|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–६ का गर्भवती महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ।

शनिबार सिस्ने–६ को वडा कार्यालय छिप्रिदहमा वडाभित्र बसोबास गरिराखेका १५ जना गर्भवती महिलालाई १५ वटाका दरले निःशुल्क कुखुरा वितरण गरिएको हो।

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १५ जना गर्भवती महिलालाई गाउँपालिकाका अध्यक्ष कुमारी बरालले कुखुरा वितरण गरेकी हुन्‌। वडाका बासिन्दासहित वडाभित्र बसोबास गर्दै आएका र गर्भ नियमित चेकजाँच गरिराखेका गर्भवती महिलालाई कुखुरा वितरण गरिएको वडाध्यक्ष सुधन रेग्मीले जानकारी दिए। 

वडाभित्र हाल ५२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरिरहेका छन्। गर्भ नियमित चेक गरिराखेका गर्भवती महिलालाई मात्र कुखुरा दिइने र यसो गर्दा गर्भ नियमित चेकजाँच गर्ने बानीको विकास हुने वडाध्यक्ष रेग्मीले बताए।

५२ मध्ये ३७ जना गर्भवती महिलालाई १५ वटाका दरले कुखुरा वितरण हुन बाँकी नै रहेको वडाले जनाएको छ। शनिबार छिप्रिदह आसपासका गर्भवतीलाई कुखुरा वितरण गरिएकोमा अब वडाको खोपीचार, पाखागाउँ, दकलबारा र आला टोलमा वितरण गर्ने बाँकी छ।

महिलाहरू सुत्केरी हुँदा अन्डा र मासु आपूर्ति गर्न कुखुरा वितरण गरिएको हो। गर्भवती एक महिलालाई १५ वटाका दरले कुखुरा दिँदा सुत्केरी अवस्थामा अन्डा र मासु अभाव नहुने र पोषण परिपूर्ति हुने वडाका जनप्रतिनिधि र कर्मचारीहरूले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.