|

काठमाडौं : केही समयअघि एक जना स्वास्थ्यकर्मीले भन्नुभएको थियो, 'यदि आफू बिरामी भएको कुरा आफन्तलाई सुनाउनु नपर्ने हो भने बिरामी अलिक चाँडै निको हुनसक्छ।'

रोग लागेर उपचाररत बिरामीलाई हालखबर सोध्ने नाममा हामी अनावश्यक मानसिक तनाव थप्दा रहेछौँ। दया देखाउँदा रहेछौँ। हामीले गर्ने मायाभित्र ऊर्जा, मनोबल बढ्ने तत्व होस्‌। तर, तनाव र दया नहोस्‌।

कोरोना लाग्छ भन्ने थियो। तर, कहिले?

भन्दाभन्दै लक्षणहरू देखापरे। १५ दिन कोठाभित्रै बसेँ, बन्दीजस्तै भएँ।

कोरोना लागेकोबारे सीमित व्यक्तिलाई थाहा दिएको थिएँ, जसकारण झमेला कम भयो। यद्यपि, निको भएपछि आएका फोन कलका सारांश यस्ता थिए:

-कोरोनाको लागेको रहेछ, बचेछौ। खुसी लाग्यो।

 -कोरोना लाग्दा पनि भनेनौ, तिम्रो आँटलाई मैले मानेँ।

-कोरोना निको भएपनि ख्याल गर्नु! कतिखेर बल्झिन्छ, थाहा नै हुने रहेनछ।

-१५ दिन कता हरायो भनेको कोरोनाले डल्लिएको पो हो!धन्न भगवानले कोरोनाबाट बचाए।

 -कोरोना लागेर निको भएका पनि मरेका छन्। आफ्नो ख्याल गर।

म कोरोना मुक्त भएर काममा फर्किसकेको छु। मेरो कामना छ-यहाँ कसैलाई कोरोनाको सिकार हुन नपरोस्। यो एक रोग त हो नै, त्यो भन्दा बढी मानसिक तनावको स्रोत पनि हो। आफैँलाई सामान्य लागेपनि समाजमा कोरोनाको डरको ग्राफ चुलिँदो छ। कोरोना लागेको कुरा थाहा नदिनु आँटिलो हुनु हो भन्ने कुराले कोरोनाको आतंक व्यापक रै'छ भन्ने पनि लागेको छ।

अधिकांशले फोनमा कोरोना आतंकबारे सुनाउथे। कोरोनामा आफ्नो ख्याल गरौं। तर, यसलाई ख्यालख्याल गर्दा मूल्य चुकाउनुपर्छ।

कोरोना के हो वा के होइन? कोरोना लागेर आफन्त गुमाउने, भेन्टिलेटरमा पुगेर फर्किने र होम आइसोलेसनमा बस्नेका फरक-फरक अनुभव छन्।

ज्यान गुमाएकाहरूप्रति श्रद्धासुमन! अस्पतालमा जीवन-मरणबीच सास फेरिरहेका व्यक्तिलाई स्वास्थ्यलाभको कामना र होम आइसोलेसनमा रहेकाहरूलाई नआत्तिन अनुरोध गर्छु।

गएको २५ गते रुघा लागेको थियो। सन्चो ब्राण्डको सुँघ्ने झोलले ज्यान सन्चो होला सोचेको थिएँ।

तर, भोलिपल्ट टाउको,ज्वरो र जिउ एकैपटक दुख्यो।

कोरोनाको लक्षणबारे म निश्चिन्त थिएँ। कोरोना लागेपनि जित्छु भन्ने थियो। तर, कोठामा बस्ने वातावरण थिएन। मेरो घरमा नाबालकसहित परिवार बस्ने हुनाले उनीहरूलाई कोरोनाबाट बचाउनु थियो।

अस्पताल जानुपर्ने हो कि भन्ने कुराले भने कहीँकतै तनाव भएको थियो। अस्पताल जीवन दिने अखडा हो। अचेल अखडामा मान्छेको भीड छ। बेड पाउनसक्ने अवस्था थिएन। सकेसम्म अस्पताल नजाने मानसिकता बनाइसकेको थिएँ।

अफ्ट्यारोमा विकल्प भनेको साथी हो। सन्दीप गौतमलाई फोन गरेर लक्षणबारे सुनाएँ। उसले निडर भएर आफ्नो कोठा बोलायो। लक्षणसहित उसको कोठा पुगेँ। स्वाब टेस्ट गरेँ। नतिजा - कोरोना पोजेटिभ!

आफू संक्रमित रहेको थाहा पाएको दिन सिटामोल खाएपछि टाउको दुख्न र ज्वरो आउन छोड्यो। जिउ दुख्ने समस्या पनि हरायो। त्यसपछि गन्ध हरायो।

कोरोना पोजेटिभ आएपछि सँगै बस्ने तीनजना साथीलाई पनि लाग्ला भन्ने डर थियो। स्वास्थ्य मापदण्ड अपनाइँदा पनि यस्तो कुरा खेल्थ्यो। सन्दीप भन्थ्यो, 'सकेसम्म सुरक्षित हुने हो। लाग्यो भने चारै जना कोरोनासँग लडौँला।'

कोरोना लाग्दा खाने औषधिको एक झोला सुमन लम्साल दाइले कोठामा ल्याइदिएको थियो। भिटामिन देखि अक्सोमिटरसम्म….

