|

ऊ योद्धा हो
मानव सभ्यता जोगाउन हिँडेको छ

दिनदिनै हिँडेको छ
रातरातै हिँडेको छ

ऊसँग कुनै धारिलो हतियार छैन
तर आत्मविश्वास छ

उसलाई कहिल्यै अँध्यारो हुँदैन

ऊ तपाईंको दुखाइमा दु:खी छ
ऊ तपाईंको रुवाइमा रोएको छ
ऊ तपाईंमा खुसी फर्काउन चाहन्छ

जन्म र मृत्यु अकाट्य छ
ऊ मृत्युको कल्पना गर्दैन
ऊ निराशावादी हैन
आशा जगाउँछ

ऊ सम्मान कुरेर बस्दैन
ऊ आत्मप्रशंसा गर्दैन
ऊ खुरुखुरु काम गर्छ
उसले जात हेर्दैन
थर हेर्दैन
लिङ्ग हेर्दैन
देश हेर्दैन
ऊसँग उच्च समवेदना छ

चाप्लुसशास्त्र उसको विषय हैन
नमस्कार उसको अनिवार्य भोक हैन
शुद्ध गाईको घिउको अपेक्षा राख्दैन
तर, अपमानले उसलाई पनि दुख्छ

ऊ हाम्रो जीवनको सुरक्षाकवज हो
ऊ योद्धा हो
ऊ सैनिक हो
अर्थात; ऊ चिकित्सक हो

प्रियजन !
हाम्रो जीवनको अपरिहार्य उसलाई
माया चाहिएको छ
प्रेरणा चाहिएको छ
हौसला चाहिएको छ 

ऊ कुनै हली हैन
 
प्रियजन !
एकपटक उसको 
अभाव महसुस गर्नोस् त !
 
ऊ योद्धा हो
ऊ स्वास्थ्यकर्मी हो 
तर, कुनै अपराधी हैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.