि यादव पक्षमा घटे। 

अध्यक्ष ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा जाने तयार गरिरहेको बेलामा मन्त्रीको आश्वासनले यादव पक्षका सांसद् ठाकुर पक्षमा लागेको आरोप लाग्दै आएको छ। त्यसो त कार्यकारिणी समितिमा भने उपेन्द्र–बाबुराम पक्षकै बहुमत देखिएको छ। 

अध्यक्ष ठाकुरले कार्यकारिणी समितिमा समेत आफ्नो बहुमत पुर्‍याउन दाउ थापिरहेका छन्। 

आआफ्नो रणनीतिका साथ अघि बढिरहेको दुवै खेमाले एकअर्कालाई कारबाहीसमेत तयार थालिसकेका छन्। दुवै पक्षले विपक्षी खेमालाई कारबाहीका लागि स्पष्टीकरणसमेत सोधेका छन्। 

ठाकुरले उपेन्द्र खेमालाई ओलीलाई समर्थन गर्नुपर्ने बेलामा देउवाको पक्षमा किन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै गर्दा पनि किन समर्थन गरेको भन्दै उपेन्द–बाबुराम पक्षले पनि स्पष्टीकरण सोधेको थियो।  

‘ठाकुर आफ्नो निर्णयमा फर्कनुपर्छ’

अध्यक्ष ठाकुरले आफ्नै पार्टीको निर्णय लत्याएपछि स्पष्टीकरण सोधिएको उपेन्द–बाबुराम निकट नेता मोहम्मद इस्तियाक राई बताउँछन्। 

‘ओलीले प्रतिगामी कदम चालेपछि त्यसविरुद्ध जान सहमति भएको थियो। तर, उहाँ (ठाकुर)को निर्णय बाटो बाटोमै परिर्वतन हुन्छ अनि कसरी सहमतिमा अघि बढ्न सक्छ’, उनले भने, ‘पार्टी एकताका विषयमा उहाँहरुकै हातमा छ। उहाँ सहमतिमा फर्किनुहुन्छ भने केही समस्या छैन।’

आफ्नो निर्णयविरुद्ध आफै लागेपछि पार्टी एकतामा समेत समस्या परेको उनी दाबी गर्छन्। 

‘अध्यक्ष यादवसँग ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भयो। त्यही अनुसार वातावरण बन्दै गइरहेको अवस्थामा पछि हट्नुभयो’, उनले भने, ‘आफ्नो निर्णयमा नफर्केपछि हामीले कारबाहीका लागि स्पष्टीकरण सोधेका हौँ।’

पार्टीको विधानसमेत बनिसकेको अवस्थामा नेता महतोलाई दलको नेता चयन गरेको मान्न नहुने उनले बताए। 

उनले भने, ‘पार्टी एकीकरणपछि दलको विधानसमेत बनेको छैन। तर, उहाँहरुले बहुमत भयो भन्दै दलको नेता चयन गर्नुभयो रे। अनि हामीले त्यसलाई कसरी मान्छौँ।’

उपेन्द–बाबुराम खेमालाई जानकारी समेत नगराई अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा नेता महतोलाई चयन गरेका थिए। महतोलाई दलको नेता मान्न अर्को पक्ष तयार छैन। तर, पार्टीको बहुमत सांसदको समर्थनका आधारमा महतोलाई दलको नेता चयन गरेको दाबी गरिरहे।

‘सरकारमा जाने परिस्थिति बनिसक्यो’

संसदीय दलको नेता चयन गरेका महतोको नेतृत्वमा जसपा ओली नेतृत्वको सरकारमा जानेबारे छलफलमा छ। ओलीले संसद् नै विघटन गरिसक्दा पनि ठाकुर पक्ष भने अझै पनि सरकारमा जान खुट्टो उचालेर बसेको छ।  

प्रधानमन्त्री ओलीले आफ्नो पक्षको माग सम्बोधन गर्दै लगेपछि ठाकुरपक्ष सरकारमा जान तयार भएको हो। उनीहरुले सांसद् रेशम चौधरी रिहा, संविधान संशोधन, मधेश तथा थरुहट आन्दोलनको मुद्दा फिर्तालगायत माग राख्दै आइरहेका छन्। 

