|
कोरोना संक्रमणपश्चात्‌ ज्यान गुमाएका जनमको तस्वीर ।

काठमाडौं : शुक्रबार सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलि वर्षा भयो।

कसैले उनको फोटो राखेर लेखे, ‘मरिलानु के छ र हो बुढा पाका भन्थे, बाँचे फेरि भेटौँला है मरे कटुञ्जे, भावपूर्ण श्रद्धाञ्जलि।’ 

कोहीले लखे, ‘प्रिय जनम! तिम्रो आवाज र संगीतमा खुलेको खुवालुङले हाम्रो समुदायलाई एक हैन, दशक हैन, हजार हैन, लाख हैन, करोडौं वर्षको यात्रामा निस्कन प्रेरित गरेको थियो, दिशानिर्देश गरेको थियो, अफसोस्‌! आज तिम्रै जीवन यात्राको खुवालुङ कसरी बन्द भयो प्रिय गायक! मलाई लागिरहेछ-यसैबेला तिमी जुरुक्क उठ र मलाई प्रश्न गर– म बारे यस्तो भ्रम साँध्ने अधिकार तिमीलाई कसले दियो?’

उनी थिए गायक एवं संगीतकार जनम थुलुङ राई। कोरोना संक्रमणका कारण उनको बिहीबार राति ललितपुरको सर्वाङ्‌ग स्वास्थ्य सदन अस्पतालमा उपचार क्रममा निधन भयो।

कोरोना जितेर बधाई पाउनुको साटो सबैको श्रद्धाञ्जलि पाए उनले। पारिवारिक स्रोतका अनुसार उनको दुई हप्ता अघिमात्र कोरोना पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या हुँदै गएपछि केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए। 

पहिलेदेखि नै सांगीतिक क्षेत्रमा लागेपनि पछिल्लो समय विवादित धनकुटा, भोजपुर र उदयपुरका संगमस्थल सप्तकोशीमा तमोर, अरूण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा रहेको खुवालुङको गीत गाएपछि धेरैले जनमलाई चिनेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा सहज रूपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुङ्गा) क्रेन लगाएर फुटाउने घोषणा गरेपछि किराती समुदायले यसको प्रतिकार गर्दै आएका छन्।

इतिहास बोकेको खुवालुङ संरक्षण गर्नुपर्छ भनी लाग्नेमा खोटाङ ऐँसेलुखर्क गाउँपालिका-५ रिब्जुङका जनम पनि एक थिए। उनी खोटाङमा २०४५ साल चैत्र २२ गते बुबा राजमान राई तथा आमा माङसिमाया राईको कोखबाट जन्मेका थिए।

उनले 'मरे कटुञ्जे सञ्जोगले भेट हुँदा आँशु खस्यो हर्षले,' 'तिमीलाई हेरी हेरी दिन बितोस्, रात बितोस,' सिरिरी हावा चल्यो जुले डाँडामा' लगायत दर्जनौं गीत गाएका छन्। 'रोक्नी वो च्योमिम,' 'झापा कोङ्ङा डुमु बासी' लगायत किरात थुलुङ राई भाषाको गीतमा संगीत र स्वर दिएका थिए।

उनले गाएका खुवालुङ गीत यस्तो थियो

खुवालुङ ! खुल, खुल, खुल ! 
नछेकिदेऊ मेरो बाटो, नरोकिदेऊ मेरो पाइला
नलागोस् है मलाई ठेस, चाँडै पुगी हेर्नुछ किरातीको देश !

सुनकोशी पछ्याइजाने तिलुङ वाम्बुले
सही बाटो हिँड्दै छन्‌ कि कतै अल्मलिए?
लिखु खोलै–खोला जाने जिरेल, सुनुवार
लोहरूङ, याम्फु आठपहरे सबै बराबर
अरूण खोला तरी जाने बान्तावा र मेवाहाङ
कैले भेट्ने होला कठै ! माया लाग्छ झन...

किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष दिवस राईले जनमप्रति दुःख व्यक्त गर्दै समग्र किरातहरूको एक होनहार कलाकर्मी र संरक्षणकर्मी गुमाएको बताएका छन्‌।खुवालुङ गीत सुनेपछि जनमलाई चिन्ने मौका पाएको उनी बताउँछन्। ‘पहिला विभिन्न कार्यक्रमहरूमा अनौपचारिक रूपमा भेट भएको थियो होला, तर चिनजान हुन सकेन, पछि गीतबाट चिने, उहाँ एकदमै धर्म-संस्कृतिप्रति चासो राख्नुहुँदो रहेछ, खुवालुङ बचाउनुपर्छ भनेर आवाज उठाउनुभएको थियो, तर हामीले ३३ वर्षका एक जवान युवा सदाको लागि उहाँलाई गुमायौँ, भन्ने कुनै शब्द नै छैन,’राइले भने।​

जनमको निधनपछि अधिकांशले उनलाई फेसबुकमा ट्याग गर्दै श्रद्धाञ्जलि दिएका छन्। तर, उनले ती कहिलै देख्न पाउँने छैनन्। खुवालुङको गीत कहिलै गाउन पाउने छैनन्। उनको आवाज सदाको लागि बन्द भएको छ। उनको परिवार शोकमा डुबेको छ।

हार्दिक श्रदासुमन जनम!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.