|

काठमाडौं : काठमाडौं उपत्यका जात्रा र पर्वले धनी छ। उहाँका नेवार समुदायले हरेक महिनाजसो कुनै न कुनै जात्रा र पर्व मनाउँछ। काठमाडौं उपत्यकामा हालै मनाइएको एउटा पर्व हो 'पाहाँचह्रे'। हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँचह्रे मनाउने गर्छन्।

स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। पासा चह्रे समेत भनेर मनाइने यो पर्व यस वर्ष पनि काठमाडौंका नेवार समुदायले तीन दिनसम्म धुमधामका साथ मनाएका छन्।

'पाहाँचह्रे' को पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ। यस्तै कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।

पाहाँचह्रे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ। ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ। 

जात्राको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा हुन्छ। रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला हुन्छन्। भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा/ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन् जसलाई स्थानीय भाषामा 'द्य ल्वाकेगु' भनिन्छ।

पहिले पहिले असनमा ७ खट जात्रा गरि “द्य ल्वाकेगु“ जात्रा हुने गर्दथ्यो तर पछिल्लो समय २ देवीको मात्र जात्रा हुने गरेको छ। खट ३ ओटा भएता पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डार कंग अजिमा) को हुन्छ। असनमा खट जुधाउने भनेर भनिएपनि खट नै जुधाइँदैन। तर देव खलकले बोकेर आएको तीस्प्वा मत (चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ। यसलाई अजिमाहरु भेटघाट गरेको भन्ने गरिन्छ।

तस्विरहरु : अनुज बज्राचार्य

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.