ओलीले १ सय २० जनाको मुद्दा फिर्ता गर्नुका साथै विवादास्पद नागरिकता विधेयकसमेत अध्यादेशमार्फत ल्याएपछि सरकारमा जान जसपा तयार भएको हो। 

स्रोतका अनुसार ओलीले यसअघि नै जसपालाई सरकारमा ल्याउन ८ मन्त्रालय दिन तयार थिए। तर, अहिले सरकारमा जानेबारे छलफल भइरहेको भए पनि कति मन्त्रालय लिएर जाने? कसरी जाने? भन्नेबारे टुंगो नभएको सांसद् शरत‍्सिंह भण्डारी बताउँछन्। 

‘सरकारसँग हामीले जति पनि माग मुद्दा अगाडि सर्तका रुपमा सारेका थियौँ। त्यो पूरा गरेपछि सरकारमा जाने परिस्थिति बनेको छ’, उनले भने, ‘प्रधानमन्त्रीले पहिल्यैदेखि पटक पटक सरकारमा आएर सहयोग गर्न आग्रह गर्नुभएको थियो। सरकार अहिले बजेटमा लागेको छ। त्यसैले हामीले त्यसबारे औपचारिक निर्णय गरेको छैनौँ। सामान्य छलफल भइरहेको छ।’ 

‘ओलीले माग पूरा गरे’

प्रधानमन्त्री ओलीले आफ्नो पक्षका माग सम्बोधन गर्न थालेपछि आफूहरु सरकारमा जानेबारे छलफल चलाएको उनी बताउँछन्। 

‘हामीले पार्टी एकता हुनुभन्दा पहिल्यै हाम्रो माग सरकारसमक्ष राखेका थियौँ। समाजवादीमा हुँदा पनि ओली नेतृत्वको सरकार अध्यक्ष यादवजी जानुभएको थियो। उहाँले संविधान संशोधन कार्यदलसमेत बनाउन सक्नुभएन’, उनले भने, ‘तर, अहिले ओलीले एकपछि अर्का माग सम्बोधन गर्दै गएका छन्।’

सरकारले आफ्नो नेताहरुको मुद्दा फिर्ता, संविधान संशोधन कार्यदल, नागरिकता विधेयकलगायत आफ्नो माग सम्बोधन गदै आएका दाबी गरे।

‘अहिले सरकारमा जाने विषयले पार्टी विभाजनको अवस्थामा पुगेको छ। तर, हामीहरुले पार्टी एकतालाई जोगाएर लान पहल गरिरहेका छौँ’, उनले भने, ‘पार्टीमा दुई जना कार्यकारी अध्यक्ष भएर अहिलेको समस्या आएको छ।’

उनले पार्टीको पहिलो कार्यकारिणी समितीको बैठकले अध्यक्ष ठाकुरलाई प्रथम अध्यक्षको रुपमा चयन गरेको दाबी गरे। 

‘महन्थजी प्रथम अध्यक्ष हुनुहुन्छ। त्यसैले उहाँको हस्ताक्षर नै पार्टीको आधिकारिक हुन्छ’, उनले पार्टी एकताको सम्भावना सुनाउँदै भने, ‘अहिलेको परिस्थितिमा दुवै अध्यक्षको हस्ताक्षर नै आधिकारिक हुनुपर्ने हो। तर, सहमति नबने ठाकुरजी प्रथम अध्यक्ष हुनुहुन्छ।’ 

सत्तास्वार्थमा लागेको आरोप

ओलीले प्रतिगमन गर्दा समेत सरकारमा जाने स्वार्थका कारणले पार्टीभित्र समस्या भइरहेको उपेन्द्र–बाबुराम समूहको अर्का नेता रामबाबु यादव बताउँछन्। 

ओलीविरुद्ध जानको लागि उहाँहरुलाई पहिलादेखि नै मन थिएन। तर, हाम्रो दबाबले देखावटी रुपमा सडकमा निस्किनुभएको थियो’, यादवले भने, ‘अहिले उहाँहरू सरकारमा जाने स्वार्थका लागि भए पनि ओलीसँग नजिकिनुभएको हो। तर, पार्टीभित्र यस्तो चल्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.