स्थानीय प्रशासनको मिलेमतो आशंका, अनुगमन शून्य

|

बारा : राजस्व संकलनका नाममा जितपुरसिमरा उपमहानगरपालिकाले लगाएको खोलाको ठेक्कामा तोकिएको मापदण्डभन्दा ५ गुणा बढी नदीजन्य पदार्थ उत्खनन भएको पाइएको छ। 

उपमहानगरपालिका अन्तर्गत बाराको दुधौरा, बालगंगा र पसाहा खोलामा ठेक्का कम्पनीले जथाभावी खोलामा ठूला ठूला खाडल बनाएर उत्खनन गरेको अनुगमनका क्रममा भेटिएको हो।

डिभिजन वन कार्यालय बाराले गरेको अनुगमनमा दुधौरा र पसाहाको तुलनामा बालगंगा खोलामा ५ गुणा बढी उत्खनन भएको भेटिएको वन कार्यालयले जनाएको छ। 'खोलाको स्थिति हेर्दा क्षतविक्षत् ढंगले चारैतिरबाट नियमविपरीत राज्यको स्रोत दोहन भएको देखिन्छ, यस्ता ठूला खाडलमा वन्यजन्तु परे बचाउन मुस्किल हुन्छ' डिभिजन वन अधिकृत मञ्जुर अहमदले भने, 'अनुगमनका क्रममा ५ देखि ६ मिटर (करिब २० फिट) गहिराइमा ठूलो ठूला खाडल खनेको देखिन्छ।' 

वन क्षेत्रभित्र रहेका खोलाको दुवै भूभागमा जथाभावी रुपमा एक्जाभेटर प्रयागे गरेर खाडल बनाउँदा बर्सेनि वनको भूभाग पनि मासिँदै गएको छ। जेठ मसान्तसम्म तीन वटा खोलाबाट ९४ लाख घनफिट गिटी,ढुंगा, बालुवा उत्खनन गर्नेगरी चालु आवमा जितपुरसिमराले विनोद निमार्ण सेवासँग ठेक्का सम्झौता गरेको थियो।

जसमध्ये दुधौरा खोलाबाट २७ घनफिट,बालगंगा २१ लाख १० हजार  र पसाहा खोलाबाट ४५ लाख ४६ हजार ६ सय ४ घनफिट उत्खनन अनुमति पाएको तोकिएको मापदण्डभन्दा धेरै उत्खनन गरिसकेको वन कार्यालयले जनाएको छ। 'तीनवटा खोलामध्ये बालगंगा खोलामा असाध्यै लापरबाही देखिन्छ, आजका दिनमा ठेकदारको माल चेकजाँच गर्ने हो भने ५ गुण बढी भेटिन्छ', उनले भने।

स्थानीय प्रशासनको मिलेमतोको आशंका, अनुगमन शून्य 

विगतका वर्षमा छिटफुट रुपमा हुँदै आएको खोलाको अनुगमन चालु आवमा भने ठप्पै छ। उत्खनन बन्द हुन २ साता मात्रै बाँकी रहँदा उपमहानगर, जिल्ला समन्वय समिति, स्थानीय प्रशासनले खोलामा ठेकदारलाई खोलामा छाडा छोडेको भान हुन्छ। बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफू आएलगत्तै कोभिड-१९ को दोस्रो लहर सुरु भएकाले खोलामा ध्यान दिन नसकिएको बताए।

मापदण्डविपरीत उत्खनन भएको विषयमा भने जानकारी पाउनासाथ उत्खनन रोक्न नगरपालिका र स्थानीय प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए। यता प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने खोला अनियमित रुपमा उत्खनन भएको भेटिए तत्काल रोक्न प्रहरी र वन कार्यालयलाई पत्र पठाएको बताएका छन्।

जितपुरसिमराले यस वर्ष  कलैया उपमहानगर वडा नं १६ का बहालवाला वडाध्यक्ष शेषनाथ प्रसाद साहको ठेक्का कम्पनी विनोद साह निर्माण सेवालाई भ्याटबाहेक १३ करोड ७६ लाखमा  दुधाैरा, बालगंगा र पसाहा खोला उत्खनन ठेक्का दिएको छ।

डिभिजन वन अधिकृत मञ्जुर अहमदले स्थानीय तहले खोलाको ठेक्का लगाउँदा गिटी, ढुंगा, बालुवा उत्खननसम्बन्धी कार्यविधि २०७७ लागु गर्न नसकेको बताए। 'यो कार्यविधि लागु गर्ने/गराउने मुख्य निकाय स्थानीय तह नै हो, यसको व्यवस्थाअनुसार काम भएको भए खोलाको अवस्था आज यस्तो हुँदैन थियो', उनले भने। 

लाखौै राजस्व हिनामिना

तोकिएको मापदण्ड भन्दा ५ गुणा बढी उत्खनन हुँदा लाखौं रुपैयाँ राजस्व हिनामिना भएको जिल्ला समन्वय समिति सदस्य तथा वन अधिकृत अहमदले जनाएका छन्।

'बालगंगा खोलामा ५९ हजार ८ सय घनमिटर व्यवस्थित तरवले निकाल्ने दायित्व नगरपालिकाको हो भने त्योभन्दा बढी उत्खनन हुँदा लाखौै राजस्व हिनामिना भएको जवाफ पनि नगरपालिकाले दिनुपर्छ', अहमदले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.