ओहो! अर्को साथी योगराज शर्माले भन्थ्यो, 'गन्ध मात्र हराएको हो। यी औषधिभन्दा तातोपानी बल गरौँ। दबाएर गेडागुडी र तरल खान्की खाने हो। शरीरलाई गाह्रो भए औषधि जिन्दावाद!'

कोरोना लागेको ७ देखि १० दिनसम्म अलि अफ्ठ्यारो हुन्छ भनेर कतै पढेको थिएँ। यहि अवधिमा गाउँमा सँगै मेलापात गरेका काका र साथी बितेछन्। मृत्यु नजिक आउँदैछ। आत्मीय मान्छे गुमेपछि मान्छेले यस्तै सोच्छ। मैले पनि सोचेँ। अलिअलि डर अनुहारमा देखिन थालेछ।

'अनुहार मलिन छ त! डराउन थाल्नुभयो कि के हो?' अर्को साथी प्रदीपले सोध्थ्यो। अनुहारबाट डर लुकाउन खोज्दाखोज्दै कतै देखिएछ। म खिस्स हाँस्थेँ। 'केही हुन्न, भएछ केही भने हामी बचाउँछौँ', उ भन्थ्यो। मन यस्सै हुरुक्क हुन्थ्यो।

आइसोलेसनको समय कतिपय साथीले सञ्‍चारमाध्यम र सामाजिक सञ्‍जाल नहेर्न सुझाव दिइरहनुभएको छ। त्यहाँ शोकका मात्र समाचार र सूचना हुँदैनन्। मनोबल बढ्ने सूचना पनि हुन्छन। मान्छे मरेका खबरले जति मनोबल गिराउँछ-९३ वर्षको वृद्ध र ५ महिनाको बच्चाले कोरोना जितेको खबरले रोगसँग लड्न त्यति नै मनोबल दिन्छ।

सामाजिक सञ्‍जाल हामीले नै बनाएका हौँ, सञ्‍जालले हामीलाई बनाएको होइन। सामाजिक सञ्‍जाल आफ्नो अनुकुलतामा हेर्ने हो।

साथीहरूले श्रद्धाञ्‍जलिका तस्वीर नहालेपनि हुन्थ्यो। तर, मर्नु भनेको सकिनु हो। फेरि फर्केर नआउनु हो। अझ कोरोना लागेर मर्नु भनेको आफ्नै परिवारले समेत छुन र देख्न नपाउनु हो। तस्वीर नै सही-उहाँहरूले आफ्नो भावुकता रोक्न सक्नुभएन। कि आफूले चलाउन छोड्नुपर्‍यो। कि यसैगरी चित्त बुझाउनुपर्छ।

मेरो अनुभवले भन्छ - कोरोना लागेपछि तातोपानी पिउने र दिनमा दुईपटक ३० मिनेट बाफ लिनु शरीरका लागि भने फाइदा रै'छ। पौष्टिक आहार प्राथमिकता परिहाल्यो। नुनपानी पिउँदा र कुल्ला गर्दा घाँटीमा समस्या पक्कै कम भएको हो। (उपचार पद्धतिमा यो मापदण्ड नपर्न पनि सक्छ।)

शारीरिक व्यायाम गर्दा शरीरमा स्फूर्ति बढ्छ। सुनेको हो, पढेको हो र अनुभव पनि छ। तर, कोरोना भगाउनलाई मात्र व्यायाम गर्नुपर्छ भन्ने मानसिकता हटाउँदा नै उत्तम हुन्छ।

कोरोना लागेको चौथो दिन बिहान सन्दीपलाई भनेँ, 'दौडिन पर्छ कि के हो? कोरोनाको बेला शारीरिक व्यायाम आवश्यक छ रे त!'

'दिमागमा कोरोना बोकेर हिँडेसी जतिसुकै पौष्टिक तत्व खानुस्, तातोपानी खानुस्, व्यायाम गर्नुस् : प्रगति हुँदैन। पहिले कोरोनाको भूत दिमागबाट हटाउनुस्। सामान्य बन्नुस्। कोरोना भनेको रुघाको ठूल्दाई हो। यो रुघा हो भन्ने सोचौँ। खेल खत्तम!'

सामान्य सुझाव थियो यो। उसले परिस्थितिलाई सामान्यीकरण गर्ने कोसिस गर्‍यो।

परिस्थितिलाई जति जटिल बनायो-उति जटिल बन्दै जाने हो। कहीँकतै सिद्धान्तले पनि यसै भन्दो हो सायद!

कोरोना लागेको कुरा सीमित मान्छेलाई मात्र भनियो भने सहज हुन्छ। सामाजिक सञ्‍जालमा सुनाउँदा सबैले गरेको स्वास्थ्यलाभको कामनाले एकछिन भावनात्मक तवरले मनोबल त बढ्ला, तर त्यसपछि आउने फोनले तनाव थप्छ नै!

मैले लम्बेतान साथीहरूको किस्सा जोड्नु आवश्यक थिएन। यसकारण मात्र जोडेको हुँ की, यदि तपाई घरबाट टाढा हुनुहुन्छ भने साथीहरूसँग समन्वय गर्नुस्।

​सामान्य लक्षण छ भने परिवारलाई खबर नगर्नुस्। रोगसँग लड्ने तपाईंले हो-सिंगो परिवारले होइन। परिवारलाई सुनाएर पारिवारिक तनाव बढ्ने मात्र हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.