|

म्याग्दी : विगतका वर्षहरुमा यतिबेला खेतवारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष अस्पतालका बेड र घरका ओछ्यानमा छट्पटाउँदै कोरोनासँग लडिरहेका छन्।​ मध्यजेठमा हिमाली जिल्ला म्याग्दीमा खेतीपातीको कामले भ्याइ नभ्याइ हुन्छ।

बेसीका खेतबारीमा मकै गोड्ने, बाँझो जमिन जोत्ने, मल हाल्ने, धान,कोदाको विऊ राख्ने र उच्च लेकाली क्षेत्रहरुमा रोपाइँ गर्नका लागि किसानहरु विहान उज्यालो नहुँदै उठेर राती अबेरसम्म व्यस्त हुने समय हो यो। तर, यो वर्ष ग्रामीण क्षेत्रका बस्तीबस्ती प्रभावित भएका छन्।

खेतवारीमा पुगेर धानको बिऊ राख्ने,मकै गोड्ने,कुलो र पानीको व्यवस्था मिलाउने र अझ उच्च लेकाली क्षेत्रमा त हलो र कोदालो बोकेर रोपाइँ गर्न जाने समयमा अस्पतालका वेड र घरको ओछ्यानमा सुतेर दिन रात कटाउनुपर्दा यहाँका किसानको मन पिरोलिएको छ।

किसान नै बिरामी भएपछि ग्रामीण भेगको कृषि कर्म प्रभावित बनेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

‘गाउँमा अब धान रोपाइँको काम शुरु हुँदै छ,किसानहरु विरामी भएर ओछ्यान परेका छन्’ मालिका गाउँपालिका ५ देविस्थानका वडाअध्यक्ष पिपला बूढाले भनिन् ‘घरघरमा सङ्क्रमित देखिन थालेपछि खेतीपातीको काम प्रभावित हुनेभएको छ।’

‘गाउँमा खेतीपातको काम शुरु भएको छ,घरको मुली कोरोनाका कारण अस्पतालको बेडमा वसेको ४ दिन भयो’ बेनी अस्पतालमा उपचाररत मंगला गाउँपालिका ३ बरंजाका एक सङ्क्रमितले भने ‘एकातिर मरिन्छ कि भन्ने डर,अर्कोतिर खेती किसानीको खसखस, दोहोरो चिन्तामा पिरलिएको छु।’

गाउँमा संक्रमित बढ्दै

ग्रामीण क्षेत्रमा परीक्षणको काम तीब्र पारिएको छ। परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

‘बजार क्षेत्रमा नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ, ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन्।’ प्रमुख लम्सालले भने।

निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवँरले बताए।

बुधबार म्याग्दीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शुक्रबार ११ जना मात्र नयाँ संक्रमित थपिएका  छन्। योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८३४जना पुगेको छ। जिल्लामा ५५० जना सक्रिय संक्रमित पुगेका छन्। १६४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालले जनाएको छ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा ४ जना, मंगला गाँउपालिकामा ४, धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना एन्टिजेन प्रविधिबाट बेनी नगरपालिकाका ५जना,रघुगंगा गाउँपालिकाका २७ जना , मालिका गाँउपालिकामा १ जना , अन्नपुर्ण गाउँपालिकाका ३ जना गरी ३६ जना गरी जम्मा १५७ जनामा संक्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये  अधिकांश ग्रामीण क्षेत्रका छन्। रिपोर्ट आउन बाँकी रहेकामध्ये ९८ प्रतिशत व्यक्तिहरु ग्रामीण क्षेत्रका रहेका छन्।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा सङ्क्रमण फैलिएको छ। भकिम्लीमा ३२ जना लक्षण देखिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।

यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा सङ्क्रमण फैलिएको छ। केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ।

एक हप्ताअघिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ। मालिकामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्रमित छन्।

जिल्लाका मालिका,मंगला,रघुगंगा,धौलागिरि र अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुमा पनि कोरोनाका संक्रमण बढ्दो मात्रामा रहेका स्थानीय तहका प्रमुखहरुले बताएका छन्। पछिल्लो एक महिनाको अवधीमा गाउँघरमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। उनले गाउँमा बिरामीहरु बढि राखेको रसमयमा परीक्षण नहुँदा,परीक्षण भएकाहरुको पनि रिपोर्ट समयमा नै नआउँदा धेरै सङ्क्रमणको जोखिम बढेको बताए।

त्यस्तै रघुगंगा र धौलागिरि गाउँपालिकामा  पनि कोरोना तीव्र रुपमा फैलिएको स्थानीयहरुले बताएका छन्। गाउँपालिकाका विभिन्न गाउँहरुमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरै जसोमा सङक्रमण पुष्टि भएको स्थानीयको भनाई छ।

पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना सङ्क्रमण  डरलाग्दो हिसाबले फैलिएको पाइएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवरले बताए।

चिकित्सकसहित जनप्रतिनिधि गाउँ-गाउँमा

गाउँगाउँमा सङ्क्रमितहरु बढ्न थालेपछि स्थानीय जनप्रतिनिधिहरु चिकित्सकसहित गाउँगाउँमा पुग्न थालेका छन्। उनीहरुले स्वास्थ्य सामग्री, औषधी र संङ्क्रमितहरुका लागि पोषिलो खानेकुरा समेत लिएर विरामीहरुको घरदैलोमा पुगेपछि सङ्क्रमितहरुमा आत्मबल बढेको पाइएको छ।

‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरुलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर सङ्क्रमितको घरदैलोमा नै पुगेका छैं’ बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले भने।

कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ।

कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्। म्यागदीमा जेठ १७ सम्म निषेधाज्ञा जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.